तरकारी फलफूल साकोसमा सेयरधनीलाई १५.५ प्रतिशत लाभांश दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थबजार स्टोरी

तरकारी फलफूल साकोसमा सेयरधनीलाई १५.५ प्रतिशत लाभांश दिने



काठमाडौं। तरकारी फलफूल बचत तथा ऋण सहकारी संस्थाका सेयरधनीले १५.५ प्रतिशत लाभांश पाउने भएका छन्। लाभांश वितरणको प्रस्ताव को २४औँ साधारणसभाले पारित गरेको हो। यो सहकारी कालीमाटी फलफूल तथा तरकारी बजारका व्यापारी–व्यवसायीले संचालन गर्दै आएका हुन्।

२०५६ माघ २१ मा ३० जना सेयर सदस्यले ३१ हजार ९ सय सेयर पुँजी जम्मा गरी सुरु भएको सहकारीमा हाल २४ सयभन्दा बढी सेयर सदस्य छन्। ६ करोड ९५ लाख ५ हजार ३ सय रुपैयाँ सेयर पुँजी रहेको सहकारीमा सदस्यको बचत हाल ४४ करोड ६५ लाख ३२ हजार ३ सय ३४ रुपैयाँ पुगेको छ।

संस्थाका अध्यक्ष दुर्गालाल श्रेष्ठका अनुसार आर्थिक वर्ष २०७९/८० को अन्त्यसम्ममा सहकारीले ४६ करोड १ लाख ९८ हजार ८ सय ४२ रुपैयाँ ऋण लगानी गरेको छ। यस्तै, सोही अवधिमा ३ करोड ५४ लाख ६ हजार २ सय ५४ रुपैयाँ सञ्चालन मुनाफा छ भने १० करोड, ९३ लाख ३४ हजार २ सय ५९ रुपैयाँ जगेडा तथा अन्य कोषमा छुट्याइएको छ। संस्थाको ६६ करोड, ११ लाख, ९२ हजार, तीन सय ५७ रुपैयाँको वासलात छ।

सहकारीले प्रत्येक सदस्यको जीवनसँग सहकारीलाई प्रत्यक्ष जोड्ने उद्देश्य राखेर विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको सहकारीका सचिव हरिकृष्ण धेकेले बताए। सेयर सदस्यका छोराछोरीमध्ये एसइई परीक्षामा उत्कृष्ट अंक ल्याउनेहरूलाई प्रत्येक वर्ष एसइई अवार्ड वितरण गर्ने गरेको छ। २४औँ साधारणसभामा पनि २२ जना बालबालिकालाई अवार्ड वितरण गरिएको व्यवस्थापक सृष्टि श्रेष्ठले जानकारी दिइन्।

सभाको उद्‍घाटन प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले गरेकी थिइन् । पछिल्ला केही समयदेखि सहकारी संस्थाहरू भित्रका विकृतिका समाचार दिनहुँजसो आइरहेको चर्चा गर्दै उनले सबै सहकारी संस्था भने खराब नरहेको बताइन्।

प्रकाशित : १५ पुष २०८०, आईतवार २२:४३