आठ महिनामा एक खर्ब ५५ अर्बको लगानी प्रतिबद्धता, दुई सय ५८ उद्योग दर्ता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

आठ महिनामा एक खर्ब ५५ अर्बको लगानी प्रतिबद्धता, दुई सय ५८ उद्योग दर्ता



काठमाडौं । चालु आर्थिक वर्षको आठ महिनासम्ममा स्वदेशी तथा विदेशी लगानीकर्ताले एक खर्ब ५५ अर्ब रुपैयाँको लगानी प्रतिबद्धता जनाएका छन् । उद्योग विभागको तथ्याङ्क अनुसार चालु आवको फागुन मसान्तसम्ममा स्वदेशी तथा विदेशी २५८ वटा उद्योग दर्ता गरी सो बराबरको लगानी प्रतिबद्धता जनाएका हुन् ।

त्यस्तै, फागुनमा मात्रै २२ वटा उद्योग दर्ता हुँदा दुई अर्ब ६८ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको छ । सो अवधिमा १९ वटा साना, दुई वटा मझौला र एक वटा ठूला उद्योग दर्ता भएका छन् । विभागले फागुनसम्ममा तीन सय ६५ वटा उद्योग दर्ता गर्ने लक्ष्य राखेको थियो । तर, विभागमा लक्ष्यभन्दा कम उद्योग दर्ता भएको पाइएको छ ।

विभागले ८० वटा ठूला, ८५ वटा मझौला र दुई सय वटा साना उद्योग दर्ता गर्ने लक्ष्य लिएको थियो । तर, विभागमा साना उद्योगबाहेक मझौला र ठूला उद्योग लक्ष्यभन्दा निकै कम दर्ता भएको पाइन्छ । जसमा ठूला ८० वटामा ३२ वटा मात्रै र ८५ वटा मझौला उद्योगमा २२ वटा दर्ता भएका छन् । साना उद्योग भने लक्ष्यभन्दा बढी दर्ता भएको छ । २ सय लक्ष्य राखेकोमा सो अवधिमा २०४ वटा उद्योग दर्ता गरेका छन् ।

त्यस्तै, फागुनसम्ममा एक खर्ब ५५ अर्ब लगानी प्रतिबद्धता जनाएका उद्योगबाट १८ हजार १५३ जनाले रोजगारी पाउनेछन् । त्यसैगरी, फागुन मसान्तसम्ममा २९ अर्ब १३ करोड रुपैयाँको विदेशी लगानी प्रतिबद्धता जनाएका छन् ।

विभागले फागुनसम्ममा ३८ अर्ब रुपैयाँको विदेशी लगानी प्रतिबद्धता जनाउने लक्ष्य राखेको थियो । विभागअनुसार चालु आवको फागुनमा मात्रै छ अर्ब ४७ करोड रुपैयाँको विदेशी लगानी प्रतिबद्धता जनाएका छन् । उक्त विदेशी लगानीबाट १३ हजार १६९ जनाले रोजगारी पाउने जनाएको छ ।

साथै, फागुन मसान्तसम्ममा दुई वटा प्याटेन्ट दर्ता भएका छन् भने सात वटा डिजाइन दर्ता भएको तथ्यांक छ । त्यस्तै, तीन हजार ८१३ वटा ट्रेडमार्क दर्ता र ट्रेडमार्क संम्बन्धी मुद्धा कारबाही संख्या ४५ वटा दर्ता भएका छन् ।

प्रकाशित : १२ चैत्र २०८०, सोमबार १५:१०