सीएनआईको आयोजनामा महिला नेतृत्व कृषि सम्मेलन चैत १७ देखि चितवनमा हुँदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सीएनआईको आयोजनामा महिला नेतृत्व कृषि सम्मेलन चैत १७ देखि चितवनमा हुँदै



काठमाडौँ । नेपाल उद्योग परिसंघअन्तर्गतको महिला नेतृत्व फोरम (सीएनआइडब्लुएलएफ) को आयोजनामा प्रथम प्रादेशिक महिला नेतृत्व कृषि सम्मेलन २०२४ यही चैत १७ र १८ गते चितवनमा हुने भएको छ । नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, भरतपुर महानगरपालिका, चितवन उद्योग संघसँगको सहकार्यमा सम्मेलन आयोजना गर्न लागिएको हो ।

कृषिको रूपान्तरणकारी भविष्यः कृषिमा आधारित व्यवसायमा नवप्रवर्द्धन, दिगोपन र उद्यमशीलता मुल नाराका साथ आयोजना हुन गइरहेको कृषि सम्मेलनको मुख्य उद्देश्य कृषिमा महिला उद्यमशीलताको प्रवर्द्धन गर्नु रहेको छ ।

सम्मेलनमा कृषिमा नवप्रवर्द्धन, दिगोपन र उद्यमशीलतामा महिलाको सहभागिता तथा नेतृत्वका विषय, कृषि यान्त्रिकरण, नेपालको माटो सुहाउँदो कृषि विकास, दिगो कृषि विकासका लागि कृषक महिलाका सवाल, महिलाको कृषिमा संलग्लताको सम्मान र उद्यमशीलताका लागि लिइनुपर्ने आवश्यक कदमका विषयमा गहन छलफल हुने परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले बताए ।

उत्पादनमूलक एवं सेवामूलक उद्योगहरूको प्रतिनिधिमूलक संस्था नेपाल उद्योग परिसंघले महिला नेतृत्व फोरममार्फत महिला उद्यमीहरूको सशक्तीकरण तथा प्रवर्द्धनका समेत काम गर्दै आएको छ । फोरमले समावेशी, सशक्तीकरण र समन्वयात्मक बललाई उच्च प्राथमिकता राख्दै कृषिमा महिलाहरूलाई प्रोत्साहन, उनीहरूका समस्या तथा समाधानका उपाय, कृषि अर्थतन्त्रमा महिलाको योगदानको कदर गरिनुपर्ने आवश्यकताको बोधसहित यो सम्मेलन महिला उद्यमशीलता र कृषिमा केन्द्रित गरिएको हो ।

सम्मेलन पछि कृषिका विद्यमान समस्या, चुनौती तथा अवसर पहिल्याउँदै कृषि क्षेत्रमा महिला कृषकहरूलाई अगाडि बढाउन लिइनुपर्ने नीतिगत व्यवस्थाका विषयमा नेपाल सरकारलाई सुझावहरू पेस गरिने महिला नेतृत्व फोरम सभापति छायाँ शर्माले जानकारी दिए । सम्मेलनअन्तर्गत चितवन भरतपुरस्थित प्रदर्शनी केन्द्रमा महिला कृषि उद्यमीका उत्पादन तथा कृषिसँग सम्बन्धित प्रविधिहरूको प्रदर्शनी समेत गरिनेछ । सम्मेलनको समुद्घाटन कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साहले गर्ने छन् ।

सम्मेलनको सहयोगी संस्थाहरूमा यूएसएड, हेफर, एफएओ, मुक्तिनाथ कृषि कम्पनी, नबिल बैंक, ग्लोबल आइएमई बैंक, एग्री नेपाल, शिखर इन्स्योरेन्स रहेका छन् । परिसंघको महिला नेतृत्व फोरमले गत वर्ष काठमाडौँमा अन्तर्राष्ट्रिय महिला नेतृत्व सम्मेलन सम्पन्न गरेको थियो ।

प्रकाशित : ६ चैत्र २०८०, मंगलवार १५:५०