ग्लोबल आईएमई बैंकको लोभलाग्दो छलाङ्गः मर्जर नीतिमा सफल र रोल मोडल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

ग्लोबल आईएमई बैंकको लोभलाग्दो छलाङ्गः मर्जर नीतिमा सफल र रोल मोडल



काठमाडौं । ग्लोबल आइएमई बैंक अहिले नम्बर वान बैंक’ बनेको छ । स्थापनाको छोटो समयमा यो बैंकले लोभलाग्दो प्रगति गरेको छ । विशेष गरी मर्जर प्रक्रियालाई सही व्यवस्थापन गर्दै बैंकले आफूलाई अब्बल बनाउन सफल भएको हो ।

यो संगै बैंकले गत वर्ष बैंक अफ काठमाण्डू (बीओके) लाई गाभेर एकीकृत कारोबार सुरु गरेसँगै पूँजी, निक्षेप, कर्जा, शाखा सञ्जाल लगायतका आधारमा देशकै सबैभन्दा ठूलो बैंक बन्न पुगेको छ।

यो मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो। बैंकले ३५५ शाखा, ३७९ एटिएम, २७४ शाखा रहित बैंकिङ्ग सेवा, ६५ एक्सटेन्सन तथा राजश्व संकलन काउण्टर तथा ३ अन्तर्राष्ट्रिय सम्पर्क/वैदेशिक प्रतिनिधि कार्यालय सहित १,१०० भन्दा बढी सेवा केन्द्रबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

बैंकमा करिब ४ हजार कर्मचारीहरू कार्यरत रहेका छन् । बैंकले करिब ४५ लाखभन्दा बढी ग्राहकलाई प्रत्यक्ष सेवा प्रदान गर्दै आएको छ ।

यस्तो छ बैंकको वित्तीय स्थिति

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ग्लोबल आइएमई बैंकको नाफा १ अर्ब २२ करोड ५७ लाख ५४ हजार रुपैयाँ पुगेको छ। जुन गत आवको अवधिमा बैंकको नाफा १ अर्ब १८ करोड ९५ लाख ४५ हजार रुपैयाँ थियो।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकको ब्यवसाय विस्तार, ब्याज आम्दानी, सञ्चालन खर्च र खुद शुल्क तथा कसिसन आम्दानी वृद्धी भएको छ। साथै सम्पूर्ण नागरिकलाई बैंकिङ पँहुच पुर्‍याउन ग्लोबल आइएमई बैंकले ११०० भन्दा बढी देश तथा विदेशको सेवाकेन्द्रहरूबाट बैंकिङ सेवा प्रवाह गरिरहेको छ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकको खुद ब्याज आम्दानी ४ अर्ब रुपैयाँ पुगेको छ। गत वर्षको यसै अवधिमा बैंकले खुद ब्याज आम्दानी ३ अर्ब २० करोड रुपैयाँ गरेको थियो। यस अवधिमा बैंकको सञ्चालन आम्दानी पनि गत वर्षको तुलनमा ७ करोड रुपैयाँले बढेको छ। गत वर्षको यस अवधिमा बैंकले ३ अर्ब १४ करोड सञ्चालन आम्दानी गरेकोमा चालु आर्थिक वर्षको समीक्षा अवधिमा ३ अर्ब ९ अर्ब ९२ करोड रुपैयाँ गरेको छ।

असोज मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ३२ करोड ३३ लाख रुपैयाँ रहेको छ भने प्रतिसेयर वितरणयोग्य मुनाफा ९ रुपैयाँ ९६ पैसा रहेको छ। ३५ अर्ब ७७ करोड १० लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोषमा २४ अर्ब ४३ करोड रुपैयाँ सञ्चित छ। पछिल्लो तीन महिनामा बैंकको निक्षेप ३.९१ प्रतिशत बढेको छ भने कर्जा ०.२७ प्रतिशत बढेको छ।

सबैभन्दा धेरै कर तिर्ने बैंक

ग्लोबल आईएमई बैंकले नेपालको बैंकिङ इतिहासमै सबैभन्दा धेरै कर तिर्ने बैंक बनेर गत वर्ष इतिहास रचेको छ। बैंकले आर्थिक वर्ष २०७८/७९ मा ३ अर्ब २० करोड रुपैयाँ कर दाखिला गरि नेपाल सरकारबाट सबै भन्दा बढि कर दाखिला गर्नेमा सम्मानित भइसकेको छ। ग्लोबल आइएमई कुल पुँजी तथा चुक्ता पुँजीका आधारमा नेपालको सबैभन्दा ठूलो बैंक बनेको छ।

सबैका लागि बैंक भन्ने नारालाई आत्मसात गरेको यो बैंकले स्थापनाको छोटो समयमै आफूलाई एक उत्कृष्ट, सबल र विश्वसनीय बैंकको रुपमा स्थापित गरिसकेको छ। हाल बैंकको कुल पुँजी ५८ अर्ब ६८ करोड रुपैयाँ छ भने चुक्ता पुँजी ३५ अर्ब ७७ करोड रुपैयाँ छ। बैंकले गत आर्थिक वर्षमा सात अर्ब २५ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो।

बैंकको १२ वर्षे लाभांश इतिहास

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ९ प्रतिशत लाभांश वितरण गरेको छ । बैंकले यस वर्ष १ प्रतिशत बोनस र कर प्रयोजनका लागि ८ प्रतिशत नगद लाभांश दिने भएको छ । बैंकले १२ वर्षको अवधिमा सबैभन्दा धेरै लाभांश आर्थिक वर्ष २०७५/७६ मा बाँडेको थियो । सो वर्ष बैंकले आफ्ना लगानीकर्तालाई २५.५० प्रतिशत लाभांश बाँडेको थियो ।

हरेक वर्ष बोनस शेयरमा जोड दिदै आएको बैंकले सोही वर्ष सबैभन्दा धेरै नगद लाभांश पनि वितरण गरेको थियो । आर्थिक वर्ष २०७५/७६ मा बैंकले १२.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १२.७५ प्रतिशत नै नगद लाभांश वितरण गरेको थियो ।

बैंकले हरेक आर्थिक वर्षमा शेयरधनीहरुलाई नगद लाभांश भन्दा बोनस शेयर धेरै दिँदै आएको छ । यस्तै, बैंकले आर्थिक वर्ष २०६८/७९ मा बोनस र नगद गरी १३ प्रतिशत लाभांश वितरण गरेको थियो । बैंकले यस वर्ष ३ प्रतिशत बोनस र कर प्रयोजनका लागि १० प्रतिशत नगद लाभांश दिएको थियो ।

त्यसैगरी आव २०६९/७० मा बैंकले लगानीकर्तालाई १५ प्रतिशत बोनस शेयर मात्रै दिएको थियो भने आ.व. २०७०/७१ मा पनि आफ्ना लगानीकर्तालाई २५ प्रतिशत लाभांश वितरण गरेको थियो । यस आर्थिक वर्ष बैंकले २१ प्रतिशत बोनस र कर प्रयोजनका लागि ४ प्रतिशत नगद लाभांश वितरण गरेको हो ।

बैंकले आर्थिक वर्ष २०७१/७२ मा लगानीकर्तालाई बोनस शेयरमात्र वितरण गरेको थियो । यस आर्थिक वर्षमा बैंकले आफ्ना लगानीकर्तालाई २३ प्रतिशत लाभांश वितरण गरेको थियो । आव २०७२/७३ मा बैंकले १६ प्रतिशत बोनस शेयर मात्रै दिएको थियो ।

बैंकले आर्थिक वर्ष २०७३/७४ मा लगानीकर्तालाई नगद र बोनस गरी २० प्रतिशत लाभांश वितरण गरेको थियो । यस वर्ष बैंकले १० प्रतिशत बोनस र कर प्रयोजनका लागि १० प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

बैंकले आर्थिक वर्ष २०७४/७५ मा पनि लगानीकर्तालाई १६ प्रतिशतको दरले लाभांश वितरण गरेको छ । आर्थिक वर्ष २०७६/७७ मा १४ प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित २ प्रतिशत नगद लाभांश वितरण गरेको हो ।

बैंकले आर्थिक वर्ष २०७७/७८ मा लगानीकर्तालाई १३.५० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । यस वर्ष बैंकले आफ्ना लगानीकर्तालाई १० प्रतिशत बोनस सेयर, कर प्रयोजनसहित ३.५० प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो ।

त्यसैगरी बैैंकले आव २०७८/७९ मा ३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १०.६ प्रतिशत नगद गरी कुल १३.६ प्रतिशत लाभांश दिएको थियो ।

ग्लोबल आईएमई बैंकको उदय

२०६३ सालमा १८ औं वाणिज्य बैंकको रुपमा स्थापित ग्लोबल आइएमई बैंक १ अर्ब ५० करोड चुक्ता पूँजीसहित स्थापना भएको थियो । यो बैैंकको स्थापनासँगै नेपालमा बैंकहरुको स्थापनाको लहर नै चलेको थियो । २१ वटा बैंक तथा वित्तीय संस्थासँग गाभिएर बनेको अहिले सबैभन्दा ठूलो बैंक बनेको छ । यो बैंकको मर्जरको इतिहास २०६८ माघ २० देखि सुरु भएको थियो ।

बैंकले उक्त समयमा आइएमई फाइनान्सिएल इन्स्ट्यिुटलाई मर्ज गरेको थियो । यो मर्जर बैंक तथा वित्तीय संस्थाहरुमै सबैभन्दा पहिलो मर्जर थियो । उक्त समयमै लर्डबुद्ध फाइनान्सलाई पनि गाभेको थियो । तीन संस्था गाभिएपछि संस्थाको नाम २०६९ असार २५ गतेदेखि ग्लोबल आइएमई रहेर एकीकृत कारोबार भएको थियो ।

त्यसपछि सोसल डेभलपमेन्ट बैंकलाई गाभेको बैंकले यतिमै सीमित रहेन । सोही समयमा गुल्मी विकास बैंक पनि गाभियो । त्यसपछि कमर्स एन्ड ट्रस्ट बैंकलाई गाभेर सन् २०१६ मा दुई संस्था प्यासिफिक डेभलपमेन्ट बैंक र रिलायबल विकास बैंकसँग पनि मर्ज गर्ने प्रक्रिया अगाडि बढायो । ती दुई संस्था पनि बैंकमा मर्ज भए भने रिलायबल बैंकमा त्यसअघि नै कन्जुमर डेभलपमेन्ट बैंकलगायत तीन वटा विकास बैंक मर्ज भइसकेका थिए ।

त्यसपछि हाथवे फाइनान्स पनि ग्लोबल आइएमई बैंकसँग गाभियो । त्यसपछि अर्कोे वाणिज्य बैंक जनता बैंकसँग मर्जर भयो । नेपालको बैंकिङ इतिहासमा यस मर्जरलाई सबैभन्दा ठूलो र सफल मर्जरका रुपमा हेर्ने गरिन्छ । जनता बैंक र ग्लोबल आइएमईले मर्जरपछि ०७६ मंसिर २० बाट एकीकृत कारोबार सुरु गरेका थिए ।

त्यसपछि बैंक अफ काठमाण्डूलाई गाभेपछि नेपालकै ठूलो बैंक बनेको छ । बैंकले भनेको छ ‘मर्जरलाई नै सफल रुपमा व्यवस्थापन गरेका कारण आज अब्बल बैंकका रुपमा ग्लोबल आइएमई बैंक चिनिन थालेको हो । यस कारण पनि ग्लोबल आइएमई बैंकलाई मर्जर नीतिमा सफल र रोल मोडल बैंकको रुपमा मान्न सकिन्छ ।’

प्रकाशित : १७ पुष २०८०, मंगलवार १५:३२