अर्थतन्त्र संकुचित हुँदा वाणिज्य बैंकको नाफा ९‍.९४ प्रतिशतले घट्यो, ६ महिनामा २८ अर्ब ७६ करोड नाफा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८० चैत

बैंक / वित्त

अर्थतन्त्र संकुचित हुँदा वाणिज्य बैंकको नाफा ९‍.९४ प्रतिशतले घट्यो, ६ महिनामा २८ अर्ब ७६ करोड नाफा



काठमाडौं । आर्थिक गतिविधिमा देखिएको सुस्तीको प्रत्यक्ष असर पछिल्लो समय बाणिज्य बैंकहरुको वित्तीय विवरणमा देखिएको छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्मको वित्तीय अवस्थाअनुसार बाणिज्य बैंकहरुको नाफा उल्लेख्य घटेको छ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा २० वाणिज्य बैंकको खुद नाफा ९‍.९४ प्रतिशतले घटेको हाे । यसअवधिमा बैंकहरुले २८ अर्ब ७६ करोड ५२ लाख ४० हजार रुपैयाँ खुद नाफा कमाएका छन् । अघिल्लो वर्षको यसैअवधिमा वाणिज्य बैंकले ३१ अर्ब ९४ करोड २३ लाख ३९ हजार रुपैयाँ नाफा कमाएका थिए । एक वर्षको अवधिमा अधिकांश बैंकको खुद नाफा घटेको छ । विवरण अनुुसार बैंकहरुको खराब कर्जा बढ्दा पनि खुद नाफामा दबाब परेको देखिन्छ ।

यता, बैंकहरु भने आर्थिक मन्दीको असर आफ्नो आम्दानीमा परेको बताउछन् । आर्थिक गतिविधि खुम्चिएको असर एकातिर ऋण विस्तार हुन सकेको छैन भने अर्कातिर यसअघि दिएको ऋण उद्योगी व्यवसायीले समयमै तिर्न सकेका छैनन्। यसैको असर आफूहरुको कमाइमा परेको उनीहरुको भनाई छ ।

यस अवधिमा २० वाणिज्य बैंकमध्ये १७ बैंकको नाफा घटेको छ भने तीन बैंकको मात्रै नाफा बढेको छ । जसमा सबैभन्दा धेरै नाफा कमाउनेमा नबिल बैंक रहेको छ । यस अवधिमा नबिलले तीन अर्ब २० करोड ३० लाख ७९ हजार रुपैयाँ नाफा कमाएङ्काे छ । धेरै नाफा आर्जन गर्नेमा दोस्रो स्थानमा प्राइम बैंक रहेको छ । प्राइमले दुई अर्ब १८ करोड २९ लाख २७ हजार रुपैयाँ रहेको छ । तेस्रो स्थानमा ग्लोबल आइएमई बैंक रहेको छ । ग्लोबलले दुई अर्ब चार करोड २३ लाख २९ हजार रुपैयाँ रहेको छ । चौथो स्थानमा राष्ट्रिय वाणिज्य बैंक रहेको छ । वाणिज्यले दुई अर्ब एक करोड ५३ लाख ८८ हजार रुपैयाँ रहेको छ ।

धेरै नाफा कमाउने बैंकहरुको सूचीमा कुल एक अर्ब ८० करोडसहित नेपाल इन्भेष्टमेन्ट मेगा छैठौं, एक अर्ब ७२ करोडसहित स्ट्याण्डर्ड चार्टर्ड सातौं, ७.८८ प्रतिशतले नाफा बढाएर एक अर्ब ७१ करोडसहित एभरेष्ट बैंक आठौं, ५७.५३ प्रतिशले बढेर एक अर्ब ५० करोडसहित हिमालयन बैंक नवौं र एक अर्ब ३७ करोडसहित एनएमबी बैंक १० नम्बरमा रहेका छन् । एनआईसी एशियाले पनि एक अर्ब ९० करोड नाफा आर्जन गरेको छ।

यस्तै गत आवको दोस्रो त्रैमासमा घाटामा रहेको कृषि विकास बैंक यो पटक भने नाफामा गएको छ । गत आवको दोस्रो त्रैमासमा १२ करोड ८९ लाख ३३ हजार रुपैयाँ ऋणात्मक रहेको कृषि विकास बैंक अहिले १ अर्ब ३५ करोड ५२ लाख ७५ हजार रुपैयाँ नाफा कमाएको छ।

यसरी बैंकहरुको नाफा घट्नु अर्थतन्त्र अझै सुस्त छ भन्ने बुझिने राष्ट्र बै‌कका एक अधिकारी बताउछन् । उनका अनुसार अर्थतन्त्र राम्रो भयो भने उत्पादन लगाएतका क्रियाकलाप बढ्छ । आम्दानी बढ्यो भने बैंकिङ गतिविधि बढ्ने र नाफामा सुधार हुन्छ।

उनले भने, ‘आयमा कम हुने, बैंकमा उत्पादन कमी हुने, रोजगारी घट्ने जस्ता कारणले आर्थिक गतिविधि सुस्त हुनेर त्यसको असर बैंकमा देखिन्छ । विगतमा भुकम्प, कोरोना जस्ता महामारीले बैंक लगायत अर्थतन्त्रमा मन्दि आएको छ । जसले गर्दा बैंकहरुले जुन हिसाबमा माथि उठ्नुपर्ने हो । त्यो हिसाबको प्राप्त गर्न सकिरहेको छैनन् ।’

बैंकहरुको पछिल्लो वित्तिय विवरण सबैको नराम्रो आएका छैनन् । केही बैंकको विवरण खराब आउदैमा त्यति आत्तिहाल्नुपर्ने स्थिती नरहेको उनी बताउछन् ।

उनले भने, ‘राष्ट्र बैंकको तर्फबाट हेर्दा समष्टिगत आर्थिक स्थायित्वमा ध्यान दिनुपर्ने भएकाले स्थायित्वका साथै आर्थिक गतिविधि बढाउन विस्तारकारी निति बनाउनुपर्ने हुन्छ । जसलेगर्दा आगामी दिनमा उत्पादन, आर्थिक क्रियाकलापहरु बढ्दै जाने र बैंकिङ क्षेत्रको गतिविधि सूधार आउने छ ।’

प्रकाशित : ७ माघ २०८०, आईतवार १३:२३