भिजिट भिसामा विदेश जान नयाँ नियम लागु, के–के चाहिन्छ कागजात ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

भिजिट भिसामा विदेश जान नयाँ नियम लागु, के–के चाहिन्छ कागजात ?



काठमाडौं । भिजिट भिसामा विदेश जानेका लागि माघ १० गते बुधबार देखि नयाँ नियम लागू भएको छ । सरकारले भिजिट भिसामा गएकाहरू ठगिने, नक्कली कागजात बनाएर भिजिट भिसामा विदेश जाने क्रम बढेपछि अध्यागमनले यसलाई थप कडाइ गर्दै नयाँ निमय लागु गरेको हो।

नयाँ नियम अनुसार यात्रा अनुमति पाउन कम्तीमा ६ महिनाको वैध अवधि भएको राहदानी हुनुपर्नेछ । यस्तै, भ्रमण अवधिभर होटल बुकिङ गरेको प्रमाण वा होटल बुकिङ नभई आफन्तसँग रहने भएमा एकाघरका तीन पुस्ताभित्रको नाता खुल्ने नागरिकता प्रमाणपत्र वा अन्य कुनै प्रमाणपत्र पनि साथमा राख्नुपर्नेछ ।

भ्रमणको सम्पूर्ण खर्च बेहोर्ने सरकारी तथा गैरसकारी संस्थाको निमन्त्रणा पत्र वा सो नभएमा कम्तीमा ५ सय अमेरिकी डलर बराबरको नगद सटही भएको प्रमाण नगद वा डेबिट र क्रेडिट कार्ड पनि हुनुपर्नेछ ।

त्यस्तै, युएई, बहराइन, कुवेत, कतार, ओमान र साउदी अरेबियामा भिजिट भिसामा भ्रमण गर्दा अनुसूची २ बमोजिम स्व घोषणा गर्नुपर्ने र त्यसमा भएको विवरणको प्रमाणको भार सम्बन्धित व्यक्तिमै रहने अध्यागमन विभागले जनाएको छ।

अध्यागमनले भिजिट भिसामा जानेले समयमै स्वदेश फर्किन्छु भनेर स्वघोषणा गर्नुपर्ने पनि भनेको छ। ‘भिजिट भिसामा गएका नेपालीहरू उल्लेखित मितिमा फर्केने गरेको नपाइएकाले असामान्य परिस्थितिबाहेक अन्य अवस्थामा तोकिएको मितिभित्र स्वदेश फर्कनु होला,’ सूचनामा भनिएको छ, ‘अन्यथा यसबाट सिर्जना हुने अवस्थाका सम्बन्धमा व्यक्ति स्वयं जिम्मेवार हुने हुनाले समयमै स्वदेश फर्कनेछु भनी स्वस्घोषणा गरेर मात्र प्रस्थान गर्नुहुन अनुरोध गरिन्छ।’

प्रकाशित : १० माघ २०८०, बुधबार १४:४३