‘नेतृत्व चयन प्रणाली’मा अल्मलिएको नेफ्स्कून « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८० चैत

Feature News

‘नेतृत्व चयन प्रणाली’मा अल्मलिएको नेफ्स्कून



काठमाडाैं । बचत तथा ऋण सहकारीहरुको ठूलो छाता संगठन नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) को ३२ औं वार्षिक साधारणसभा यही पुस ७ र ८ मा हुँदै छ। नेफ्स्कुन नेतृत्व छान्ने प्रणाली कस्तो बनाउने भनेर विवादमा अल्मलिएको छ । चार वर्षका लागि छानिने नेतृत्वका लागि अध्यक्षमा दुई जना आकांक्षी प्रतिस्पर्धामा देखिएका छन्। वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल र वर्तमान अध्यक्ष परितोष पौड्याल ।

१९ जना सञ्चालक समितिमा नयाँ नेतृत्वका लागि हुने निर्वाचन अध्यक्षमा दोहोर्याउने र बरिष्ठ उपध्यक्षलाई स्वतः अध्यक्ष नदिने आन्तरिक विवादमा अलमलिएको हो । यतिबेला सञ्चालक समिति र सम्पूर्ण सदस्य नेफ्स्कूनको नेतृत्व चुन्न दुई भागमा बाँडिएका छन् ।

एउटा पक्ष वर्तमान अध्यक्षलाई कुनै पनि हालतमा निरन्तरता दिनुपर्छ भन्ने पक्षमा देखिएका छन् भने अर्को पक्ष वरिष्ठ उपाध्यक्षको नेतृत्वमा नयाँ सञ्चालक समिति बन्नुपर्ने तर्कका साथ अगाडी बढेका छन् । चुनावी मैदानमा देखिएका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालको पक्षमा केही पुर्व अध्यक्ष खुलेर नै देखिएका छन् ।

वर्तमान अध्यक्ष परितोष पौड्यालको पक्षमा नेकपा एमालेले बैठक बसेर पौड्याललाई अघि सारेको छ। यस्तै पौड्यालको पक्षमा मतदान गर्न एमालेले जिल्ला र प्रदेश स्तरबाट नै आफ्ना सहकारीकर्मीलाई ह्वीप जारी गर्ने देखिएको छ । वर्तमान अवस्थालाई बदल्न र अभियानलाई सबल सुदृण बनाएर लैजान आफुले पुनः अध्यक्ष पदमा उम्मेदवारी दिने वर्तमान अध्यक्ष परितोष पौड्यालले बताए।

सहकारी अभियानका अभियान्तालाई साथमा राखेर र साझा धारणा बनाएर काम गर्ने अठोटका साथ आफु अगाडी बढेको र कुनै दल बिशेषको उम्मेदवारको रुपमा आफु नरहेको जिकिर पौड्यालले गरे ।

‘अध्यक्षको मात्र उम्मेदवारी घोषणा भएको हो, अध्यक्ष बाहेक अन्यमा सहमतिको बाटो खुल्ला छ,’उनले भने, ‘अधिकतम प्रयास गरेर जाने हो । सहमति सहकार्य र अहिलेको अवस्थालाई चिर्ने नेतृत्व निर्माणका लागि मेरो अध्यक्षमा दाबी हो ।’सहमतिका लागि नेतृत्व अस्वीकार गर्ने संग सहकार्य नहुने उनको भनाइ छ।

राजनितिक रंग नदिइ सहकारी आन्दोलनमा जिवन समर्पण गरेका अभियान्तहरुकै जोड बललाई आत्मसात गरेर अध्यक्षमा उम्मेदवारी दिएको अर्का आकांक्षी चन्द्रप्रसाद ढकालले बताए। ‘कुन दल बिशेष भन्दा पनि साकोस अभियानमा देखिएको समस्याको ब्यवस्थापन गर्न सबै पक्षलाई मिलाएर काम गर्ने पक्षमा छु ,’उनले भने, ‘नेफ्स्कूनको नेतृत्व पनि यसपटक अवश्य परिवर्तन हुन्छ । म ढुक्क छु । नयाँ नेतृत्व नयाँ विचार बोकेर आउँछ । नयाँ विचारले नयाँ बहस जन्माउँछ । नयाँ बहसले नयाँ आशाका किरणहरु छर्छ । त्यसैले पनि अन्धकारमा फसेको साकोस अभियानलाई प्रकाश छर्न नयाँ नेतृत्व आवश्यक छ ।’

साधारणसभाले १९ जना नयाँ सञ्चालक समिति चयन गर्ने भएको छ । नेफ्स्कुनको १९ जनाको सञ्चालकमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र उपाध्यक्ष एक/एक जना रहने व्यवस्था छ । वरिष्ठ उपाध्यक्ष र उपाध्यक्षमध्ये एक पदमा महिला अनिवार्य हुनुपर्ने व्यवस्था छ । त्यस्तै महासचिव र कोषाध्यक्ष एक/एक जना चयन हुनेछन् । अन्य १४ जना सञ्चालक सदस्य निर्वाचित रहन्छन्  । सदस्यका लागि प्रत्येक प्रदेशबाट कम्तीमा एक जना सदस्य हुनुपर्नेछ ।

त्यस्तै सभाले तीन सदस्यीय लेखापरीक्षण सुपरिवेक्षण समिति समेत चयन गर्नेछ । लेखापरीक्षण सुपरिवेक्षण समितिमा एक जना संयोजक र दुई जना सदस्य हुन्छन् । यसमा पनि एक जना महिला हुनुपर्नेछ । दुवै समितिको कार्यकाल चार वर्षको हुनेछ ।

प्रकाशित : ४ पुष २०८०, बुधबार १६:४७