स्मार्टफोनको पिन लक भुल्नुभयो ? यसो गर्नुस « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

Feature News

स्मार्टफोनको पिन लक भुल्नुभयो ? यसो गर्नुस



अहिले मोबाइल फोन र यसको सुरक्षार्थ प्याटर्न लक वा पिन लकको प्रयोग गर्ने प्रवृत्तिले निकै लोकप्रियता पाएको छ । तर, अरुले खोल्न नसकून् भन्ने सोचले कठिन लक प्याटर्न वा पिन छनोट गर्नुपर्ने हुन्छ । यसो गर्दा कतिपय अवस्थामा आफैंले सेट गरेका पिन वा प्याटर्न बिर्सिने सम्भावना पनि रहन्छ । लामो समयसम्म एउटै प्याटर्न चलाएर अचानक नयाँ प्याटर्न वा पिन सेट गर्दा यस्तो सम्भावना झन् बढी हुन्छ । हालै फोन अनलक गर्न फिङ्गरप्रिण्ट पासवर्ड पनि सार्वजनिक गरिएको छ । विशेषगरी हाइएण्ड उपकरणमा यसको प्रयोगले व्यापकता पाइरहेको छ । फोनको सुरक्षार्थ तुलनात्मक रूपमा बढी सुरक्षित मानिए तापनि यो अहिलेसम्म आममानिसमाझ खासै लोकप्रिय भने भइसकेको छैन । यस्तोमा अझै पनि पिन वा प्याटर्न लकको प्रयोग नै बढी छ । यसरी आफूले प्रयोग गर्दै आएको प्याटर्न वा पिन लक भुलेमा स्मार्टफोनलाई फ्याक्ट्री रिसेट गर्ने एउटा विकल्प भने हुन्छ । फ्याक्ट्री रिसेटको फाइदा तब हुन्छ, जब फोनमा रहेका डाटाको भन्दा फोनको महŒव बढी हुन्छ । अत्यावश्यक डाटा फोनमा सञ्चित भएको अवस्थामा यो प्रक्रिया अपनाउँदा भने ती सबै गुमाउनुपर्ने हुन्छ । त्यसैले, डाटा नगुमाईकन यसको समाधानका केही उपाय यहाँ प्रस्तुत गरिएका छन् :

प्याटर्न लक
प्याटर्न लकको प्रयोग गर्ने मानिसका लागि पासवर्ड बिर्सिएमा एण्ड्रोइड डिभाइस म्यानेजर विशेष उपयोगी हुन्छ । स्मार्टफोनमा गूगल एकाउण्ट लगइन गरिएको छ भने यसको सहयोगले पनि आफ्नो एण्ड्रोइड उपकरण व्यवस्थित गर्न सकिन्छ । यसका लागि स्क्रीनमा दिइएको लक बटलाई क्लिक गर्नुपर्ने हुन्छ । यसो गरेपछि प्रयोगकर्तालाई पासवर्ड दिने विकल्प प्रस्तुत गरिन्छ । यसपश्चात् नयाँ पासवर्ड टाइप गरेको करीब ५ मिनेटपछि समस्याको समाधान हुन्छ । यदि प्याटर्न लकको प्रयोग गर्नुहुन्छ भने एण्ड्रोइड उपकरणमा ‘फर्गेट प्याटर्न’को विकल्प पनि उपलब्ध छ । पाँच पटकसम्म फोनमा गलत प्याटर्नको प्रयोग गरियो भने स्क्रीनमा ‘ट्राई एगेन इन ३० सेकेण्ड’ लेखिएको सन्देश प्रेषित हुन्छ । साथै, फोनको तल्लो भागमा ‘फर्गेट प्याटर्न लेखिएको पनि देखिन्छ । यसलाई क्लिक गरेर गूगल एकाउण्टको डिटेलमा प्रवेश गर्नुपर्ने हुन्छ । यति गरेपछि प्रयोगकर्तालाई प्याटर्न लकका बारेमा गूगलबाट कुनै पनि इमेल आउँदैन ।

स्मार्टफोनलाई सेफ मोडमा बूट गर्ने

सेफ मोडमा स्मार्टफोनलाई बूट गरेर पनि प्रयोगकर्ताले लक भएका स्क्रीनको समाधान पाउन सक्छन् । स्क्रीन लक गर्न कुनै एप डाउनलोड गरी प्रयोग गरिरहेको अवस्थामा यसको सर्वाधिक सफल प्रयोग गर्न सकिन्छ । एण्ड्रोइड सञ्चालन प्रणालीमा आधारित अधिकांश स्मार्टफोनमा सेफ मोडमा बूट गर्ने सुविधा उपलब्ध गरिएको हुन्छ । यसका लागि फोनलाई अन वा अफ गर्नका लागि प्रयोग गरिने बटन थिच्नुपर्ने हुुन्छ । यो बटन थिचेपछि स्मार्टफोनलाई सेफ मोडमा बुट गर्न चाहनुहुन्छ ? भन्ने प्रश्न सोधिन्छ । यसमा दिइएको विकल्पमध्ये ‘ओके’को छनोट गर्नुपर्ने हुन्छ । यसको छनोट गरेपछि फोन स्वचालित रूपमा सेफ मोडमा बूट हुन्छ । यसपछि स्क्रीनलाई लक गर्ने एप केही समयका लागि निष्क्रिय हुन्छ । यसरी एप निष्क्रिय अवस्थामा रहँदै यसलाई अनइन्ष्टल गर्नुपर्छ । यसरी लक गर्ने एप अनइन्ष्टल गरेपछि फोन सजिलै खोल्न सकिन्छ ।

सामसुङ प्रयोगकर्ताका लागि

सामसुङका स्मार्टफोनमा ‘फाइण्ड माई मोबाइल’ नामको सुविधा पनि उपलब्ध छ । फोनमा सामसुङ एकाउण्ट सेट गरिएको छ भने कुनै पनि ब्राउजरको प्रयोग गरी त्यसमा लगइन गर्नुहोस् । लगइन गरेपछि फोनको बायाँतर्फ ‘लक माइ स्क्रीन’ लेखिएको अप्सन पाउन सकिन्छ । यसमा नयाँ पिन इण्टर गर्नुहोस् । यति गरेपछि ‘लक’ अप्सनमा क्लिक गर्नुहोस् । यसपछि अर्को २ वा ३ मिनेटभित्रै स्क्रीनको पासवर्ड परिवर्तन भइसक्छ र प्रयोगकर्ताले आफ्नो उपकरणमा काम गर्न सक्छन् । तर, यो प्रक्रिया अपनाउनका लागि फोनमा सामसुङ एकाउण्ट भने खोलिएको हुनु अनिवार्य छ । अन्यथा यो फिचरले काम गर्दैन । (एजेन्सी)

प्रकाशित : २१ फाल्गुन २०७३, शनिबार ०८:२३