प्रभु समूहले किन्यो सीम टीभी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

Feature News

प्रभु समूहले किन्यो सीम टीभी



काठमाडौं २४ फागुन  । डिजिटल टीभी सेवा प्रदायक सीम टीभीको स्वामित्व प्रभु समूहले खरिद गरेको छ । सीम टीभी नेपालका नाममा कारोबार गर्दै आएको सिम्पल मिडिया नेटवर्कको नेपाली लगानीकर्ताको स्वामित्व प्रभु समूहका अध्यक्ष देवीप्रकाश भट्टचनले खरिद गरेका हुन् ।

सीम टीभीमा ८० प्रतिशत बिदेशी र २० प्रतिशत नेपालीको लगानी थियो । अनालग प्रणालीमा संचालित केवल टेलिभिजनलाई डिजिटल प्रणालीमा लैजान सरकारले समयसीमा तोकेसँगै सिम्पल मिडिया नेटवर्कले मल्टि सर्भिस अपरेटरको लाइसेन्स लिई दुई बर्ष अगाडि कारोबार सुरु गरेको थियो ।

साझेदारहरुबीचको बिबादकाबीच कम्पनी ठूलो नोक्सानीमा गएपछि नेपाली लगानीकर्ताको सेयर प्रभु समूहले किनेको हो । ब्यबस्थापन परिवर्तनसँगै प्रभु समूहका अध्यक्ष देवीप्रकाश भट्टचन सीम टीभीको अध्यक्ष भएका छन् । प्रभु समूहले ब्यबस्थापन जिम्मा लिएसँगै आक्रामक बजार विस्तारको तयारी भइरहेको सीम टीभीका महाप्रबन्धक दक्ष पौडेलले जानकारी दिए ।

‘आन्तरिक समस्याका कारण सीम टीभी बिचमा केही सुस्ताएको थियो, तर अब हामी आएसँगै यसलाई आक्रामक रुपमा लैजाने तयारी गरिरहेका छौं’ महाप्रबन्धक पौडेलले भने-‘नेपाललाई डिजिटलाइजेसन गर्ने प्रक्रियामा सीम टीभी पहिलो नम्बरमा रहने छ ।’

मल्टि सर्भिस अपरेटर भएकाले सीम टीभीले आफै सिधै ग्राहकसँग डील गर्दैन । सीम टीभीले टेलिभिजन च्यानलसँग कन्टेन्ट खरिद गरी मौजुदा केवल अपरेटरसँग साझेदारी गर्दै ग्राहकलाई निःशुल्क सेट टप बक्स बितरण गरी एनालग प्रणालीलाई डिजिटल प्रणालीमा रुपान्तर गर्दछ ।

सीम टीभीका काठमाण्डौ, पोखरा, दाङ, बीरगञ्ज लगायतका स्थानमा करिव तीन लाख ग्राहक रहेको जानकारी दिँदै पौडेलले आगामी एक बर्षमा ७ लाख ग्राहक पुर्‍याउने लक्ष्यसहित काम भइरहेको जानकारी दिए ।

त्यसका लागि मौजुदा केवल अपरेटरको सेवालाई चुस्त बनाउँदै नयाँ अपरेटरलाई समेत सञ्जालमा जोडने र रिचार्ज कार्डलाई सर्वसुलभ बनाउने गृहकार्य भइरहेको उनले बताए ।

टेलिभिजन प्रसारणलाई डिजिटल प्रणालीमा अपग्रेड गर्न सरकारले दिएको समयसीमा अब दुई महिना पनि बाँकी नभएकोले धेरैभन्दा धेरै ग्राहकसम्म पुग्न तिब्ररुपमा काम भइरहेको उनले जानकारी दिए ।

टेलिभिजन केवलमार्फत् नै इन्टरनेटसमेत उपलब्ध गराउने मिल्ने यो प्रबिधिका लागि सीम टीभीले इन्टरनेट सेवा प्रदान गर्ने लाइसेन्ससमेत लिएको छ । छिटै इन्टरनेट सेवासमेत सुरु गर्ने महाप्रबन्धक पौडेलले जानकारी दिए ।

प्रकाशित : २४ फाल्गुन २०७३, मंगलवार ०६:२०