चालु खाता १ खर्ब ४० अर्ब बचतमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

चालु खाता १ खर्ब ४० अर्ब बचतमा



काठमाडौं । सरकारको चालु खाता १४० अर्ब २३ करोड रुपैयाँले बचतमा पुगेको छ । गत वर्षको मंसिरमा ४१ अर्ब २१ करोड रुपैयाँले घाटामा रहेको चालु खाता यो वर्षको मंसिरमा १४० अर्ब २३ करोड रुपैयाँ बचतमा पुगेको हो ।

राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३२ करोड २२ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब ५ करोडले बचतमा रहेको छ ।

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर १७.२ प्रतिशतले कमी आई २ अर्ब ८७ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ३ अर्ब ९२ करोडले धनात्मक रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ३ अर्ब ४७ करोड कायम भएको थियो भने खुद प्रत्यक्ष वैदेशिक लगानी ६० करोड ४९ लाखले धनात्मक थियो ।

समीक्षा अवधिमा शोधनान्तर स्थिति २१० अर्ब ५९ करोडले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ४५ अर्ब ८६ करोड रुपैयाँले बचतमा रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३४ करोड ६८ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब ५८ करोडले बचतमा छ ।

प्रकाशित : २६ पुष २०८०, बिहीबार १८:२३