धितोपत्र बजार पुँजीकरण साढे २८ खर्ब नाघ्यो, बैंक वित्त र बीमा कम्पनीको हिस्सा ६३.२ प्रतिशत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

धितोपत्र बजार पुँजीकरण साढे २८ खर्ब नाघ्यो, बैंक वित्त र बीमा कम्पनीको हिस्सा ६३.२ प्रतिशत



काठमाडौं । चालु आर्थिक बर्षको कात्तिक मसान्तमा धितोपत्र बजार पुँजीकरण २८ खर्ब ५३ अर्ब १ करोड कायम भएको छ । बिहीबार नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्याङ्कले यस्तो देखाएको हो ।

गत बर्षको कात्तिक मसान्तमा बजार पुँजीकरण २७ खर्ब ५२ अर्ब २४ करोड रहेको थियो । त्यस्तै, कात्तिक मसान्तमा नेप्सेमा सूचीकृत कम्पनीहरूको संख्या २६४ पुगेको छ ।

सूचीकृत कम्पनीहरुमध्ये १३४ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ८७ जलविद्युत् कम्पनी, २१ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ४ अन्य समूहका रहेका छन् । गत बर्ष कात्तिकमा सूचीकृत कम्पनीहरूको संख्या २४५ रहेको थियो ।

सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ६३.२ प्रतिशत रहेको छ । त्यसैगरी, जलविद्युत कम्पनीको हिस्सा १२.६ प्रतिशत, लगानी कम्पनीको हिस्सा ७.१ प्रतिशत,उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ५.२ प्रतिशत, होटेलको हिस्सा ३.२ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.५ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ८.२ प्रतिशत रहेको छ ।

नेप्सेमा कात्तिक मसान्तमा सूचीकृत ७ अर्ब ८८ करोड शेयर संख्याको चुक्ता मूल्य ७८१ अर्ब ३८ करोड रहेको छ।चालु आवको चार महिनामा ३६ अर्ब १० करोड बराबरको साधारण शेयर,.३ अर्ब ८४ करोड बराबरको हकप्रद शेयर र २ अर्ब ५४ करोड बराबरको बोनस शेयर गरी कुल ४२ अर्ब ४८ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन्।

समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले ८ अर्ब ५१ करोड बराबरको साधारण शेयर, ३ अर्ब २० करोड बराबरको डिबेन्चर, २ अर्ब ५० करोड बराबरको म्युचुअल फण्ड र १ अर्ब १० करोड बराबरको हकप्रद शेयर गरी कुल १५ अर्ब ३१ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।

यता, गत बर्षको कात्तिक मसान्तमा १९११.२६ रहेको नेप्से सूचकाङ्क चालु आवको कात्तिक मसान्तमा आइपुग्दा १८५२.०९कायम भएको छ ।

प्रकाशित : २८ मंसिर २०८०, बिहीबार १७:२४