पाँच तारा साकोसको आयोजनमा खुल्ला रक्तदान, रक्तदान बारे समुदायमा सचेतना फैलाउन सफल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

पाँच तारा साकोसको आयोजनमा खुल्ला रक्तदान, रक्तदान बारे समुदायमा सचेतना फैलाउन सफल



काठमाडौं । पाँच तारा बचत तथा ऋण सहकारी संस्थाले खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको छ । संस्थाले ६७औं राष्ट्रिय सहकारी दिवस तथा संस्थाको १६औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको हो ।

भक्तपुर रेडक्रस सोसाइटीको प्रावधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा १२१ जनाले रक्तदान गरेका छन् । रक्तदाताहरुलाई प्रोत्साहनस्वरुप संस्थाले टिसर्ट र प्रमाणपत्र प्रदान गरेको छ ।

संस्थाले हरेक बर्ष सहकारी दिवसको अवसर पारेर रक्तदान गर्दै आएको अध्यक्ष भोला नाथ पाठकले जानकारी दिए । संस्थाले २०६७ सालदेखि निरन्तर सहकारी दिवसको अवसरमा रक्तदान गर्ने गरेको र सयौं सदस्यहरुले रक्तदानमा सहभागि हुने गरेको उनले बताए । संस्थाले र्याली समेत आयोजना गरेर समुदायलाई रक्तदानको महत्व र आवश्यकताको बारेमा जानकारी गराएको उनले बताए । ‘लाखौं पूजा करोडौ दान, त्यो भन्दा पुण्य रक्तदान’ भन्ने नाराका साथ पाँच ताराले रक्तदान गर्दै आएको अध्यक्ष पाठकको भनाई छ ।

कसैको घरमा विरामी नपर्दा र दुर्घटना नहुँदासम्म रक्तदानको मर्म थाहा नहुने उनले जनाए । सदस्यहरुमा रक्तदान गर्नुपर्छ भन्ने सचेतना संस्थाले दिन सकेको उनको भनाई छ । संस्थाले ५ पटकसम्म रक्तदान गर्ने रक्तदातालाई चाँदीको सिक्का प्रदान गर्दै आएको छ । कतिपय रक्तदाताले स्वयसेवी रुपमा नियमित रक्तदान गर्दै आएका छन् । १० पटकसम्म रक्तदान गर्ने सदस्यहरुलाई संस्थाले विशेष सम्मान गर्ने गरेको छ ।

संस्थाले आयोजना गरेको रक्तदान कार्यक्रममा सहभागि भइ रक्तदान गर्ने सदस्यहरुलाई रेडक्रससँग समन्वय गरेर रगत आवश्यक परेको बेलामा सहजिकरण गर्दै आएको छ । आफुहरुलाई आवश्यक पर्दा संस्थाले सहजिकरण गरिदिन्छ भन्ने भावना विकास गर्न सकेकाले पनि धेरै सदस्य कार्यक्रममा सहभागि हुने गरेका छन् ।

जतिखेर रगत चाहियो, त्यतिखेर मात्र रगत खोज्ने परम्परा विद्यमान रहेको र त्यो परम्परालाई चिर्नुपर्छ भन्ने मान्यताले रक्तदान कार्यक्रम सुरु गरिएको उनले बताए । २०४५ सालदेखि नियमित रुपमा आफुले रक्तदान गर्दै आएको र एउटा बच्चाले रगत नपाएर मृत्युवरण गर्नु परेको कुराबाट अभिप्रेरित भएर यस अभियानमा लागेको अध्यक्ष पाठकले सुनाए । संस्थाले मानवीय र सामाजिक कार्यको रुपमा लिएर लामोसमय देखि रक्तदान गर्दै आएको छ ।

अहिले पनि विरामीले सजिलै रगत पाउन सकिराखेका छैनन । रक्तदान गर्ने गराउने संघ संस्थालाई राज्यले पहिचान गर्न नसकेको उनको भनाई छ । सहकारी लगायत अन्य सामाजिक संघसंस्थाले रक्तदानमा उलेख्य योगदान गर्दै आएको भए पनि त्यसको उचित कदर हुन नसकेको उनको भनाई छ । रक्तदान गर्ने संस्था र रक्तदाताहरुलाई समेटेर बर्षमा एक पटक सरकारले रक्तदाता सम्मेलन गर्नुपर्नेमा उनको जोड छ ।

संस्थाले स्थापना दिवसको अवसरमा साताव्यापी कार्यक्रम तय गरेको छ । जसअनुसार जेष्ठ नागरिकहरुलाई फलफुल वितरण, फुटसल प्रतियोगिता, सहकारी सम्बन्धी अन्तरक्रिया, ज्येष्ठ सदस्य समितिको आयोजनामा कविता वाचन प्रतियोगिता, कर्मचारीहरु बीचमा सहकारी अन्तक्र्रिया, बागमती प्रोस्कूनले सञ्चालन गरेको कोसिस कार्यक्रममा सम्झौता र अन्तिम दिन रक्तदाता र ज्येष्ठ सदस्यलाई सम्मान कार्यक्रम गर्ने भएको छ ।

प्रकाशित : २० चैत्र २०८०, मंगलवार १६:२०