सहकारीमा समस्या आउनुको कारण धेरै जान्ने भएर र नीति नियम नबुझेर होः दीपक पनेरू « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कुराकानी

सहकारीमा समस्या आउनुको कारण धेरै जान्ने भएर र नीति नियम नबुझेर होः दीपक पनेरू



नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून)को आगामी पुस ७ र ८ गते निर्वाचन सहितको बार्षिक साधारण सभा हुन गइरहेको छ । नेफ्स्कूनका वर्तमान कोषाध्यक्ष समेत रहेका दीपक पनेरुसँग अर्थबजार डटकमकालागि नमिता दुलालले गरेको संक्षिप्त कुराकानी ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून)को आगामी पुस ७ र ८ गते निर्वाचन सहितको बार्षिक साधारण सभा हुन गइरहेको छ । तपाई पनि उम्मेद्धवार हुनुहुन्छ । तयारी कस्तो छ ?

प्रज्ञा भवन, काठमाडौंमा हुने साधारण सभाको अन्तिम तयारीमा छौं । साधारण सभा नियमित नै हुन्छ । तर, यसपटक चुनावी बर्ष भएकाले कौतुहल्ता, जिज्ञासाका साथै रौनक अलि फरक छ । हामी सबै आन्तरिक तयारीमा छौं । सबै सदस्यहरुलाई विभिन्न माध्यमबाट जानकारी पनि गराइसकेका छौं । यसमा पनि सदस्यहरुको नियमित प्रक्रियाहरु छन् । बाँकी रहेका बचतहरु गर्नुपर्ने, प्रत्येक सहकारी संस्थाले आफ्ना सदस्यको नविकरण गर्नुपर्ने हुन्छ । त्यस बापत हामीले तीन रुपैंया शुल्क लिने गरका छौं । प्रतिवेदनहरु तयार गर्ने लगायत आफ्ना भागमा के जिम्मेवारी परेका छन्, सोहि अनुसार गदैछौं । उम्मेद्धवारी भन्नेकुरा परिस्थितीले जे माग्छ त्यसमा भर पर्छ । अहिले बोकेको जिम्मेवारी परिवर्तन हुन्छ । छलफल पनि भइरहेको छ, स्वभाविक रुपमा आएका जिम्मेवारीहरु लिनुपर्छ । त्यो अभियानले पनि खोजिरहेको छ । यसका लागि मानसिक रुपमा म तयार भएर बसेको छु ।

तपाई आफुलाई कुन पदको जिम्मेवारी बहन गर्न पाए भने मैले गर्न सक्छु जस्तो लाग्छ ?

मैले अहिले कोषाध्यक्षको भुमिका निभाइरहेको छु । सबै आकांक्षीहरुको कुरा सुनिरहेको छु । अहिले यति बुझ्नुस म आगामी चुनावबाट फरक भुमिकामा देखिने छु ।

सहमतिको आधारमा नेतृत्व चयनको सम्भावना कत्तिको छ ?

सहमतिमै हुनुपर्छ । यसका लागि प्रयासहरु पनि भइरहेका छन् । यो अभियान साझा अभियान हो । सबै अट्नुपर्छ । सबैको भावनाको प्रतिनिधित्व, सहमति हुनुपर्छ । सहमति गर्ने कुरामा अरु कुरा हामीले सोच्नै मिल्दैन् । त्यसको लागि अन्तिमसम्म छलफल हुन्छ । यसबाट राम्रो टिम बन्नेमा विश्वास छ ।

सहकारीमा बदमास गर्ने पनि सक्रिय छन्। यसलाई कसरी व्यवस्थापन गर्न सकिएला ?

यो बदमास भन्ने भाष्य त्यसै स्थापित भएको होइन । त्यसका पछि धेरै कारण छन् । हामी कहाँ आवद्ध छौं । हामीले गर्नुपर्ने जिम्मेवारी के हो ? जुन हामी अभियान भनेर लागिरहेका छौं । यसका उद्देश्यहरु के थिए ? हामी उद्देश्यबाट विचलन भइरहेका छौं । गर्नुपर्ने काम धेरै छन् गर्न छाड्यौं। संस्था एउटा सामुहिकतामा चल्नुपर्छ । टिमवर्क हुनुपर्छ । योजना बनाएर अगाडी बढ्नुपर्छ । त्यस भन्दा बाहिर जान खोज्दा दुर्घटनामा परिन्छ । जसका कारण आज यतिधेरै सहकारीमा समस्या आएका छन् । यस्ता साथीहरुलाई मेरो के अनुरोध छ भने, हामीले अब करेक्सन गर्दै अगाडी बढ्नुपर्छ । यसमा संघहरुले महत्वपूर्ण भुमिका खेल्दै सहजिकरण गर्छं । पछिल्लो समय सहकारीमा समस्या आउनुको कारण धेरै जान्ने भएर हो । नीति नियम भनेको केहि थाहा छैन् । प्रतिस्पर्धाको रुपमा अगाडी बढ्दै गर्दा नजानेर पनि बिग्रिएको छ । हिजो पैसा आएका कुराहरु देखियो । त्यसको परिचालन गर्न सक्नुभएन् । जसले दुर्घटना निम्त्याउछ ।

बचत तथा ऋण सहकारी संस्था अभियानलाई थप सुधार गर्न के गर्नुपर्ला ?

हामीले सहकारीलाई सहकारी जस्तो गरी बुझ्यौ भने पनि त्यति धेरै समस्या छैन् । हामीले काम गर्ने अधिकार, कार्यक्षेत्र र भुमिका फरक बुझ्न थालेको भएर बिग्रेको हो । हामीले पाएको जिम्मेवारी भित्र बसेर उद्देश्य बुझेर काम गरेको भए अहिले समस्या आउने थिएन् । सहकारीमा काम गर्छौं । काम गर्ने निश्चित ठाउँ तोकिएको हुन्छ । त्यहाँका नागरिकलाई जोड्नका लागि आर्थिक, सामाजिक, सांस्कृतिक परिवर्तनहरु गर्ने, परिवर्तनका लागि दिनरात नभनि काम गरेर देखाउनुपर्ने हो ।

सहकारी भित्र अहिले सबै काम हामीले गर्नुपर्छ भन्ने बुझाई एक थरीका अभियन्तामा देखियो । त्यो होइन भन्ने बुझाई मेरो छ । काम गरिसकेपछि फरक क्षेत्र रोजेर जानुहुँदैन । हामीले बचत ऋणको काम गर्छौं । हामीले हाम्रा सदस्यहरुको परिवर्तन गराउनुपर्ने मुख्य जिम्मेवारी निर्वाह गर्नुपर्छ। उनीहरुले बचत गरेको पैसा आवश्यक पर्नेले ऋणको रुपमा लैजाने गरेका छन् । यसरी लैजानेले आफ्नो व्यवसाय उद्यमलाई विस्तार गर्ने गरेका छन् ।

यसरी सहकारी संचालन गरेको ठाउँमा समस्या छैन् । यो उद्देश्य भन्दा फरक जान खोजेको अवस्थामा भने यसका विषयमा बुझाउने काम गरिरहेका छौं । सहकारी राम्रो उद्देश्य बोकेको बृहत अभियान भएको हुँदा यसले धेरै कुरा गर्दै आएको छ । अहिले हरेक मानिसको जीवन पद्धति सहकारीसंग जोडिएको छ । कही अप्ठेरो स्थिति आयो भने सारा सम्बन्ध, इमेज बिग्रिन्छ । यो अवस्था सहकारी भित्र देखिन्छ । यसले तोकेको उद्देश्य अनुसार मिलेर काम गर्ने गर्यो भने समस्या आउँदैन ।

नेफ्स्कुनको चुनावबाट निर्वाचित भएमा तपाइँको सहकारी क्षेत्रमा मुख्य प्राथमिकता र भुमिका कस्तो रहने छ ?

हामी सामूहिक रुपमै काम गर्छौं । व्यक्तिको पहल बढी ,चासो लिने कुरा, अध्ययन छलफल गर्ने कुरा आफ्नो ठाउँमा रहन्छ । अहिले भएको टिम होस वा आगामी समयमा आउने टिम, अहिले सहकारी क्षेत्रमा देखिएका सम्भावनाका विषयमा सामूहिक रुपमा छलफल गर्छौं । यो क्षेत्रमा भएका चुनौतिहरुलाई कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा छलफल गर्छौं । यो क्षेत्रमा निराशाको अवस्थाहरु देखेका छौं । त्यो अबको नयाँ नेतृत्वले मेटाउनुपर्ने छ । हामी व्यक्तिगत रुपमा भन्दा पनि यस बारेमा सामुहिक रुपमा छलफल गरेर जान्छौं । सहकारी अब सामुहिक नेतृत्वमा जान्छ ।

अन्त्यमा समग्र अभियानको बारेमा के भन्नुहुन्छ ?

विभिन्न देशका सहकारीका अनुभव, त्यहाँको परिवर्तन सबै देखेका छौं । गौरव लाग्छ देश समृद्ध हुनुको पछाडि, सुशासनमा अगाडी बढिरहँदा सहकारीको यति ठुलो योग्दान रहेछ । हामीले त्यो हेर्दा खुसी लाग्नुका साथै उत्साहित पनि हुने गरेका छौं । यस्तै हाम्रो देशमा भैदियोस जस्तो लाग्छ । यो देशलाई मार्गचित्रका रुपमा अगाडी बढाउनका लागि सहकारी मोडल राम्रो हुने मेरो बुझाई छ ।

सहकारीको मोडलमा देशलाई अगाडी बढाउनुपर्छ । यसका लागि सबै पक्षहरुलाई बिशेष गरी राजनीतिक दल, ब्यूरोक्रेसी, आम जनसमुदायलाई बुझाउने काममा थाक्नु हुँदैन् । कतिपय सहकारीका विषयहरु प्राथमिकतामा परिरहेको छैनन् ।

विधानको प्रस्तावनामा सहकारीलाई निकै महत्व दिएर लेखिएको छ । तर त्यो अनुसारको व्यवहार हामीले पाएका छैनौं । त्यो अनुसारको नीति काम बनेको छैन । कहीं यी कुराले अप्ठेरो बनाइरहेको अवस्था छ ।

यी अप्ठेरा विषयको उत्खनन् गर्दै समाधान खोज्दै अगाडि बढिरह्यौ भने सहकारीको माध्यमबाट देशलाई समृद्ध बनाउन निक्कै महत्वपूर्ण भुमिका खेल्छ ।

प्रकाशित : २६ मंसिर २०८०, मंगलवार १९:३८