प्रधानमन्त्री प्रचण्डसहित परिवारको ‘भाइरल तस्बिर’को वास्तविकता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ पुस १ देखि प्रकाशित

अर्थ राजनीति

प्रधानमन्त्री प्रचण्डसहित परिवारको ‘भाइरल तस्बिर’को वास्तविकता



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड परिवारसहित हेलिकोप्टर अघिल्तिर खिचिएको एउटा तस्बिर बुधबार अपरान्हदेखि निकै भाइरल भइरहेको छ । परिवारसहित नेपाली सेनाको हेलिकोप्टर शयर गरेको भन्दै प्रधानमन्त्रीको आलोचना भइरहेको छ ।

मंगलबार मात्रै प्रचण्डले आफू नेतृत्वको संयुक्त सरकारको प्रगति विवरण सार्वजनिक गरेका थिए र ८८ पृष्ठ लामो कार्य प्रगति विवरण सार्वजनिक गरेका थिए । सो क्रममा उनले सरकारको कार्यशैली बदलिने घोषणा पनि गरेका थिए ।

सो क्रममा उनले विभिन्न चुनौती र साधनस्रोतको सीमाका बाबजुद सरकारले एक वर्षको छोटो अवधिमै पनि आर्थिक, सामाजिक तथा पूर्वाधार विकास एवं शासकीय सुधार र सामाजिक न्यायका क्षेत्रमा उल्लेखनीय कार्यहरू प्रारम्भ गरेको दाबी गरेको थिए ।

तर त्यसको भोलिपल्टै उनको अस्वभाविक तस्बिर बाहिरिएपछि व्यापक आलोचना भइरहेको छ । सेनाको हेलिकोप्टरमा परिवारसहित घुमघाममा निस्किएको र सरकारको कार्यशैली बदल्ने घोषणाको व्यंग्य भइरहेको छ । सामाजिक संजालमा उक्त तस्बिरसहित प्रयोगकर्ताहरुले आलोचनासहित ब्यग्ंय गरिरहेका छन् । तस्बिर भाइरल भएपछि प्रधानमन्त्री सचिबालयका फोटोग्राफर प्रदीपराज वन्तले बचाउ गरेका छन् ।

उनले लेखेका छन्,‘मिति ११ पौष २०८०, बारपाक सुलिकोट गाउँपालिका ताकुकोट र ज्यामिरेघाट, घ्याल्चोक, गोरखामा आयोजित जनतासँग प्रधानमन्त्री अन्तरक्रिया आौपचारिक कार्यक्रममा सहभागी भएर फर्किने क्रममा प्रधानमन्त्रीले भर्खरै नवविवाहित नातिनिज्वाईँको परिवारलाई भेटेको तथा हेलिप्याडमा विदाई गर्दा मैले कैद गरेको तस्बिर लिएको कुरालाई लिएर अतिरञ्जनापूर्ण ढंगले तस्बिरलाई लिएर अनावश्यक भ्रम नर्छन हार्दिक अनुरोध गर्दछु।’

त्यस्तै वाइसीएलका नेता हरि ढकालले पनि प्रधानमन्त्रीका बचाउ गरेका छन् । उनले लेखेका छन्,‘आज गोरखामा २ वटा कार्यक्रम थिए । दुबै ठाउमा सम्माननीय प्रधानमन्त्री पुग्नुभएको थियो । गन्डकी गाउँपालिकामा जनप्रतिनिधिसंग प्रधानमन्त्री र जनतासंग प्रधानमन्त्री कार्यक्रम थियो । सोहि कार्यक्रममा नातिनीसहित रेग्मी परिवार पनि सहभागि थिए, सोही गाउपालिकाबासि भएको नाताले । उनीहरुले प्रधानमन्त्री काठमान्डौ उड्ने बेला हेलिकप्टरको छेउमै पुगेर सम्झनाको लागि एउटा फोटो खिचौ भने र प्रधानमन्त्रीले खिच्नुभयो । उक्त फोटो राखेर कतिपयले हेलिकप्टर दुरुपयोग गरेर प्रधानमन्त्रीले परिवार घुमाएको भन्न भ्याएछन । कठै बुद्धि । भ्रम नछरौ । प्रत्यक्षदर्शी । म ,’

त्यस्तै पत्रकार चिरिन्जीवि पौड्याल लेख्छन्,‘नवविवाहित नातिनी(ज्वाईं र सन्धीसम्धिनीसितको भेट निजी मामला हुन् । नातिनीज्वाईकै घर छेउमा कार्यक्रम राखिनु पनि संयोग मात्रै होला। तर पार्टीको मामूली कार्यक्रममा राजशी ठाँटसहित सेनाको हेलिकप्टर लिएर पुग्नु राज्यस्रोतको दुरूपयोग र वुर्जुबा आडम्बर हो ।’

यता, कार्यशैली बदल्छु र नगई नहुने बाहेकका कार्यक्रम जान्न भनेको भोलिपल्ट गोरखा पुगेका प्रचण्ड दुईवटा सार्वजनिक कार्यक्रममा सहभागी भएका हुन । पहिलो थियो उनकै निर्वाचन क्षेत्रमा पर्ने बारपाक सुलिकोट गाउँपालिकाको कार्यक्रम । बारपाक सुलिकोट गाउँपालिकाले आयोजना गरेको ‘स्थानीय सरकार र सरोकारवालासँग प्रधानमन्त्री’ कार्यक्रममा उनी पुगेका थिए । त्यसपछि दिउँसो ३ बजे उनी पुगे गोरखाकै गण्डकी गाउँपालिका–९ स्थित घ्याल्चोक ज्यामिरघाटमा ।

प्रकाशित : ११ पुष २०८०, बुधबार २२:२६