समुदाय र सदस्य केन्द्रीत सहकारी बैंकभन्दा कम छैनन् : अध्यक्ष सापकोटा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

समुदाय र सदस्य केन्द्रीत सहकारी बैंकभन्दा कम छैनन् : अध्यक्ष सापकोटा



काठमाडौं । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून)का अध्यक्ष उद्धव सापकोटाले समुदाय र सदस्य केन्द्रीत भएर सञ्चालन भएका सहकारी संस्थाहरु बैंकभन्दा कम नरहेकाे बताएका छन् । बागमती प्रोस्कूनको आयोजना, राष्ट्रिय सहकारी बैंकको प्राविधिक सहयोग र नेपाल सहकारी पत्रकार समाज (सिजेएन)को व्यवस्थापनमा भएको ‘सञ्चारकर्मीहरुका लागि वित्तीय बुझाई अभिवृद्धि तालिममा बोल्दै उनले यस्ताे बताएका हुन् ।

‘सरकारी कर्मचारी र जनप्रतिनिधिहरुमा सहकारीप्रतिको बुझाइमा एक रुपता नहुँदा पनि समस्या आयो,’ उनले भने । कोरिया लगायतका कतिपय देशहरुले सहकारीमा समस्या आउँदा सरकारले सहयोग गरेको भन्दै उनले सहकारीमा समस्या आउँदा राज्यले सहयोग गर्नुपर्ने बताए । संकटको समयमा राज्य र अभियानसँगै जाने हो भने अहिलेको समस्या समाधान गर्न सकिने उनको भनाई थियो ।

विश्वका कतिपय देशले सहकारीमार्फत नै आर्थिक तथा सामाजिक रुपान्तरण गरेको थुप्रै उदाहरण रहेको भन्दै उनले नेपालमा पनि सहकारीले आर्थिक तथा सामाजिक रुपान्तरण गर्न सक्ने दावी गरे ।

शहरी क्षेत्रमा रहेका केही ठुला र सहकारी मूल्य, मान्यता सिद्धान्त बाहिर सञ्चालित सहकारीमा मात्र अहिले समस्या आएको उनले बताए । बदमास गर्ने सहकारी संस्थाका सञ्चालकलाई संरक्षण गर्ने भन्दा पनि कारबाही गर्न सके सहकारीप्रति आम विश्वास बढ्ने उनको बुझाई छ ।

कार्यक्रममा बागमती प्रोस्कूनका महासचिव जिवसराज खड्काले सहकारीको बुझाइमा एक रुपता कायम हुनुपर्छ भन्ने उद्देश्यले यो तालिमको आयोजना गरिएको बताए ।

सहकारीमाथि चौतर्फी रुपमा आरोप लागेको बताउँदै सहकारीलाई हेर्ने, विश्लेषण गर्ने र सहकारीको अवस्थाको रुपमा सही विश्लेषण नभएको समेत उनले बताएका हुन् । सबै सहकारी समस्यामा नरहेको समेत उनको तर्क छ ।

‘सबै सहकारी खराब छैनन्, केही सहकारीहरूबाट गलत काम पनि भएका छन्, सबैलाई सबैलाई एकै ठाउँमा राखेर हेर्न मिदैन,’ उनले थपे । सहकारी बुझाइमा एकरुपता आउने पर्ने बताउँदै उनले साझा बुझाइको साथमा सहकारीको विश्लेषण गर्नुपर्ने बताए ।

तालिममा राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री कुमार गुरागाईंले सहकारी संस्थाहरुको वित्तीय विश्लेषणको बारेमा प्रशिक्षण दिएका थिए । सहकारीमा पल्र्सको महत्व, नगद प्रवाह, लेखा टिप्पणी र अन्य वित्तीय विश्लेषण लगायतका विषयमा पत्रकारहरुलाई प्रशिक्षण गराएका थिए ।

लेखा परिक्षेकको युडिएन नम्बरबाट सहकारी संस्थाको प्रतिवेदनमा उल्लेख भएको वित्तीय विवरण वास्तविक छ की छैन भनेर पत्ता लगाउन सकिने सिइओ गुरागाईंले बताए ।

तालिममा बागमती प्रोस्कूनका प्रमुख कार्यकारी अधिकृत केशवप्रसाद दाहालले सहकारीको वित्तीय व्यवस्थापनका विषयमा प्रशिक्षण दिँदै कुल बचतमा ३० प्रतिशतमाथि नियमित बचतको हिस्सा रहेका सहकारी संस्थामा सामान्य अवस्थामा समस्या नआउने बताए । सहकारीको वित्तीय संरचना भित्र वित्तीय स्रोत केलाई बनाइयो रु त्यसले नै संस्थाको स्थायित्व कायम गर्ने उनले जानकारी दिए ।

दीगो संस्था निमार्ण गर्न नियमित बचत कम्तिमा ३० प्रतिशत, धन सृजना गर्ने बचत कम्तिमा १५ प्रतिशत, आवधिक बचत बढीमा २० प्रतिशत र कारोबार बचत ३५ प्रतिशत हुनुपर्ने सिईओ दाहालले जानकारी दिए । सहकारी संस्था सदस्यमा आधारित व्यवसाय भएकाले कुल सदस्य मध्ये ३३ प्रतिशतले संस्थाबाट ऋण उपभोग गरेको हुनुपर्ने उनले बताए ।

बैंकसम्मको पहुँच नभएका र आफ्नो कमाईले मात्र दैनिकी सञ्चालन गर्न नसक्नेहरुका लागि सहकारी आवश्यक रहेको उनको भनाइ छ । सिजेएनका अध्यक्ष काजी श्रेष्ठको अध्यक्षतामा सम्पन्न तालिममा विभिन्न सञ्चार गृहमा कार्यरत ३४ जना पत्रकारहरुको उपस्थिति थियो । कार्यक्रमको सञ्चालन सिजेएनका सचिव सन्तोष रोकायाले गरेका थिए ।

प्रकाशित : २८ माघ २०८०, आईतवार १७:४८