काठमाडौं । हिमालयन एभरेस्ट इन्स्योरेन्सले नेपाल पुनर्बीमा कम्पनीको २० लाख कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । कम्पनीले सो सेयर बिक्रीका लागि पुनर्बीमा कम्पनीको सञ्चालक समितिबाट स्वीकृत गराइसकेको जनाएको छ ।
लिलामी बिक्रीमा ल्याइएको सेयरका लागि हालका संस्थापक र नेपाली नागरिकले पनि ३५ दिनभित्र आवेदन दिन सक्ने कम्पनीले एक सार्वजनिक सूचनामार्फत जनाएको छ । प्रतिकित्ता न्यूनतम मूल्य ३ सय रुपैयाँ नघट्नेगरी इच्छुकले आवेदन दिन सक्नेछन् । न्यूनतम १ लाख र अधिकतम २० लाख कित्तासम्मका लागि आवेदन दिन सकिने हिमालयन एभरेस्ट इन्स्योरेन्सले जनाएको छ ।
सेयर बाँडफाँटका लागि हालका संस्थापक सेयरधनीलाई प्राथमिकता दिइने कम्पनीले जनाएको छ । पछिल्लो समय नेपाल पुनर्बीमा कम्पनीको संस्थापक सेयर बिक्री गर्ने क्रम बढेको छ । बहु सरकारी स्वामित्वको यस कम्पनीको सुशासन कमजोर देखिएको छ । कम्पनीले अहिलेसम्म गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण समेत सार्वजनिक गरेको छैन ।
Comment