जीवन बीमा कम्पनीहरुकाे कुल व्यवसाय ८६ अर्ब ८८ करोड माथि, कुन कम्पनीको कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

जीवन बीमा कम्पनीहरुकाे कुल व्यवसाय ८६ अर्ब ८८ करोड माथि, कुन कम्पनीको कति ?



काठमाडौं। चालु आवको माघ महिनासम्ममा जीवन बीमा कम्पनीहरुले ८६ अर्ब ८८ करोड आठ लाख रुपैयाँ कुल बीमा व्यवसाय गर्न सफल भएका छन् । नेपाल बीमा प्राकिरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार यस अवधिमा १४ वटा जीवन बीमा कम्पनीहरुले कुल एक करोड ३७ लाख ७३ हजार ३१५ वटा बीमा शुल्क जारी गरी सो बराबरको नयाँ व्यवसाय गरेका हुन्।

माघ महिनामा मात्रै जीवन बीमा कम्पनीहरुले चार लाख ४८ हजार ६६६ वटा बीमा शुल्क जारी गरी दुई अर्ब २९ करोड ३२ लाख रुपैयाँको नयाँ व्यवसाय गरेका छन् ।

सात महिनाको अवधीमा सबैभन्दा धेरै बीमा शुल्क संकलन गरेर सबैभन्दा अगाडि देखिनेमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । यस अवधीमा नेपाल लाइफले २३ अर्ब २० करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गर्न सफल भएको छ । दोस्रोमा एलआइसी नेपालले १० अर्ब १४ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गर्दा तेस्रो स्थानमा नेशनल लाइफ कम्पनीले १० अर्ब पाँच करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गर्न सफल भएको छ ।

चौथो स्थानमा रहँदै हिमालयन लाइफले नौं अर्ब ९१ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्दा सूर्यज्योति लाइफले पाँच अर्ब तीन करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ ।

पाँच अर्बभन्दा कम बीमा शुल्क संकलन गर्ने कम्पनीहरुमा राष्ट्रिय जीवन बीमा कम्पनीले चार अर्ब ९८ करोड रुपैयाँ, एशियन लाइफले चार अर्ब ४३ करोड रुपैयाँ, सानिमा रिलायन्स लाइफले तीन अर्ब ३८ करोड रुपैयाँ, सिटिजन लाइफले तीन अर्ब २६ करोड रुपैयाँ, मेट लाइफले तीन अर्ब १४ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

त्यस्तै, आइएमई लाइफले दुई अर्ब ५० करोड रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले दुई अर्ब ३८ करोड रुपैयाँ, रिलायबल नेपाल लाइफले दुई अर्ब ३० करोड रुपैयाँ, सन नेपाल लाइफले दुई अर्ब १२ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् ।

प्रकाशित : ११ फाल्गुन २०८०, शुक्रबार १३:१९