ओटिसि बजारमा दुई अर्ब ३४ करोडकाे काराेबार, काठमाडौं फरेस्टी कलेजको मूल्य सबैभन्दा महङ्गो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

ओटिसि बजारमा दुई अर्ब ३४ करोडकाे काराेबार, काठमाडौं फरेस्टी कलेजको मूल्य सबैभन्दा महङ्गो



काठमाडौं । चालु आर्थिक वर्षमा ओभर द काउन्टर (ओटिसि) बजारमा दुई अर्ब ३४ करोड ७१ लाख ७६ हजार रुपैंया बराबरको सेयर किनबेच भएको छ । चालु आर्थिक वर्षको पहिलो छ महिनामा उक्त रकम बराबरको सेयर कारोबार भएको हो।

ओटिसी मार्फत चालू आवको दोस्रो त्रैमासमा मात्रै ६३ करोड ६५ लाख सात हजार रुपैयाँ बराबरको कारोबार भएको छ । २४ कम्पनीको प्रतिसेयर एक सय रुपैयाँदेखि एक हजार ८५.५ का दरले ५९ लाख ६७ हजार कित्ता सेयर किनबेच भएको छ ।

पहिलो त्रैमासमा यस मार्फत एक करोड ३६ लाख ७२ हजार कित्ता सेयर एक अर्ब ७१ करोड छ लाख ६८ हजार रुपैयाँमा किनबेच भएको थियो । दोस्रो त्रैमासमा सबैभन्दा बढी नेपाल हस्पिट्यालिटी एन्ड होटेलको प्रतिकित्ता एक सयका दरले २५ लाख ४४ हजार ५२० कित्ता सेयर किनबेच हुँदा दुई करोड ५४ लाख ४५ हजार रुपैयाँको कारोबार भएको छ।

त्यस्तै, चितवन फुड इन्डस्ट्री, हिलटन हाइड्रो र स्नोरिभर कम्पनीको पाँच करोड रुपैयाँको कारोबार भएको छ । उक्त कम्पनीको प्रतिकित्ता सय रुपैयाँका दरले पाँच लाख कित्ता सेयर किनबेच भएको हो । त्यस्तै, काठमाडौं फरेस्टी कलेजको सेयर मूल्य सबैभन्दा महङ्गो प्रतिकित्ता एक हजार ८५.५ रुपैंयाका दरले पाच सय कित्ता सेयर किनबेच हुदाँ पाचँ लाख ४२ हजार रुपैंयाको कारोबार भएको छ।

यस्तै मेडिकेयर हस्पिटलको २१ लाख ३३ हजार ९५९ रुपैयाँको १३ हजार ४८९ कित्ता सेयर प्रतिकित्ता १५८.२० पैसामा तथा सात लाख ९६ हजार ६०० रुपैयाँ बराबरको सात हजार ९६६ कित्ता सेयर १०० रुपैयाँमा किनबेच भएको छ । अन्नपूर्ण केबलकारको दुई लाख ३९ हजार ६०८ कित्ता सेयर प्रतिकित्ता १५० रुपैयाँका दरले तीन करोड ३९ लाख ४१ हजार २०० रुपैयाँमा किनबेच भएको छ ।

यसैगरी सिन सीड सर्भिस सेन्टरको २४५ कित्ताका दरले १६ हजार कित्ता तथा २४० रुपैयाँका दरमा छ हजार ८४८ कित्ता सेयर किनबेच भएको हो । डियर वाक ग्रुपको प्रतिकित्ता २५० रुपैयाँका दरले २६ हजार ५०० कित्ता सेयर ६६ लाख २५ हजार रुपैयाँमा, त्रिशक्ति सेक्युरेटिज पब्लिक लिमिटेडको प्रतिकित्ता १२० रुपैयाँका दरले आठ लाख ४९ हजार ८८० कित्ता सेयर १० करोड १९ लाख ८५ हजार ६०० रुपैयाँमा खरिद बिक्री भएको छ ।

बुक बिल्डिङ्गबाट आईपीओ ल्याउने तयारीमा रहेको जगदम्बा स्पिनिङ्ग मिल्सको ९० हजार कित्ता सेयर प्रतिकित्ता ११८ रुपैयाँका दरले किनबेच भएको छ ।

के हो त ओटीसी बजार ?

ओभर द काउन्टर (ओटीसी) बजार भन्नाले पब्लिक कम्पनीको रुपमा संस्थापना भएका तर नेप्सेमा सूचीकरण हुन नसकेका तथा सूचीकरण खारेजी भएका कम्पनीहरूको सेयर कारोबार हुने बजार नै ओटीसी बजार हो। सूचीकरण खारेजी भएका कम्पनीको सेयर किनबेच हुने व्यवस्था नभइरहेको अवस्थामा नेप्सेले पहिलोपटक ०६५ जेठमा ‘ओटिसी बजार नियमावली, २०६५’ ल्याएको हो । उक्त विनियमावलीअनुसार नेप्सेले स्वचालित कारोबारबाहेक छुट्टै काउन्टर खोली खरिदकर्ता र बिक्रीकर्ताको सीधै सम्पर्कबाट कारोबार गर्दै आएको छ।

नेप्सेमा कम्पनी दर्ता गर्नका लागि शुल्क तिर्नु पर्दैन। तर सेयर खरिद बिक्री भएको अवस्थामा भने नेपाल धितोपत्र बोर्ड र धितोपत्र बजारलाई निश्चित शुल्क बुझाउनु पर्ने व्यवस्था रहेको नेप्सेले बताएको छ। यसरी कारोबार गर्दा सेयर खरिदकर्ताले २५ हजारसम्मका लागि ०.२ प्रतिशत, २५ हजार देखि ५० हजारसम्म ०.१८ प्रतिशत र ५० हजारभन्दा धेरै रकमको कारोबार गर्दा ०.१५ प्रतिशत धितोपत्र बजारलाई शुल्क बुझाउनु पर्ने नेप्सले जानकारी दिएको छ। यो मार्केटमा दलालविना नै शुक्रबार र सार्वजनिक बिदाका दिनबाहेक बिहान ११ बजेदेखि अपराह्न १ बजेसम्म नेप्सेमा कारोबार हुन्छ । हालसम्म ओटीसी बजारमा २२६ कम्पनी दर्ता भई कारोबारमा रहेको छ ।

ओटीसी बजारमा कारोबार हुने प्रक्रिया

ओटीसी बजारमा दर्ता भएका सेयर कारोबार गर्दा बिक्रीकर्ताले बेच्न चाहेको कम्पनीको सेयर बिक्रीका लागि आदेश तथा सम्बन्धित कम्पनीबाट दस्तखत प्रमाणित गराई आवश्यक कागजपत्रसहित ओटिसी बजारमा बुझाउनु पर्छ। आदेशलाई ओटिसी बजारले क्रम संख्याअनुसार दर्ता गरी राख्दछ । सेयर लगानीकर्ताले पनि खरिद गर्न लागेको कम्पनीको सेयर खरिद आदेश भरेर ओटीसी बजारमा दर्ता गराउनुपर्दछ। ओटीसीमा प्राप्त भएका खरिद-बिक्री आदेशका आधारमा दर्ता, क्रम तथा मूल्यलाई आधार मानेर मूल्य तथा धितोपत्रको संख्या बढाबढ वा घटाघट गर्ने गरिन्छ। लगानीकर्ता र बिक्रीकर्ता बीचको मूल्य र संख्या समायोजन भएमा कारोबार प्रक्रिया अगाडी बढाइन्छ।

दर्ता गर्दा चाहिने कागजात

ओटीसी बजारमा कारोबार गर्नका लागि कम्पनी संचालनमा रहेको अन्तिम वर्षको वित्तीय विवरण चाहिन्छ। साथै, सूचिकरणका शर्तहरू पूरा नभएका वा सूचीकरण प्रकृयामा नआएका कम्पनीको हकमा आगामी ३ वर्षको प्रक्षेपित वासलात तथा नाफा नोक्सान हिसाबको विवरण,कम्पनीको संचालकहरुको नाम, ठेगाना र उनीहरूले ग्रहण गरेको धितोपत्र संख्या, कम्पनीको दतां प्रमाणपत्र, कम्पनीको उद्देश्य तथा काम कारवाही देखिने कागजात, धितोपत्र प्रमाणपत्रको नमुना लगाएतका कागजपत्र बुझाउनु पर्ने हुन्छ ।

साथै, कर कार्यालय तथा अन्य निकायहरुमा दता भएको प्रमाणपत्रको प्रतिलिपि, व्यवसाय पुनः संचालन गर्न निर्णय वा संचालनमा रहेको व्यवसायको धितोपत्र यस धितोपत्र बजार मार्फत कारोबार गराउने सम्बन्धमा संचालक समितिले गरेको निर्णय, कम्पतीको प्रबन्धपत्र तथा नियमावली र धितोपत्र धनीहरुको विवरण पनि चाहिने हुन्छ ।

राफसाफ प्रक्रिया

सेयर खरिदकर्ताले दाखिल खारेजका लागि खारेजपत्रसँगै खरिद गरेको सेयर र बिक्रीकर्ताले सेयरको प्रमाणपत्र ओटीसी बजारमा कारोबार गरेको तीनभित्र पेश गर्नुपर्दछ। तोकिएको कागजपत्र प्राप्त भएपछि ओटीसी बजारले कागजात र रकम भिडाइ राफसाफ गर्ने गर्दछ।

प्रकाशित : २३ माघ २०८०, मंगलवार ११:२८