सहकारीले नाफालाई प्राथमिकता दिँदा समस्या आयो: नेफस्कून सीईओ सापकोटा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

सहकारीले नाफालाई प्राथमिकता दिँदा समस्या आयो: नेफस्कून सीईओ सापकोटा



काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ नेफस्कूनका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा.शिवजी सापकोटाले सहकारीको विश्वसनीयता फर्काउन काम गर्नुपर्ने बताएका छन् । बुधबारबाट भक्तपुरमा आयोजित ‘बागमती प्रदेश साकोस समिट २०८०’ को दोस्रो दिन कार्यपत्र ‘सहकारीको वर्तमान आवश्यकताः साझा अभियानका लागि साझा सञ्जाल’ प्रस्तुत गर्दै सहकारीलाई जिम्मा लिने संस्था यकिन गरेर बचतकर्ताको विश्वास जगाउनुपर्ने बताए ।

“सहकारीको जिम्मा यी निकायले लिएको छ, सहकारी सुरक्षित छ भन्ने सन्देश सबैले दिनुपर्ने देखिएको छ । सदस्यको बचतको सुरक्षाको प्रतयाभूति दिलाउने र सदस्यको जीवन परिर्वतनका लागि काम गर्नुपर्छ,” उनले भने, “सहकारीलाई पैसा किन्ने र बेच्ने आरोप लाग्ने गरेको छ । सहकारीको काम त्यति मात्र हैन ”उनले भने । सहकारी बैंक तथा वित्तीय संस्थाभन्दा फरक रहेको र सदस्यमा आधारित संस्था हुनुपर्नेमा सापकोटाले जोड दिए । सहकारीहरुले नाफालाई प्राथमिकता दिँदा पनि समस्या उत्पन्न भएको उनको भनाइ छ । “सहकारीले नाफालाई प्राथमिकतामा राख्दा समस्या आएको छ । संस्थाले कति कमाउने र कति लाभांश दिने भन्ने मान्यता राख्दा पनि समस्या आएको छ,” उनले भने, “सहकारी संस्थाले सदस्यले जम्मा गरेको पैसा जस्ताको तेस्तै मागेको दिन नै फिर्ता गर्नुपर्छ ।”

ज्ञान, सिप र क्षमताका लागि सहकारी अरुको भर परेपनि संस्था सञ्चालन गर्न अरुको भर पर्न नहुने उनको भनाई छ । वित्तीय कारोबार गर्दा व्यवस्थापन पक्षले त्यसको निगरानी र मनिटर गर्नुपर्ने उनी बताउँछन् ।

“समस्या पर्दा अरुले संस्था चलाउछ भन्ने मान्यता छ भने सहकारी नचलाए हुन्छ । सहकारीले ज्ञान तथा सीपमा अरुको भर पर्नुपर्छ । समस्या पर्दा वित्तीय सहयोग अरुबाट गर्न हुँदैन,” उनले भने, “सहकारीले समयमा प्रतिवेदन तयार गर्ने, साकोसका असल अभ्यासलाई बाहिर ल्याउने र वित्तीय अनुशासन पालना गुर्नपर्छ।” सहकारीको ऐन धेरै भएको र सहकारी सदस्यबाट टाढा रहेर सदस्यमा आधारित संस्था हुनुपर्छ भन्ने कुरा बिसर्दा समस्या आएको उनले प्रष्ट पारे ।

त्यस्तै सीईओ सापकोटाको कार्यपत्रमा टिप्पणी गर्दै बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयका सचिव बलराम निरौलाले सहकारीको सुदृढीकरणमा ध्यान दिनुपर्ने बताए । उनले सदस्य मिलेर संस्था बनाउने र संस्था संघमा जाने वातावरण मिलाउनुपर्ने बताए । “सहकारीमा पुँजी निर्माण संस्थाले गर्ने र बचतकर्तालाई बचत गर्न सिकाउनुपर्छ । आम्दानीबाट बचत गरेपछिमात्र अन्य कामतिर लाग्नुपर्छ,” उनले भने, “संस्था/संघमा अहिलेसम्म उत्पादनमुलक सम्बन्ध छ त ? सहकारीमा उत्पाह भएन । ज्ञान र चेतनाको कमीले गर्दा पनि समस्या आएको हो ।”

सोही कार्यपत्रमाथि टिप्पणी गर्दै सहकारी विभागका उपरजिष्टार टोलराज उपाध्यायले सहकारीका मूल्य मान्यता असाध्यै असल भएको भन्दै यसको जगमा सहकारी बस्न सके समस्या नआउने बताए । पैसाको कारोबार गर्ने संस्था जोखिमय हुने भएकाले त्यसमा व्यवस्थापक र सञ्चालकले दीर्घकालीन रुपमा सोचेर अगाडि बढ्नुपर्ने उनको भनाइ छ ।

प्रकाशित : १७ फाल्गुन २०८०, बिहीबार १४:०८