‘बीमा कम्पनीहरू कानूनको पालना गर्दै अघि बढ्नुपर्छ, कमी कमजोरी दोहोर्याउनु हुन्न’ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

‘बीमा कम्पनीहरू कानूनको पालना गर्दै अघि बढ्नुपर्छ, कमी कमजोरी दोहोर्याउनु हुन्न’



काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीहरू कानूनको परिपालना गर्दै विश्वसनीय, जवाफदेही र पारदर्शी किसिमले अगाडि बढ्नुपर्ने बताएका छन । नेपाल बीमा प्राधिकरणद्वारा नववर्ष २०८१ सालको पूर्वसन्ध्यामा प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा आयोजित ‘नववर्ष २०८१ सालको शुभकामना आदान–प्रदान कार्यक्रम’ लाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले प्रत्येक बीमा कम्पनीले गन्तव्य तय गरी सोही अनुसार नीति, रणनीति र कार्यक्रम बनाई गन्तव्यमा पुग्नेगरी कार्य गर्नुपर्ने आवश्यकता औंल्याए ।

अध्यक्ष सिलवालले भने, “समग्र बीमा उद्योगलाई अघि बढाउन विश्वसनीयता कायम हुनुपर्छ, विगतका उपलब्धीको दिगोपनामा जोड दिनुपर्छ, सहकार्यलाई बढी प्रभावकारी बनाउनुपर्छ, सेवाको लागत घटाउन र दक्षता अवभिवृद्धि गर्न व्यापकरूपमा नविनतम् प्रविधि अवलम्बन गर्नुपर्छ, कमी कमजोरीलाई दोहोरिन दिनु हुँदैन ।”

अध्यक्ष सिलवालले बीमकहरूबाट प्राप्त सुझावहरू समेतका आधारमा प्राधिकरणले नीति निर्देशनहरू तयार गर्ने गरेको उल्लेख गर्दै बीमित, बीमक लगायतको हितमा के गर्नुपर्छ भन्ने सम्बन्धमा सुझाव लिने तयारी भइरहेको बताए ।

नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले स्वागत मन्तव्य व्यक्त गर्दै छिटोछरितो रूपमा बीमा दाबी भुक्तानी र गुणस्तरीय सेवा प्रवाहबाट नागरिकको विश्वास जित्न सकिने र बीमाको दायरा पनि फराकिलो हुँदै जाने बताए ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक सुशील देव सुवेदी तथा निर्देशक पूजन ढुङ्गेल अधिकारी, नेपाल बीमक सङ्घ र नेपाल जीवन बीमक सङ्घका अध्यक्ष, विभिन्न बीमा कम्पनी तथा पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

नेपाल बीमा प्राधिकरणका निर्देशक दिनेश कुमार लालले संचालन गर्नुभएको कार्यक्रममा बीमा कम्पनी, लघुबीमा कम्पनी र पुनर्बीमा क्रम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूको सहभागिता रहेको थियो ।

प्रकाशित : २ बैशाख २०८१, आईतवार १३:२३