एडभान्स कलेजमा आगजनी र तोडफोड, क्याम्पस प्रमुखको भूमिका शंकास्पद « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८० चैत

अर्थ राजनीति

एडभान्स कलेजमा आगजनी र तोडफोड, क्याम्पस प्रमुखको भूमिका शंकास्पद



काठमाडौं । एमाले निकट अनेरास्ववियुका नेता कार्यकर्ताहरुले बल्खुस्थित एडभान्स कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजम्यान्ट कलेजमा स्वतन्त्र विद्यार्थी परिषद्को कुर्सी तोडफोड एवम आगजनी गरेका छन् । उक्त घटनाका विषयलाई लिएर क्याम्पस प्रमुख रमेश सिलवाल विवादमा मुछिएका छन् ।

परिषद्को कार्यालयमा रहेको अध्यक्ष, उपाध्यक्ष र सचिबको कुर्सीमा पेट्रोल छर्किएर आगजनी गरेका अखिलका विद्यार्थी नेताहरुलाई क्याम्पस प्रशासनले प्रहरीको कालीमाटी बृत्तमा उजुरी दिएर पक्राउ गराए पनि क्याम्पस प्रमुख सिलवालले अभियुक्तहरुलाई छुटाएको आरोप लागेको छ । जसका कारण प्रमुख सिलवाल विवादमा मुछिएका हुन् ।

परिषदका पदाधिकारीहरुले क्याम्पस प्रशासनले समेत प्रमुखको दबाबमा उजुरी फिर्ता लिएको, घट्नाको सीसीटीभी फुटेज डिलिट गराएर अभियुक्तहरुलाई बचाउन सक्रिय रहेको विद्यार्थीहरुले आरोप लगाएका छन् ।

‘क्याम्पस प्रमुख एमाले विद्यार्थीलाई बचाउन राजनीतिक शक्ति प्रयोग गरिरहनुभएको छ । क्याम्पसको सम्पत्ती जलाउने अपराधीहरुलाई बचाउन क्याम्पस प्रमुख नै सक्रिय रहनु कस्तो विडम्बना हो । नेविसंघले स्वतन्त्र विद्यार्थी परिषद्को नेतृत्वमा विजयी भएपछि क्याम्पस प्रमुखको भूमिका पूर्ण रुपमा पूर्वाग्रही देखिन्छ,’ परिषद्का एक विद्यार्थी नेताले भने ।

क्याम्पस प्रमुख र प्रशासनको भूमिका गैरजिम्मेवार रहेको भन्दै नेविसंघ निकट विद्यार्थीहरुले क्याम्पस प्रमुख सिलवालको राजीनामा माग गरेका छन् । नेविसंघका तर्फबाट सन्तोस दाहाल र मनोज खड्काले एक विज्ञप्ति जारी गर्दै धनजनको क्षतिपुर्ति दिनुपर्ने, संलग्नलाई कारवाही गर्नुपर्ने, प्राचार्यले स्पष्टीकरणसहित राजीनामा दिनुपर्ने माग राखेका छन् ।

प्रकाशित : ५ फाल्गुन २०८०, शनिबार २२:४५