राष्ट्रिय सभा निर्वाचनका लागि आचार संहिता जारी, मंगलबारदेखि लागू हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८० चैत

अर्थ राजनीति

राष्ट्रिय सभा निर्वाचनका लागि आचार संहिता जारी, मंगलबारदेखि लागू हुने



काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आचार संहिता जारी गरेको छ। आचार संहिता मंगलबारदेखि लागू गर्ने आयोगले जनाएको छ। आयोगको आइतबार बसेको बैठकले माघ २ गतेदेखि १२ गतेसम्म आचार संहिता जारी गर्ने निर्णय गरेको हो।

यो अवधिमा कुनै सार्वजनिक स्रोत साधान र सम्पत्ति दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रयोग गर्न नपाइने आयोगले जनाएको छ। सरकारी वा सार्वजनिक संस्था वा शैक्षिक संस्था प्रयोग गरेर निर्वाचन सम्बन्धी भेला वा प्रचार गर्न पनि नपाइने आयोगले आइतबार जारी गरेको सूचनामा जनाइएको छ।

आयोगका अनुसार आचार संहिताले कुनै दल वा उम्मेदवारको निर्वाचन चिह्न भएको सामग्री उत्पादन तथा प्रयोग गर्न समेत रोक लगाइएको छ।

निर्वाचनलाई प्रभाव पार्ने विद्युतीय सामग्री सामाजिक सञ्जालमा प्रकाशित गर्न वा सेयर गर्न समेत हुँदैन। केन्द्र, प्रदेश र स्थानीय कार्यपालिकाका पदाधिकारीले निर्वाचन प्रचार प्रसारमा सहभागी हुँदा सरकारी स्रोत र साधान प्रयोग गर्न पाउने छैनन्,’ आयोगले भनेको छ।

यसैगरी निर्वाचन प्रचार प्रसारमा संलग्न हुने नेपाल सरकार वा प्रदेश सरकारको मन्त्री वा स्थानीय कार्यपालिकाका पदाधिकारीले आयोगको अनुमति लिई निर्वाचन प्रचार प्रसारमा संलग्न हुँदा सरकारी स्रोत र साधनको प्रयोग गर्न नहुने आयोगले जनाएको छ।

मतदान हुने दिनको अघिल्लो अठचालिस घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म कुनै पनि प्रकारका अन्तर्क्रिया, सम्मेलन, कार्यशाला, गोष्ठी वा निर्वाचनसँग सम्बन्धित छलफल वा सामूहिक मस्तिष्क मन्थन आदि गर्न नहुने समेत व्यवस्था रहेको छ। राष्ट्रिय सभाका १९ सिटका लागि ११ माघमा निर्वाचन हुँदैछ।

प्रकाशित : २९ पुष २०८०, आईतवार १७:००