बुक बिल्डिङ विधिमार्फत रिलायन्स स्पिनिङ मिल्सकाे आइपीओ निष्काशन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

बुक बिल्डिङ विधिमार्फत रिलायन्स स्पिनिङ मिल्सकाे आइपीओ निष्काशन



काठमाडौं । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले आज देखि बुक बिल्डिङ विधिमार्फत आइपीओ निष्काशन गरेको छ । यस कम्पनीले पहिलो चरणमा योग्य संस्थागत लगानीकर्तालाई सेयर बोलकबोल खुला गरेको हो ।

कम्पनीले जारी पुँजी एक अर्ब ९० करोड रुपैयाँको १०.१४ प्रतिशतले हुने १९ करोड २६ लाख ६० हजार रुपैयाँ बराबरको १९ लाख २६ हजार ६०० कित्ता सेयर जारी गर्न अनुमति पाएको छ । जसमध्ये ४० प्रतिशत अर्थात सात लाख ७० हजार ६४० कित्ता सेयर पहिलो चरणमा संस्थागत लगानीकर्ताका लागि बोलकबोल खुला गरेको हो ।

बोलकबोलमा प्रतिकित्ता ६०८ रुपैयाँदेखि ९१२ रुपैयाँसम्म बिक्री मूल्य ताेकिएकाे छ । संस्थागत लगानीकर्ताले सोही सीमाभित्र रहेर बोलपत्र पेश गर्नुपर्ने कम्पनीले जनाएको छ । संस्थागत लगानीकर्ताले बोलपत्र पेश गर्ने अन्तिम मिति माघ १४ गते तोकिएको छ ।

उक्त मितिको भोलिपल्ट संस्थागत लगानीकर्ताहरुलाई निष्कासित सेयर पूर्णरुपमा बिक्री हुने गरी प्राप्त बोलकबोलको ‘कट अफ प्राइस’ मूल्य निकालिने कम्पनीले जानकारी गराएको छ । कट अफ प्राइस वा सोभन्दा बढी मूल्यमा कबोल गर्ने सबै आवेदनकलाई माग बमोजिमको धितोपत्र कट अफ प्राइसमा बाँडफाँट हुनेछ ।

उक्त कट अफ प्राइस भन्दा १० प्रतिशत मूल्य घटाएर दोस्रो रचणमा सर्वसाधारणलाई सेयर जारी हुन्छ । यसमा ग्लोबल आइएमई क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

प्रकाशित : १० माघ २०८०, बुधबार १०:५०