नेफ्स्कून सञ्चालक पदका दाबेदार अमरावती बलामी महर्जन को हुन्? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

मुख्य समाचार

नेफ्स्कून सञ्चालक पदका दाबेदार अमरावती बलामी महर्जन को हुन्?



जिल्ला सहकारी संघ लि., काठमाडौंकी सञ्चालक तथा उपासना महिला बचत तथा ऋण सहकारी संस्था लि.की अध्यक्ष अमरावती बलामी महर्जनले आसन्न निर्वाचन सहितको ३२औँ वार्षिक साधारण सभामा नेफ्स्कूनक‍ो सञ्चालक पदमा उम्मेद्वार बन्ने घोषणा गर्नुभएको छ । उहाँले विद्यालय शिक्षा पूरा गरेपछि सहकारी क्षेत्रमा पाइला टेकेसँगै आफूलाई सहकारी क्षेत्रले धेरेै मान, सम्मान र इज्जत दिएकोले त्यसको सम्मान गर्दै सहकारी क्षेत्रलाई थप सम्मानित क्षेत्र बनाउन योगदान पु-याउने उद्देश्यले नेफ्स्कूनको सञ्चालक पदमा उम्मेद्वार बन्न लागेको बताउनुभएको छ । बचत तथा ऋण सहकारी अभियानलाई एकताबद्ध बनाएर यसलाई थप व्यवस्थित र मर्यादित बनाई यसको विकास र प्रवर्दधनमा सक्द‍ो पहल र प्रयत्न गर्न आफू नेफ्सकूनको सञ्चालक पदमा उम्मेद्वार बन्न आवश्यक रहेको उहाँको भनाइ छ ।

वि.सं. २०५६ चैत्र २६ गते कर्मचारीको रुपमा सहकारी अभियानमा प्रवेश गर्नुभएकी महर्जनले विगत १५ वर्षदेखि समुदायमा आधारित रहेर सञ्चालन भइरहेको उपासना महिला बचत तथा ऋण सहकारी संस्था लि., सितापाइला, काठमाडौं कुशलतापूर्वक नेतृत्व गर्दै आउनुभएको छ भने जिल्ला सहकारी संघ लि.,काठमाडौंको दोश्र‍ो पटक सञ्चालक पदको जिम्मेवारी बहन गरिरहनुभएको छ । उहाँले दुई पटक राष्ट्रिय सहकारी बैंक लि.को केन्द्रीय लैंगिक समानता उपसमितिको सदस्य तथा सहकारी सञ्जालहरुको नेतृत्व तहमा समेत रहेर सहकारी क्षेत्रको विकास र प्रवर्द्धनमा योगदान पु-याउदै आउनुभएको छ ।

पछिल्लो समय सहकारीमा देखिएका बेथिति तथा सहकारी विरुद्ध सुनियोजित ढंगबाट भइरहेका अनर्गल प्रचारको विरुद्ध खडा भएर सहकारी क्षेत्रलाई बचाएर यसलाई मर्यादित बनाउनुपर्छ भनेर सक्रिय महर्जन सहकारी मार्फत हुनेखानेसँगै हुँदाखानेको जीवनस्तर माथि उठाउनुपर्छ र सामाजिक, आर्थिक , राजनीतिक तथा सांस्कृतिक क्षेत्रको नेतृत्व तहमा महिलाहरुलाई पु-याउनुपर्छ भन्ने मान्यताका साथ क्रियाशील हुनुहुन्छ । सहकारी क्षेत्रको विकास र प्रवर्द्धनका लागि सक्रिय महर्जन सहकारीलाई सरकारले देशको समृद्धिको आधार बनाएर सहकारी मार्फत उत्पादन र रोजगारी श्रृजना गरी देशबाट आर्थिक मन्दी हटाउनु पर्नेमा ज‍ोड दिदै आउनुभएको छ ।

सहकारीको बारेमा अध्ययन, अनुसन्धान गर्दै आउनुभएकी महर्जन सहकारी प्रशिक्षकको रुपमा पनि क्रियाशील हुनुहुन्छ । सहकारी क्षेत्रमा पु-याएको योगदानकै कारण उहाँ विभिन्न सम्मान तथा पुरस्कारबाट सम्मानित हुनुभएको छ ।

प्रकाशित : ७ पुष २०८०, शनिबार २१:०५