बालबालिकाको शिक्षामा ध्यान दिन अभिभावकहरुसँग अर्थमन्त्री डा. महतको आग्रह « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८० चैत

अर्थ राजनीति

बालबालिकाको शिक्षामा ध्यान दिन अभिभावकहरुसँग अर्थमन्त्री डा. महतको आग्रह



नुवाकोट । बालबालिकाको शिक्षामा ध्यान दिन अभिभावकहरुलाई मन्त्री डा प्रकाशशरण महतले आग्रह गरेका छन् । नुवाकोट दुप्चेश्वर -२ गाउँखर्कस्थित वीरेन्द्र माध्यमिक विद्यालयको ३५ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै अर्थमन्त्री डा महतले यस्ताे आग्रह गरेका हुन् ।

उनले भने, ‘सम्पत्ति त क्षति हुनसक्छ, तर पढेको कुरा कसैले खोस्न सक्दैन । सिप छ, पढाइलेखाइ छ भने जहाँ गएर पनि आम्दानी गर्न सकिन्छ । रोजगारी प्राप्त गर्न सकिन्छ । त्यसकारण पढाइलाई प्राथमिकता राख्न म अभिभावकहरुसँग अनुरोध गर्छु ।’

बालबालिकालाई घरमा पनि पढ्ने वातावरण बनाइदिन मन्त्री डा महतले अभिभावकहरुसँग अनुरोध गरे । उनले स्कुलमा शिक्षक साथीहरुले मेहनत गरेर पढाइ दिन आग्रह गर्दै भने, ‘कम्प्युटर शिक्षा विद्यार्थीलाई सानैबाट दिनुपर्छ । इन्टरनेट र कम्प्युटर भयो भने विद्यार्थीले धेरै कुरा सिक्न सक्छन् । शिक्षक पनि कम्युटरबाट पढाउन दक्ष्य हुनुपर्छ ।’

‘शिक्षा भयो भने थोरै सम्पत्ति छ भने पनि डर हुँदैन । पढेको, सिप सिकेका मान्छे जहाँ पनि रोजगार हुन्छ । नयाँ पिढींलाई शिक्षा अनिवार्यरुपमा दिनुपर्छ’ कार्यक्रममा मन्त्री डा महतले भने।

‘त्रिशुलीबाट नुवाकोट जिल्लाको सदरमुकाम जोड्ने बाटो अपुरो नै थियो, समुन्द्रटारबाट अगाडि कच्ची बाटो भएको पक्की बनाउन प्रस्ताव गरेको छु । यो बाटो निर्माणका लागि एक अर्ब २० करोड रुपैयाँ विनियोजन भएको छ । त्यसको ठेक्का प्रकृया केही दिनमा सुरु हुन्छ’ मन्त्री डा महतले भने, ‘यो बाटो निर्माणपछि सदरमुकाम जान धेरै सहज हुनेछ । काठमाडौं जानका लागि सुन्दरीजल हुँदै गोल्फु भन्ज्याङ जोड्ने बाटो त्यत्तिकै महत्वपूर्ण छ ।’

‘केन्द्र र प्रदेश सरकारले सल्लाह गरेर पार्टी भन्ज्याङबाट गोल्फु भन्ज्याङ जोड्ने बाटोलाई राम्रो बनाउनका लागि बजेटसमेत राखेर पहल हुनेछ । यो सडक राम्रो भएपछि काठमाडौं आवतजावत सहज हुनेछ । पुलको पनि डिपिआर निर्माण हुँदैछ’ मन्त्री डा महतले भने ।

‘धेरै जग्गा जमिन नभएका यहाँ रोजगारीको सम्भावना न्यून छ । कृषिबाट बढी उत्पादन गर्नेतर्फ हाम्रो ध्यान जानेछ । सँगसँगै शिक्षा र स्वास्थ्यमा हामीले लगानी वृद्धि गर्नुपर्नेछ । जनताको आवश्यकता पूर्ति गर्नेतर्फ सरकारको ध्यान जानेछ’ मन्त्री डा महतले भने, ‘महिला सशक्तिकरण, आयआर्जन वृद्धि गर्ने, जेष्ठ नागरिकको सम्मान, आदिवासी जनजातिको जीवनस्तर उठाउने काममा सरकारको विशेष ध्यान जानेछ ।’

प्रकाशित : २२ माघ २०८०, सोमबार १७:११