सात महिनामा नेपालको आयात–निर्यात दुवै घट्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सात महिनामा नेपालको आयात–निर्यात दुवै घट्यो



काठमाडौं । चालु आर्थिक वर्षको सात महिनासम्ममा नेपालको आयात निर्यात दुवै घटेको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आवको माघ मसान्तसम्मको तथ्यांकअनुसार गत आवको सोही अवधिको तुलनामा आयात २‍.३१ प्रतिशत र निर्यात ७‍.०७ प्रतिशतले घटेको हो ।

यस अवधिमा मुलुकले आठ खर्ब ९७ अर्ब ९४ करोड ३८ लाख रुपैयाँ बराबरको वस्तु आयात गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा नौं खर्ब १९ अर्ब १६ करोड ५३ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।

त्यस्तै यस अवधिमा नेपालबाट ८६ अर्ब ८३ करोड बराबरको वस्तु निर्यात भएको छ । गत वर्ष यसै अवधिमा ९३ अर्ब ४३ करोड रुपैयाँ बराबरको निर्यात भएको थियो ।

यस अवधिमा नेपालको वैदेशिक व्यापार पनि नौं खर्ब ८४ अर्ब ७७ करोड ४८ लाख रुपैयाँ बराबरको भएको छ । गत वर्षको यही अवधिमा १० खर्ब १२ अर्ब ५९ करोड ७६ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको थियो ।

विभागका अनुसार माघ मसान्तसम्म नेपालको व्यापार घाटा आठ खर्ब ११ अर्ब ११ करोड २९ लाख रुपैयाँ बराबर रहेको छ । गत वर्षको सोही अवधिमा आठ खर्ब २५ अर्ब ७३ करोड ३० लाख रुपैयाँ बराबरको व्यापार घाटा भएको थियो ।

प्रकाशित : ९ फाल्गुन २०८०, बुधबार ११:३०