अधिकांश वाणिज्य बैंकहरूले ब्याजदर घटाए, विकास बैंकहरुले के गरे ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

अधिकांश वाणिज्य बैंकहरूले ब्याजदर घटाए, विकास बैंकहरुले के गरे ?



काठमाडौं । वाणिज्य बैंकहरुले पुस महिनाको लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन्। सञ्चालनमा रहेका २० मध्ये १८ वटा बैंकले पुसका लागि ब्याजदर घटाएका हुन् ।

प्रभु र सानिमाले भने मंसिर महिनाकै ब्याजदर यथावत राखेका छन् । औसतमा व्यक्तिगत तर्फ मुद्दति निक्षेपको ब्याजदर पुस महिनाका लागि ८.९९ प्रतिशत भएको छ । मंसिरमा ९.६१ प्रतिशत रहेको छ। औसतमा हेर्दा बैंकहरुको ब्याजदर ०.६२ विन्दुले घटेको छ ।

मङ्सिरको तुलनामा सबैभन्दा धेरै हिमालयन बैङ्कले घटाएको छ । बैङ्कले १.९९७ प्रतिशत बिन्दुले घटाएको छ । बैङ्कले मङ्सिरमा अधिकतम १०.६ प्रतिशतसम्म ब्याज दिएको थियो । तर, पुसका लागि भने ८.६०३ प्रतिशतसम्म प्रदान गर्ने भएको छ ।

यस्तै, माछापुच्छ्रे, नेपाल एसबिआई, लक्ष्मी सनराइज, ग्लोबल आइएमई र एभरेष्ट बैङ्कले पनि मङ्सिरको तुलनामा १ प्रतिशतले ब्याजदर घटाएका छन् ।

पुस महिनाका लागि सबैभन्दा धेरै ब्याज भने प्राइम कमर्सियल बैङ्कले प्रदान गर्ने भएको छ । पुसमा प्राइमले अधिकतम १० प्रतिशतसम्म ब्याज दिने भएको छ । यो, मङ्सिरको तुलनामा भने शून्य दशमलव २५ प्रतिशतले घटाएको हो ।

विकास बैंकहरुले पनि घटाए ब्याजदर

राष्ट्रिय स्तरका विकास बैंकहरुले पनि पुस महिनाका लागि ब्याजदर घटाएका छन् । पुसका लागि सबैभन्दा धेरै लुम्बिनी विकास र सांग्रिला डेभलपमेन्ट बैंकले घटाएका छन् । पुसमा विकास बैंकहरुले अधिकतम ९.२५ प्रतिशत ब्याज प्रदान गर्ने भएका हुन् ।

लुम्बिनी बैंकले पुसमा मुद्दति निक्षेपको ब्याजदर ९.२५ प्रतिशत, सांग्रिला डेभलपमेन्टले ९.२५ प्रतिशत कायम गरेका छन् ।यस्तै, गरिमा विकास बैंक, कामना सेवा, शाइन रेसुङ्गा, मुक्तिनाथ विकास, महालक्ष्मी र ज्योति विकास बैंकले पनि अधिकतम ९.२५ प्रतिशत ब्याज दिने भएका छन् । यी बैंकहरुले मंसिरको तुलनामा ०.१५ प्रतिशतले ब्याजदर घटाएका हुन् ।

प्रकाशित : १ पुष २०८०, आईतवार १३:२५