वाणिज्य बैंकहरुले कमाए पाँच महिनामा २८ अर्बभन्दा माथि, नबिल र ग्लोबल अग्रस्थानमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

वाणिज्य बैंकहरुले कमाए पाँच महिनामा २८ अर्बभन्दा माथि, नबिल र ग्लोबल अग्रस्थानमा



काठमाडौं । चालु आर्थिक वर्षको ५ महिनामा वाणिज्य बैंकहरुले २८ अर्ब बढी खुद नाफा आर्जन गरेका छन् । चालु आर्थिक वर्षको साउनदेखि मसिंरसम्म वाणिज्य बैंकहरुले कुल २८ अर्ब ३६ करोड ७८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका हुन् ।

यो अवधिमा १४ वटा वाणिज्य बैंकहरुले अर्ब बढी खुद नाफा आर्जन गरेका छन् । समीक्षा अवधिमा सबैभन्दा धेरै नाफा नबिल बैङ्कले कमाएको छ । पाँच महिनामा बैङ्कले २ अर्ब ९६ करोड ९३ लाख रुपैयाँ नाफा कमाएको हो । गत कात्तिकको तुलनामा बैङ्कले ७९ करोड ९६ लाख रुपैयाँ बढी नाफा कमाएको छ ।

नाफाका आधारमा ग्लोबल आइएमई बैङ्क भने दोस्रो सूचीमा छ । बैङ्कले २ अर्ब ७३ करोड ७९ लाख रुपैयाँ पाँच महिनामा कमाएको छ । मङ्सिरमा मात्रै बैङ्कले ७९ अर्ब ९ लाख रुपैयाँ नाफा कमाएको हो ।

तेस्रो सूचीमा रहेको नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्कले पनि २ अर्ब ६० करोड ९० लाख रुपैयाँ बराबरको नाफा गरेको छ । बैङ्कले पनि एक महिनामै थप ७४ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको हो ।

गत कात्तिकसम्ममा ऋणात्मक रहेको कृषि विकास बैङ्क पनि मङ्सिरमा नाफामा देखिएको छ । गत कात्तिकसम्म कृषि विकास २७ करोड ८८ लाख रुपैयाँ नोक्सानीमा थियो । तर, मङ्सिरमा भने बैङ्कले १२ करोड ५० लाख रुपैयाँ नाफा कमाएको छ।

नाफाकै आधारमा एनआइसी एसियालाई प्राइम बैङ्कले उछिनेको छ । पाँच महिनामा प्राइम बैङ्कले १ अर्ब ९२ करोड ८९ लाख रुपैयाँ नाफा कमाएको छ । तर, एनआईसी एसियाले भने १ अर्ब ८५ करोड १ लाख रुपैयाँ नाफा कमाएका छ । यता, हिमालयन बैङ्कले पनि १ अर्ब ८० करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

समीक्षा अवधिमा प्रभु बैङ्कले १ अर्ब ४९ करोड ४५ लाख, एनएमबि बैङ्कले १ अर्ब ४५ करोड १३ लाख, एभेष्टले १ अर्ब ४० करोड ३२ लाख, सानिमाले १ अर्ब ७ करोड ६३ लाख, राष्ट्रिय वाणिज्य बैङ्कले १ अर्ब ४१ करोड १ लाख, स्ट्याण्डर्ड चार्टर्डले १ अर्ब २५ करोड ६० लाख, कुमारीले १ अर्ब ३० करोड १५ लाख रुपैयाँ र नेपाल बैङ्कले १ अर्ब २१ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएका छन् ।

यस्तै, पाँच महिनामा सबैभन्दा कम नाफा गर्ने अर्थात, खुद नाफा १ अर्ब भन्दा कम हुनेमा लक्ष्मी सनराइज बैङ्ककाे ८९ करोड ८० लाख रुपैयाँ, सिद्धार्थ बैङ्ककाे ६२ करोड ३८ लाख, सिटिजनकाे ७४ करोड ३५ लाख, नेपाल एसबिआइकाे ७० करोड ८० लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।

प्रकाशित : २९ पुष २०८०, आईतवार १८:१३