सहकारी व्यवस्थापन गर्न समिति गठन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थबजार स्टोरी

सहकारी व्यवस्थापन गर्न समिति गठन



काठमाडौं । वाग्मती प्रदेश सरकारले समस्याग्रस्त सहकारी संस्थाहरुको व्यवस्थापनका लागि तीन सदस्यीय समिति गठन गर्ने निर्णय गरेको छ । आइतबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले प्रशान्त अधिकारीको संयोजकत्वमा समस्याग्रस्त सहकारी संस्थाहरुको व्यवस्थापनका लागि समिति गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता, आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार समिति सदस्यहरुमा काठमाडौंका यज्ञनाथ दाहाल र मकवानपुरका यतीराज सापकोटा रहेका छन् । बैठकले कानुन मन्त्रालयको प्रस्तावमा प्रदेशका विभिन्न स्थानमा कारागार र प्रहरी भवन संरचना सुधारका लागि ५ करोड बजेट ५६ लाख रुपैयाँ खर्च गर्न अख्तियारी प्रदान गर्ने निर्णय गरेको छ ।

बैठकले जनचेतनामूलक प्रचार सामग्री निर्माण, प्रसारण तथा वितरण कार्यविधि–२०८०, मौलिक चलचित्र निर्माण तथा प्रवर्द्धनमा सहयोग कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधि–२०८०, द्वन्द्व पीतितका लागि सबलीकरण कार्यक्रम कार्यान्वयन कार्यविधि–२०८०, एक वडा एक कृषि पशुपन्छि तथा मत्स्यजन्य उत्पादन कार्यक्रम कार्यान्वयन कार्यविधि–२०८० समेत स्वीकृत गरेको छ ।

यस्तै बैठकले प्रदेशसभा सदस्य गीता गुरुङको लागि हेयरिङ मेसिन खरिद गर्न स्वीकृति दिएको छ । प्रदेशमा चालू रहेको एक विद्यालय एक नर्स सञ्चालन कार्यविधि दोस्रो संसोधन–२०८०, गर्भवती तथा सुत्केरी अवस्थाका ज्यान जोखिममा परेका महिलाको निःशुल्क हवाई उद्धार सेवासम्बन्धी कार्यविधि–२०८० र दुर्गम क्षेत्र चिकित्सक प्रोत्साहन तथा विस्तारित अस्पताल सेवा सञ्चालनसम्बन्धी कार्यविधि–२०८० स्वीकृत गरिएको छ ।

प्रकाशित : २३ पुष २०८०, सोमबार १५:००