बैंकिङ क्षेत्रको कुल ऋण लगानी ५० खर्ब ४२ अर्ब पुग्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

बैंकिङ क्षेत्रको कुल ऋण लगानी ५० खर्ब ४२ अर्ब पुग्यो



काठमाडौं । बैंक तथा वित्तीय संस्थामा निक्षेपको आकार घट्दै गएको छ। नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार पुस २४ गते बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ६० खर्ब ८५ अर्ब पुगेको हो ।उक्त रकम पुस २२ गते अर्थात् जनवरी ७ मा यस्तो निक्षेप ६० खर्ब ८९ अर्ब रुपैयाँ हारहारी थियो । दुई दिनमा चार अर्ब निक्षेप संकलन घटेको हो ।

यसैगरी समीक्षा अवधिमा कर्जा लगानी भने छ अर्ब रुपैयाँले बढेर बैंक तथा वित्तीय संस्थाहरुले कूल ५० खर्ब ४२ अर्ब रुपैयाँ लगानी गरेका छन् । पुस २२ गते यस्तो कर्जा लगानी ५० खर्ब ३६ अर्ब रुपैयाँ गरेका थिए। पुस २४ गतेसम्ममा २० वटा वाणिज्य बैंकहरुले ५३ खर्ब ८५ अर्ब निक्षेप संकलन गर्दै ४४ खर्ब ५७ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।

यसैगरी, पुस २२ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुले कर्जा र निक्षेप अनुपात (सीडी रेसियो) ७९.६ प्रतिशत कायम गरेका छन् । केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत बैंक तथा वित्तीय संस्थाहरुलाई अधिकतम ९० प्रतिशत सीडी रेसियो कायम गर्न निर्देशन गरेको छ । बजारमा कर्जाको माग नहुँदा बैंकहरुले लगानी बढाउन सकेका छैनन् । अर्कोतर्फ केन्द्रीय बैंकले २.५ प्रतिशतको पुरक पुँजीसहित ११.५ प्रतिशत न्यूनतम पुँजी कोष पुर्याउनुपर्ने वाध्यात्मक व्यवस्था गरेका कारणले पनि बैंकहरु लगानी बढाउन सक्ने स्थितिमा छैनन् ।

९० प्रतिशत सिडि रेसियो कायम गर्ने हो भने अहिले चार खर्ब ४३ करोड रुपैयाँबराबरको तरलता बैंक तथा वित्तीय संस्थामा उपलब्ध रहेको छ । यस अवधिमा अन्तर बैंक ब्याजदर २.५७ प्रतिशतको विन्दुमा रहेको छ ।

प्रकाशित : २५ पुष २०८०, बुधबार १४:३२