प्रधानमन्त्री प्रचण्डले तेस्रो पटक पाए विश्वासको मत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

प्रधानमन्त्री प्रचण्डले तेस्रो पटक पाए विश्वासको मत



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा तेस्रोपटक विश्वासको मत प्राप्त गरेका छन्। प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा भएको मतविभाजनमा प्रधानमन्त्री प्रचण्डले पाँच दलीय गठबन्धनको समर्थनमा विश्वासको मत प्राप्त गरेका हुन्।

दुई सय ६८ सांसद् उपस्थित रहेको बैठकमा प्रचण्डको पक्षमा एक सय ५७ मत पर्‍यो भने विपक्षमा एक सय १० मत पर्यो । एक सांसद तटस्थ रहे । बैठकमा प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभा नियमावली १५५ बमोजिम विश्वास मतका लागि प्रस्ताव पेश गरेका थिए।

२१ फागुनमा कांग्रेसँगको सहकार्य तोडेर एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीको गठबन्धन बनाएका प्रचण्डलाई एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र केही स्वतन्त्र सांसदले पनि मत दिएका छन् ।

नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीलगायतले विपक्षमा मतदान गरे ।

१० पुस २०७९ मा प्रधानमन्त्री नियुक्त भएका प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभामा विश्वासको मत मागेको यो तेस्रो पटक हो । २५ पुस २०७९ मा पहिलो पटक विश्वासको मत लिएका प्रचण्डलाई त्यतिबेला प्रतिनिधिसभामा रहेका राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीबाहेक सबै दल र स्वतन्त्र सांसदले विश्वासको मत दिएका थिए ।

तर २०७९ फागुनमै एमालेसँग सहकार्य तोडेर कांग्रेससँग गठबन्धन बनाएका प्रचण्डले ६ चैत २०७९ मा विश्वासको मत लिएका थिए । त्यतिबेला उनले १७२ मत पाएका थिए ।

प्रकाशित : ३० फाल्गुन २०८०, बुधबार १६:०६