पोर्चुगलका नवनियुक्त राजदूत नेपाल भन्छन्: पर्यटन, लगानी र व्यापार प्रवर्द्धनमा धेरै काम गर्नुछ’ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

पोर्चुगलका नवनियुक्त राजदूत नेपाल भन्छन्: पर्यटन, लगानी र व्यापार प्रवर्द्धनमा धेरै काम गर्नुछ’



काठमाडौं । पोर्चुगलका लागि नेपाली राजदूतमा मनोनयन गरिएका शनिल नेपालको नाम संसदीय सुनवाइ समितिबाट अनुमोदन भएको छ । शुक्रबार भएको संसदीय सुनुवाइमा नेपालले पोर्चुगलमा राजदूतावास स्थापनापश्चात त्यहाँ रहेका नेपाली नागरिकहरुको हकहित संरक्षण एवम प्रत्यक्ष सेवा प्रवाह हुनुका साथै नेपाल भित्रिने विप्रेषण वृद्धि तथा नेपालको पर्यटन, लगानी र व्यापार प्रवर्द्धनमा पनि योगदान पुग्ने धारणा राखे ।

सरकारको पोर्चुगलमा नेपाली दूतावास खोल्ने निर्णय सुझबुझपूर्ण रहेको औंल्याउँदै उनले पोर्चुगलमा बसोबास गर्ने नेपालीहरुको संख्या बढीरहेकाले उनीहरुको हक हितको संरक्षण गर्न तथा उनीहरुलाई आवश्यक कन्सुलरलगायतका सेवा सहज रुपमा प्रदान गर्न सकिने बताए ।

पोर्चुगलको आधिकारिक तथ्यांक अनुसार त्यहाँ झन्डै २५,००० नेपालीहरुको बसोबास रहेको बताइए पनि वास्तविक संख्या ७०,००० भन्दा पनि बढी हुन सक्ने अनुमान गरिएको छ। दूतावास स्थापनाले त्यहाँ रहेका नेपालीहरुका लागि सहज हुने बताउँदै उनले भने,‘पोर्चुगल हेर्ने जिम्मेवारी तोकिएको नेपाली राजदूतावास पेरिसमा रहेको हुँदा पोर्चुगलमा बसोबास गर्ने नेपालीहरुको राहदानी तथा कन्सुलर सेवाका लागि व्यावहारिक कठिनाइ अब अन्त्य हुनेछ ।’

त्यस्तै उनले पोर्चुगल यूरोपियन यूनियनको एउटा महत्वपूर्ण सदस्य राष्ट्र भएको र आउँदो सन् २०२६ मा दुवै देश बीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पुरा हुने स्मरण गरे । उनले इजरायल नेपालीहरुका लागि कृषि प्रविधि सिक्न असुरक्षित देखिएकाले पोर्चुगल एउटा सुरक्षित गन्तव्य हुन सक्ने बताए। उनले भारतको गोवामा हरेक वर्ष हजारौं पोर्चुगिज नागरिकहरुले भ्रमण गर्ने गरेको बताउंदै उनीहरुलाई त्यहाँबाट नेपाल ल्याउन नेपाल पर्यटन बोर्डसंग समन्वय गरी ‘समुद्रदेखि सगरमाथा सम्म’भन्ने कार्यक्रम संचालन गर्न आफुले पहल गर्ने पनि बताए।

सांसदहरुका प्रश्नको जवाफ दिंदै शनिल नेपालले नेपालबाट उत्पादित वस्तुहरु पोर्चुगल तथा युरोपेली बजारमा बिक्री वितरण गर्न पहल गर्ने, फुटबल खेलको विकासमा पोर्चुगलको सहयोग जुटाउन तथा जलश्रोत, कृषि, पर्यटन, सूचना प्रविधि लगायतका क्षेत्रमा लगानी भित्र्याउन पहल गर्ने आफ्नो कार्ययोजना पढेर सुनाएका थिए। बैठकको सभापतित्व सांसद पशुपति शमशेर जबरा तथा ज्ञानेन्द्र बहादुर कार्कीले गरेका थिए।

नेपालीहरुलाई प्रत्यक्ष सेवा दिन नयाँ दूतावासः मंत्री साउद

यस अघि संसदीय सुनुवाइ समितिसमक्ष परराष्ट्र मंत्री एनपी साउदले पोर्चुगलमा रहेका ४० हजारभन्दा बढी नेपालीको हकहितको रक्षा र उनीहरूलाई प्रत्यक्ष सेवा दिनका लागि राजदूतावास खोलिएको बताए। शुक्रबार संसदीय सुनुवाइ समितिको बैठकमा बोल्दै उनले पोर्चुगलमा नेपालीहरूहरूको संख्या बढिरहेकोले दूतावास आवश्यक रहेको बताए। समितिले पोर्चुगलमा राजदूतावास खोल्नुको औचित्य प्रष्ट पार्न मन्त्री साउदलाई समितिमा बोलाएको थियो।

मन्त्री साउदको भनाइपछि बोल्दै एमाले सचेतक महेश बर्तौलाले पोर्चुगलमा ६० हजारभन्दा बढी नेपाली रहेकोले दूतावास खोल्नु उचित भए पनि सरकारले आर्थिक व्ययभार धान्न सक्छ कि सक्दैन भन्दै प्रश्न गरे। उनले बजेट वक्तव्यमा अर्थमन्त्रीले बजेट छैन भनेर आवश्यक पर्ने सरकारी निकायलाई पैसा नदिएको भन्दै पोर्चुगलमा दूतावास व्यवस्थापनमा समस्या त पर्दैन भन्दै जिज्ञासा राखेका थिए ।

यस्तै सांसद रमेशजंग रायमाझीले पोर्चुगलमा राजदूतावास खोल्दा कति आर्थिक व्ययभार पर्छ भन्दै प्रश्न गरे। उनले हालै कोप २८ सम्मेलनमा भाग लिन दुबई जाँदा नेपाली राजदूतले राम्रो गाडी चढ्ने अवस्था समेत नदेखेकोले दूतावास खोलेपछि व्यवस्थित ढंगले सञ्चालन गर्नुपर्ने बताए।

सरकारले पोर्चुगलमा पहिलोपटक दूतावास खोलेर राजदूत पठाउन लागेको हो।पोर्चुगलस्थित नेपाली संस्थाहरुले संगठित अन्तरराष्ट्रिय गिरोहले नेपालीहरुसंग ठूलो पैसा लिएर युरोपेली संघमा नरहेका टर्की लगायतका मुलुकहुँदै पोर्चुगल पठाउने गरेको बताउंदै मानव तस्करी तोक्न सरकारले कडा कदम चाल्नु पर्ने माग गर्दै आएका छन्।

प्रकाशित : २२ मंसिर २०८०, शुक्रबार २१:४६