एनसेलले कर छलेको रहेछ भने हामी छोड्दैनौं : अर्थमन्त्री « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

एनसेलले कर छलेको रहेछ भने हामी छोड्दैनौं : अर्थमन्त्री



विदुर । अर्थमन्त्री डा. प्रकाशशरण महतले एनसेलले कर छलेको पाइए सरकारले नछाड्ने बताएका छन् । नेपाली कांग्रेस नुवाकोटको प्रथम जिल्ला सम्मेलनको उद्घाटन समारोहमा बोल्दै मन्त्री डा‍ महतले यसबारेमा सरकारले छानबिन समिति पनि बनाएकाे बताए ।

उनले भने, ‘एनसेलबारे सरकारले छानबिन समिति बनाएको छ । उसले कर छलेको रहेछ भने हामी छोड्दैनौं । तर, किनबेच अर्थमन्त्रालयले हेर्दैन, दूरसञ्चार प्राधिकरणले हेर्छ ।’ त्यसको पनि छानबिन हुँदै गरेको उनले स्पष्ट पारे ।

त्यस्तै, कार्यक्रममा उनले क्षणभरमा महत्वकांक्षा पूरा गर्ने उद्देश्य लिएको राजनीतिक दल दीगो नबन्ने नेपाली कांग्रेसका प्रवक्ता एवम् अर्थमन्त्री डा. प्रकाशशरण महतले स्पष्ट पारे । उनले भने, ‘यो हामीले बुझिराखौं, भ्रम पैदा गर्ने राजनीति दल दीगो हुँदैन ।’

केही गर्नका लागि धैर्यता, जाँगर आवश्यक रहेको उल्लेख गर्दै महतले गालीगलौजको भरमा राजनीति सफल नहुने बताए । ‘सामाजिक सञ्जालको जमाना छ, केही मानिसलाई गालीगलौज गर्न लगाउनुहोस्, त्यसबाट केही हुनेवाला छैन । केही गर्नका लागि धैर्यता, जाँगर, समपर्ण र इमानदारी चाहिन्छ,’ उनले भने ।

आफ्नालाई शत्रु देख्ने र अरुलाई मित्र देख्ने प्रवृत्ति कांग्रेसमा रहेको उनले बताए । आन्तरिक लोकतन्त्र स्थापित गराउनका लागि पार्टीमा प्रतिस्पर्धा गराइएको उल्लेख गर्दै महतले त्यसले शत्रुता भने बढाउन नहुने बताए ।

राजनीतिक दिशा कतातिर गइरहेको छ, त्यसलाई बुझेर अगाडि बढ्नुपर्ने महतको भनाइ छ । आवश्यकताका कारण पार्टीले गठबन्धन गरेको उनले बताए । ‘सबैको सहमतिमा गरिएको हो, सभापति एक्लैले गर्नुभएको होइन । हामी बलियो बन्नुपर्छ, पहिला एक्लै लड्दा चुनाव जित्छु भन्ने संगठन बनाउनुपर्छ,’ उनले भने ।

प्रकाशित : ३ पुष २०८०, मंगलवार १४:४४