सहकारीमा एकीकरण जरुरी छ, ३१ हजार सहकारीलाई १० हजारमा झार्छौँ : अध्यक्ष ओमदेवी मल्ल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

मुख्य समाचार

सहकारीमा एकीकरण जरुरी छ, ३१ हजार सहकारीलाई १० हजारमा झार्छौँ : अध्यक्ष ओमदेवी मल्ल



काठमाडौं । राष्ट्रिय सहकारी महासंघको अध्यक्ष ओमदेवी मल्लले बैंकहरु जसरी मर्जरमा गए त्यसरी नै सहकारीमा पनि एकीकरण जरुरी रहेको बताएकी छिन् । बुधबार इकोनोमिक मिडिया एशोसिएशन नेपालको प्रथम वार्षिकोत्सवको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् ।

उनले भनिन्, ‘बैंकहरु जसरी मर्जरमा गए त्यसरी नै सहकारीमा पनि एकीकरण जरुरी छ । अहिले सहकारीको संख्या ३१ हजार तीन सय ७३ छ । त्यसलाई १० हजारमा झार्ने हाम्रो भिजन २०–३० छ ।’

त्यस्तै, उनले सहकारीलाई अर्थतन्त्रको एक खम्बाको रुपमा राखेपनि त्यो अनुसारको कुनै पनि व्यवस्था नभएको बताएकी छिन् । उनले भनिन् ‘यो दुख लाग्दो कुरा छ, ‘सहकारी ऐन २०७४ जुन हामीले बनाएका छौँ । तर, कर्जा असुली केन्द्रदेखि कर्जा असुली न्यायाधिकरण, बचत तथा कर्जा सुरक्षण कोष लगायतका कुराहरू यसले कार्यान्वयनमा ल्याउन सकेको छैन ।’

कार्यक्रममा उनले केही सहकारीका कारण समग्र सहकारीको बदनाम भएको पनि गुनासो गरेकी छिन्। उनले सहकारीको बोर्ड राखेर कारोबार गरेपछि त्यसलाई सहकारीकोरुपमा मान्नै पर्छ । तर, व्यक्तिगत तरिकाले सहकारी चलाउँदा त्यसको दोष सम्पूर्ण सहकारीकर्मीहरुले भोग्नु परेको बताइन् । । उनले भनिन्, त्यस्ता सहकारीहरूलाई कारबाही हुनुपर्छ । यसका लागि महासंघ पनि तयार छ ।’

प्रकाशित : २४ माघ २०८०, बुधबार १५:०३