अर्थतन्त्रका समस्याबारे जानकार छु, समाधान गर्न लागिपर्छुः अर्थमन्त्री पुन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

अर्थतन्त्रका समस्याबारे जानकार छु, समाधान गर्न लागिपर्छुः अर्थमन्त्री पुन



काठमाडौं । नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले पदभार ग्रहण गरेका छन् । उनले बुधबार शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेलगत्तै सिंहदरबार आएर पदभार ग्रहण गरेका हुन् ।

अर्थ मन्त्रालयको कार्यभार सम्हाल्दै अर्थमन्त्री पुनले अर्थतन्त्रका समस्या बारे आफू जानकार रहेको र त्यसको समाधानका लागि आफू लागिपर्ने बताए । विगतका आफ्ना अनुभव र शिक्षाका साथ काम गर्न सकिने र नयाँ आशा जगाउन सक्ने उनले बताए ।

आफूभन्दा अगाडिको नेतृत्वलाई आलोचना गर्न लाग्नेभन्दा पनि आफूले राम्रो गर्न प्रयत्न गर्ने उनले बताए । मन्त्रालय समन्वयलाई प्राथमिकतामा राख्ने उनले बताए ।

त्यस्तै, अर्थमन्त्री पुनले कार्यभार सम्हाले लगत्तै पहिलो निर्णयका रुपमा जलवायु कोषबाट प्राप्त हुने अनुदान तथा सहुलियतपूर्ण सहायतालाई उत्पादनशील र दिगो पूर्वाधार आयोजनाको ठोस क्रियाकलापमा केन्द्रित गर्ने गरी प्रस्ताव तयार गर्न विषयगत मन्त्रालय र सम्बन्धित दातृ निकायलाई मार्गनिर्देश गर्ने निर्णय गरेका छन् ।

त्यस्तै ग्रीन क्लाइमेट फन्डको पाइपलाइनमा रहेका आयोजनाको अद्यावधिक गर्ने निर्णय गरेका छन् ।

प्रकाशित : २४ फाल्गुन २०८०, बिहीबार १२:१६