सरकारले बीमा बुझेनः पोषकराज पौडेल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

सरकारले बीमा बुझेनः पोषकराज पौडेल



सामान्य हिसाबले हेर्ने हो भने कोही कसैलाई पनि जोखिम पर्दा रक्षावरण गर्ने एउटा औजार बीमा हो । केही गाह्रो, अप्ठ्यारो पर्दा बीमा कम्पनीले मात्रै हेर्दछ । त्यसैका लागि बीमा गर्ने हो । यता जीवन बीमालाई अनिवार्य बचत र लगानी गरी दुई पाटोको रुपमा हेर्ने गरिएको छ । केहीले बचतको रुपमा बुझेका छन् भने केहीले लगानीको रुपमा बुझेका छन् । वास्तवमा यो जोखिम रक्षाको बचत हो । लगानीका लागि अन्य विभिन्न क्षेत्रहरू हुन सक्दछन् । त्यसैले लगानीभन्दा पनि अनिवार्य बचत र जोखिमका लागि बण्डल गरिएको प्रोडक्ट नै जीवन बीमा हो । विकसित हुँदै जाँदा यो परिवारको जोखिमको रक्षावरण, आर्थिक हिसाबले भवितव्य पर्दा जोखिम कम गराउने कुरा हो ।

बृहत्तररुपमा हेर्दा समाज विकासको क्रममा मानिस बढी व्यावसायिक र बढी आत्मकेन्द्रित बन्न थाल्दछ । त्यो व्यक्तिलाई अप्ठ्यारो परेको बेला साथीभाइ र समाजले मद्दत गर्नेभन्दा पनि आफूलाई पर्ने समस्या आफैं व्यवस्था गर्ने अवधारणाका रुपमा बीमालाई लिने गरिन्छ । आज चिनेकै व्यक्तिले कुराले ठिक्क पारे पनि आफूलाई परेको बेलामा औषधोपचार खर्च या अन्य आवश्यक खर्चका लागि सहयोग गर्नेहरू घट्दोमात्रामा छन् । त्यही कारण कोही कसैलाई पनि केही घटना पर्दा कुनै एक संस्थाले उपचार खर्चदेखि प्रोडक्टअनुसारको सहयोग रकम जुटाउन हेर्ने संस्था नै जीवन बीमा कम्पनीहरू हुन् । अतः विकासको क्रममा आर्थिक हिसाबले जोखिमको रक्षावरण गर्ने औजार आविष्कार भएको युगको रुपमा अहिले बीमालाई हेरिन्छ ।

बीमाको इतिहास


एक दशक अगाडिसम्मलाई हेर्दा बीमा क्षेत्र एकदमै साँघुरो र सीमित मात्रामा थियो । करिब चार दशकसम्मको अवधिमा ७ प्रतिशत हाराहारीको संख्यामा रहेको यो क्षेत्र पछिल्लो दशकमा ४० प्रतिशतमा पुगेको छ । पछिल्लो दशकमा बीमा क्षेत्रका सबै विषयमा उल्लेख्य वृद्धि भएको पाइन्छ । नयाँ कम्पनीहरूको संख्या उल्लेख्य रुपमा बढेको छ । बीमा शिक्षा र साक्षरता पनि बढेर गएको छ । बीमाको बारेमा तल्लो तहसम्म छलफल हुन थालेको छ । अब बीमाबारे गाउँ–गाउँसम्म सकारात्मक बुझाइ पाइन्छ । सरकारको स्वास्थ्य बीमाले अझ महत्वपूर्ण भूमिका खेलेको छ । वैदेशिक रोजगारमा जाँदा अनिवार्य बीमा गर्नुपर्ने भएकाले पनि घरघरमा बीमाको सचेतना पुगेको छ । विदेशमा जानेहरूको विभिन्न घटना घट्ने र त्यसबापत बीमा कम्पनीले सुविधा दिएको देखेर पनि यो गर्नेपर्नै रहेछ भनेर चेतना आएको पाइन्छ । त्यस्तै कोरोना बीमाले पनि गाउँ–गाउँसम्म बीमाबारेको चेतना विस्तार गरेको देखिन्छ । यसबापत कम्पनीहरूले चार÷पाँच अर्ब रुपैयाँ भुक्तानी दिइसकेका छन् । सबै चिजहरूले गर्दा पछिल्लो समय बीमाबारे जनचेतनाको स्तर क्रमशः बढ्दै गएको छ । एक हिसाबले हेर्दा बीमाबारे सकारात्मक कुराको लागि आधार नै तय भएको छ । यो दशक बीमा क्षेत्रका लागि ऐतिहासिक नै बन्न पुगेको प्रष्ट छ ।

बीमा बाध्यता कि आवश्यकता

अभ्यासको हिसाबले यो बताउँछ कि मानिसलाई राम्रो कुरा बुझाउन समय लाग्छ । राम्रो कामका लागि समाजमा केही नयाँ पहलकदमी पनि लिनुपर्दछ । केही कुरा बुझाउनु पनि पर्दछ । संसारमै हेर्ने हो भने राम्रो कुरा अगाडि बढाउन साह्रै गाह्रो हुने गर्दछ । मानिसलाई कतिपय अवस्थामा करकाप पनि गर्नुपर्ने हुन्छ । त्यहीअनुसार रक्षावरण गर्ने औजार भनेर अभिकर्ताले बीमाबारे बुझाइरहेका हुन्छन् । बुझिसकेपछि भने आफूप्रति ढुक्क हुन थाल्नेछन् । उदाहरणको रुपमा हेर्दा नेपालमै मानिसको चेतनाको स्तर विकास नभइसकेको अवस्थामा विद्यालयका शिक्षक र अभियन्ताहरूले घरघर गएर बच्चा विद्यालय भर्ना गर्नुपर्दछ र पढाउनुपर्दछ भन्दथे । विस्तारै सर्वसाधारणले यो बुझ्दै गए । यतिबेला नेपालको साक्षरता प्रतिशत निकै राम्रो छ । अब बालबालिकालाई विद्यालय पठाऊ भनिरहनु पर्दैन । त्यसैगरी बीमाका विषयमा पनि विस्तारै सुधार हुँदै जाने देखिन्छ ।

गुणस्तर र साक्षरता

अहिले १२ हजार कर्मचारी यस क्षेत्रमा संलग्न छन् । साढे २ लाख अभिकर्ता सक्रियरुपमा कार्य गरिरहेका छन् । पछिल्लो समय बीमा क्षेत्रमा प्रविधिसँग भिज्न सक्ने कर्मचारी आइसकेका छन् । उनीहरू डिजिटल फ्रेण्ड्ली पनि देखिन्छन् । कतिपयमा बीमाको ज्ञान र प्रविधिबारे जानकारी बढाउनुपर्ने खाँचो पनि होला । यसमा थप गृहकार्य गर्दै सिक्ने र सिकाउनुपर्ने कुरा बाँकी छन् । सक्षम कर्मचारी उत्पादन भएमा त्यसले बीमा क्षेत्रलाई धेरै ठूलो सहयोग गर्ने देखिन्छ । अर्काेतिर अभिकर्ताको व्यावसायिकता वृद्धि गनुपर्ने खाँचो छ । यो पेशालाई मर्यादित बनाउन तालिम, क्षमता विकासका काममा लाग्नै पर्दछ । पछिल्लो समय नियामक निकाय बीमा प्राधिकरणले अभिकर्ताको क्षमता वृद्धि गर्नेगरी काम गरेको छ । नियामकले गुणस्तरमा बढी ध्यान दिएको छ । त्यसैगरी बीमा कम्पनीहरूले पनि संख्यामा भन्दा गुणस्तरमा जोड दिँदै गएका छन् । नेपालमा टेलिमार्केटिङलगायत डिजिटल मार्केटिङको विकास नभइसकेको अवस्थामा यतातर्फ भने ध्यान पु¥याउनुपर्ने खाँचो छ । समयमै भुक्तानीका लागि प्रहरी, प्रशासन, स्थानीय सरकार र अस्पतालको समन्वयमा हुनुपर्ने कामको आवश्यक विकास भइसकेको छैन । त्यसमा सुधार गर्नुपर्ने टड्कारो आवश्यकता छ । भुक्तानी चाँडो हुने प्रणालीको विकास हुने हो भने बीमा गर्नेहरू अझै सक्रिय भएर बढ्नेछन् ।
मुख्य कुरा बीमाका क्षेत्रमा मानिसलाई बुझाउनुपर्ने आवश्यकता नै बढी देखिन्छ । पछिल्लो समय संघले विभिन्न हिसाबले सचेतना दिने काम गरिरहेको छ । सञ्चारमाध्यमहरूसँग सहकार्य गरेर संघले कार्य गरिरहेको छ । सञ्चारमार्फत प्रचार गरेमा त्यसले बृहत क्षेत्रमा सकारात्मक सन्देश दिन सक्छ भन्ने हाम्रो बुझाइ हो । नियमितरुपमा विभिन्न सञ्चारमाध्यममा अन्तर्वार्ता एवं विश्लेषण प्रस्तुत गरेर आममानिससमक्ष पुग्ने काम भइरहेको छ । नियामक बीमा प्राधिकरणसँगको समन्वयमा स्थानीय सरकारहरूमा पुगेर छलफल एवं अन्तक्र्रिया भइरहेका छन् । प्राधिकरणले यसका लागि जिल्ला नै छुट्ट्याइदिएको छ । त्यहीअनुसार हरेक महिना विभिन्न पालिकामा पुगेर सचेतनाका कार्यक्रम भइरहेका छन् । विस्तारै मानिसहरूले पनि बुझ्दै जान थालेका छन् ।

अब भने बीमाका प्रोडक्ट खरिद गर्नेले त्यो खरिद गर्नुपूर्व मैले के किन्दैछु भनेर सबैभन्दा पहिला जानकारी राख्नुपर्दछ । त्यस प्रोडक्टमा आफ्नो लागि तोकिएको मापदण्ड र सर्तहरू के छन् भन्ने विषय सबैभन्दा बढी महत्वपूर्ण हुन्छ । बीमा गराउनेले भनेको कुराअनुसार त्यस प्रोडक्टमा व्यवस्था छ कि छैन भनेर जानकार हुनैपर्दछ । बीमा गराउनेले भनेका कुरा र सम्झौता कागजमा लेखिएका कुराहरू ठीक छन् वा छैनन् सबै जाँचबुझ गर्नै पर्दछ । जसरी एक व्यक्तिले मोबाइल किन्दा विस्तृतमा सबै कुरा बुझ्दछ त्यसैगरी बीमा पोलिसी किन्दा पनि बुझेरमात्र गर्न सबैलाई आग्रह गर्दछु । जीवन बीमामा धेरै फाइदा हुने गर्दछन् । त्यो बीमा आफैंलाई हो कि, बालबच्चाका लागि वा औषधोपचारका लागि या बुढेसकालका लागि भनेर स्पष्ट हुनुपर्दछ । बीमाका सम्पूर्ण विशेषता त्यहाँ उल्लेख गरिएको हुन्छ । सोही विशेषताअनुरुप फाइदा बुझेर काम हुनसक्ने हो भने प्राप्त सेवा पनि भनेअनुरुप नै हुनेछ ।

ऐन, कानुन
यहाँ बीमासम्बन्धी नयाँ ऐन लागू हुने क्रममा छ । ऐनपछि नियमावली नआएर कार्यात्मक समस्या देखिन्छ । नियमावली चाँडै आएर विषयवस्तु प्रष्ट भएमा काम गर्न अझै सहज हुने देखिन्छ । नयाँ ऐनले धेरै विषय समेटेको पाइन्छ ।
जोखिम न्यूनीकरणका विषय

सबैले बुझ्नुपर्ने कुरा मनको शान्ति नै बीमा हो । आफू नहुँदा पनि परिवारलाई वित्तीय समस्या हुँदैन भनेर मनमा आनन्द प्रदान गर्ने काम बीमाले गराउँछ । आफूलाई रोग लाग्दा ओषधोपचारका लागि खर्च जुटाउन मुश्किल पर्नसक्छ । व्यक्तिलाई रोग जहिले पनि लाग्नसक्दछ । दुर्घटना जुनसुकै बेला जहाँकहीँ हुनसक्दछ । बुढेसकालमा कसैले नहेर्न सक्दछ । या यस्तै धेरै किसिमका अप्ठ्यारा आउन सक्दछन् । त्यतिबेला साथीभाइ वा आफन्तहरू पनि टक्टकिएर सहयोग नहुन सक्दछ । त्यसैले सबै किसिमका जोखिम न्यूनीकरणका लागि नै बीमा हो । मनमा शान्ति लिएर जीवन जिउने र ढुक्कले जीवन जिउने हो भने सबै व्यक्ति बीमाको दायरामा आएर भविष्यमा हुनसक्ने अनिश्चितता हटाउन सक्दछन् ।

सरकारले बीमा बुझेन
पछिल्लोपटक बजेटमा बीमाका शब्दहरू परेका छन् तर अझै पनि कार्यान्वयनमा नपरेको देखिन्छ । बीमा चाहिने रहेछ भन्ने सरकारलाई महसुस हुन थालेको छ । त्यस्तै बीमा नहुँदा देशले खर्बौं नोक्सानी बेहोर्नुपरेको विषय सरकारले बुझ्न थालेको छ तर कार्यान्वयनको प्राथमिकता भने भाषणमा मात्रै सीमित छ । जस्तै विकास बजेट गर्नुपर्दछ भन्ने थाहा हुँदाहँुदै पनि खर्च नभएझैं बीमा क्षेत्र पनि त्यस्तै अवस्थामा गुज्रिरहेको पाइन्छ ।

बीमा व्यवसायको भविष्य र चाल्नुपर्ने कदम
अहिले निकै ठूलो जनसंख्या बीमाको दायरमा आइसकेका छैनन् । हाम्रो जस्तो देशमा सरकारका सामाजिक सुरक्षाका पाटोहरू पनि बलियो छैन । अहिलेसम्म बुढेसकालमा आफूलाई पर्ने सबै समस्या आफैंले बेहोनुपर्ने अवस्था छ । त्यसैगरी सन्तानले पाल्छ कि पाल्दैन भन्ने निश्चितता छैन । त्यसैले आफ्नो बुढेसकालका लागि आफैंले छुट्टै व्यवस्था गर्नुपर्ने देखिन्छ । बुढेसकालको लागि हुने पेन्सन प्रोडक्ट, उपचारका लागि छुट्टै प्रोडक्ट र सरकारको सुरक्षा कार्य नभएको हाम्रो जस्तो देशमा यसको सम्भावना व्यापक देखिन्छ ।

विकसित देशमा एउटै मानिसले ६÷७ वटा प्रोडक्ट लिने गर्दछन् । ती देशमा उपचार खर्च, दुर्घटना, बुढेसकाल, छोराछोरीेको भविष्य, सामाजिक कार्यलगायत फरक–फरक प्रोडक्ट लिने संस्कार छ । हामीकहाँ कुनै एउटा प्रोडक्ट किनेपछि पूरा भयो भन्ने चलन छ । त्यसैले व्यक्तिको आवश्यकताअनुसारका प्रोडक्टको कारोबार गर्ने संस्कार भने बसाल्नै पर्ने देखिन्छ । अझै पनि व्यक्ति÷व्यक्तिसम्म पुगेर बीमाका प्रोडक्ट बेच्नु परिरहेको छ ।

बुझाएर बेच्नुभन्दा पनि स्वतस्फूर्तरुपमा बीमा हुनुपर्दछ । विकसित देशमा व्यक्ति आफैंले बुझेर बीमा किन्ने प्रचलन छ । अतः आत्मअनुभूति गरेर बीमा लिनका लागि सामाजिक परिवेश नै परिवर्तन भएमात्रै सम्भव छ । विकसित देशमा अरु कसैले हेर्दैन भनेर आफ्नो लागि आफैंले व्यवस्था गर्ने र बीमा गर्ने प्रवृत्ति छ । यहाँ भने मानिसलाई डर सिर्जना भएपछि आफैं खोजेर आउने गरेको पाइन्छ । अहिले केही गाह्रो, अप्ठ्यारो परेमा गाउँमा गएर एक÷दुई गठ्ठा जग्गा बेचेर भए पनि बाँचिहाल्छु भन्ने मानसिकता छ । अब भने मलाई केही दुःख परेमा बीमा कम्पनी सहारा हुन्छ भन्ने मानिसले बुझ्नुपर्ने बेला भइसकेको छ । भोलि आफ्ना लागि दुःख पर्दा सम्पत्ति बेच्ने हो भन्ने प्रचलनबाट बाहिर आएर त्यसको लागि बीमा प्रोडक्ट छ भन्ने बुझ्नुपर्दछ ।

समग्रमा सूचना एवं जानकारी दिने कुरालाई सुधार्दै लैजानुपर्दछ । मानिसमा सचेतना जरुरी छ भनेर महसुस गराउन विद्यालय तहदेखि नै अन्य विषयजस्तै बीमाको बारेमा पढाउनु आवश्यक छ । त्यसपछि यसको महत्वबारे मानिसले बुझ्नेछन् । हाम्रो जस्तो अर्थतन्त्रमा २५ प्रतिशतसम्म गरिबीको रेखामुनि जनताहरू छन् । उनीहरूलाई आर्थिक हिसाबले आम्दानी गर्न सक्ने व्यक्ति यदि कुनै कारणवस आम्दानी गर्न नसक्ने भयो भने बीमाले बचाउँदछ भन्ने बुझाउन सक्नुपर्दछ । सबैतिर साक्षरता बढाउनु नै सबैभन्दा महत्वपूर्ण पक्ष हो ।

(लेखक, जीवन बिमक संघ नेपालका अध्यक्ष हुन लेख इमान जर्नलबाट साभार गरिएको हो)

प्रकाशित : १६ फाल्गुन २०८०, बुधबार ११:३०