वित्तीय विवरण सार्वजनिक गर्नेमा पहिलो बन्याे आरएसडिसी लघुवित्त, कति कमायाे नाफा ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

वित्तीय विवरण सार्वजनिक गर्नेमा पहिलो बन्याे आरएसडिसी लघुवित्त, कति कमायाे नाफा ?



काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेड अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्नेमा पहिलो भएको छ। लघुवित्तले आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको हो ।

तेस्रो त्रैमासमा कम्पनीको खुद नाफा ३०.३४ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनीको खुद नाफा आठ करोड ६० लाख रहेकोमा चालु आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको खुद नाफा बढेर ११ करोड २१ लाख पुगेको छ ।

कम्पनीको खुद ब्याज आम्दानी भने १३.४८ प्रतिशतले घटेर १८ करोड ५१ लाख कायम भएको छ। खुद ब्याज आम्दानी घटेपनि इम्पेरमेन्ट चार्ज वापतको रकम फिर्ता हुँदा कम्पनीको खुद नाफा बढेको हो।

कम्पनीको संचालन मुनाफा ३०.३० प्रतिशतले बढेर १६ करोड एक लाख पुगेको छ। कम्पनीको वितरणयोग्य मुनाफा आठ करोड ६१ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी १२ रुपैयाँ १७ पैसा रहेको छ।

९४ करोड ४३ लाख चुक्ता पुंजी रहेको कम्पनीको जगेडाकोषमा २३ करोड ३१ लाख रहेको छ। कम्पनीको निक्षेप तथा सापटी पाँच अर्ब ६५ करोड रहेको छ भने कर्जा प्रवाह छ अर्ब ५९ करोड रुपैयाँ रहेको छ। बैंकको खराब कर्जा २.९९ प्रतिशत रहेको छ ।

यस अवधिमा कम्पनीको प्रति सेयर आम्दानी १५ रुपैयाँ ८३ पैसा, प्रति सेयर नेटवर्थ १२४ रुपैयाँ ६९ पैसा, र पीई रेसियो ३८.१० गुणा रहेको छ ।

प्रकाशित : ३ बैशाख २०८१, सोमबार ११:१२