तीन खर्ब बचतमा शोधनान्तर स्थिति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

तीन खर्ब बचतमा शोधनान्तर स्थिति



काठमाडौं । ७ महिनाको अवधिमा शोधनान्तर स्थिति झण्डै ३ खर्ब रुपैयाँले बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०८०/८१ को ७ महिनामा शोधनान्तर स्थिति २ खर्ब ९७ अर्ब ७२ करोड रुपैयाँले बचतमा रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १ खर्ब २८ अर्ब ५५ करोड रुपैयाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ९७ करोड ५७ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्ब २४ करोडले बचतमा रहेको छ ।

समीक्षा अवधिमा चालु खाता १ खर्ब ६१ अर्ब ६९ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ४० अर्ब १६ करोड रुपैयाँले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३१ करोड ४६ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब २२ करोडले बचतमा रहेको छ ।

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर २९.० प्रतिशतले कमी आई ३ अर्ब ८० करोड रुपैयाँ कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ५ अर्ब १८ करोड रुपैयाँले धनात्मक रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ५ अर्ब ३५ करोड रुपैयाँ कायम भएको थियो भने खुद प्रत्यक्ष वैदेशिक लगानी १ अर्ब ४ करोड रुपैयाँले धनात्मक रहेको थियो ।

प्रकाशित : २७ फाल्गुन २०८०, आईतवार १७:२४