लगानी सम्मेलनः १४ खर्ब लगानीको प्रतिवद्धता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

कर्पोरेट

लगानी सम्मेलनः १४ खर्ब लगानीको प्रतिवद्धता



काठमाडौ २० फागुन । ठूला पूर्वाधार आयोजनाहरुमा लगानी जुटाउन भन्दै सरकारले आयोजना गरेको लगानी सम्मेलनमा विभिन्न मुलुकका व्यवसायीले करिब साढे १४ खर्ब रुपियाँ (१३ अर्ब ५२ करोड डलर) बराबरको लगानी प्रतिबद्धता गरेका छन् ।

दुई दिने सम्मेलनमा सबैभन्दा धेरै लगानीको प्रतिवद्धता गर्नेमा चीन छ । चिनियाँ लगानीकर्ताले करिब आठ खर्ब ८८ अर्ब (आठ अर्ब ३० करोड डलर) बराबरको लगानी गर्ने प्रतिबद्धता जनाएको सम्मेलनपछि आयोजित कार्यक्रममा जानकारी दिइयो ।

उद्योगमन्त्री नवीन्द्रराज जोशीले लगानीको ठूलो प्रतिवद्धताले नेपालमा लगानीका लागि उपयुक्त वातावरण छ भन्ने सन्देश दिएको दावी गरे । चीनपछि बंगलादेशले दुई खर्ब ५६ अर्ब, बेलायत एक खर्ब सात अर्ब, जापानले पनि एक खर्ब सात अर्ब, श्रीलंकाले ५३ अर्ब र भारतले करिब ३४ अर्ब बराबरको लगानी प्रतिबद्धता जनाएका हुन् ।

नेपाली व्यवसायीबाट भने एक अर्ब २० करोड रुपियाँ बराबरको लगानी प्रतिबद्धता आएको जनाइएको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले जानकारी दिए । सम्मेलनमा सहभागी विभिन्न मुलुकका लगानीकर्ताले लगानीका लागि आफ्नो आशयपत्र प्रस्तुत गरेका छन् ।

लगानीको प्रतिवद्धता जनाए पनि सरकारले उनीहरुलाई उपयुक्त र संभावित आयोजनाहरु देखाएर उनीहरुले आयोजना विकास गर्न सम्झौता गरेपछि मात्रै लगानी भित्रिने छ । सम्मेलमा स्वदेशी तथा विदेशी गरि एक हजारभन्दा बढी लगानीकर्ताबाट अपेक्षाभन्दा धेरै लगानीको प्रतिवद्धता आएको हो ।

प्रकाशित : २० फाल्गुन २०७३, शुक्रबार १३:०८