सहकारी क्षेत्रमा विश्वास क्षयीकरण भएको छ, सबै सहकारीले गलत गरेका छैननः रजिस्ट्रार घिमिरे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सहकारी क्षेत्रमा विश्वास क्षयीकरण भएको छ, सबै सहकारीले गलत गरेका छैननः रजिस्ट्रार घिमिरे



काठमाडौं ।
संघीय सहकारी विभागका रजिष्ट्रार पिताम्बर घिमिरेले सहकारी क्षेत्रमा विश्वासको वातावरण बनाउनका लागि राज्य, सहकारी अभियान र आम सरोकारवालाहरु एकतावद्ध भएर अगाडि बढ्नु पर्नेमा जोड दिएका छन्। 
 

राष्ट्रिय सहकारी बैंक लिमिटेडको २० औं वार्षिक साधारणसभा अन्तरगत र शुक्रवार आयोजित एकाई प्रतिनिधिहरुको निर्णय प्रमाणित गर्ने सभामा बोल्दै रजिष्ट्रार घिमिरेले यस्तो बताएका हुन ।


  केही सहकारीहरुको गतिविधिले समग्र सहकारी क्षेत्रमा विश्वास क्षयीकरण भएको छ, सबै सहकारीले गलत गरेका छैनन, सहकारीले सदस्यको आर्थिक सामाजिक क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुका साथै राष्ट्रको आर्थिक अवस्था सुधारमा समेत योगदान गरेको विषयलाई आम जनताका बीचमा लैजानु पर्नेमा उनको जोड थियो । 


  सहकारी क्षेत्रमा देखिएका कमीकमजोरी सुधार गरेर आम समुदायलाई विश्वासको वातावरण बनाउनका लागि सबै सरोकारवालाहरुबीच सहकार्य आवश्यक रहेको उनले बताए ।


सहकारीमा देखिएको समस्याको यथार्थ अवस्था पत्ता लगाउन, समस्या समाधानका लागि गर्न सकिने उपायका बारेमा सरकारले गठन गरेको सहकारी क्षेत्र सुझाव कार्यदलले समग्र प्रतिवेदन दिएको र उक्त प्रतिवेदनको प्रभावकारी कार्यान्वयन हुने प्रतिवद्धता व्यक्त गरे । 
  कार्यदलले दिएको सुझावमा समस्याका पहिचानसंगै तत्काल गर्नु पर्ने काम र दिर्घकालिन योजनाका बारेमा स्पष्टसंग उल्लेख गरिएकोले कार्यदलको सुझाव कार्यान्वयनमा ध्यान दिइएको बताए  । 


  बैंकका अध्यक्ष केबी उप्रेतीले वित्तीय लगायत समग्र क्षेत्रमा देखिएको समस्याका कारण सहकारीले भोग्नु परेका समस्या र सहकारी क्षेत्रमा आएको समस्याका कारण दवावमा परेका सहकारीहरुलाई जोगाएर सहकारीप्रतिको विश्वासको वातावरण बनाउन अभियान र राज्य मिलेर काम गर्नु पर्ने बताए ।

प्रकाशित : ६ पुष २०८०, शुक्रबार १९:१६