सेयर बजारले २७ महिनामा गुमायो १६ खर्ब « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

शेयर बजार

सेयर बजारले २७ महिनामा गुमायो १६ खर्ब



काठमाडौँ। अहिले सेयर बजारका लगानीकर्ताहरु अधिक चिन्तितमा छन्। सेयर बजारमा भएको उत्तरचढाबले लगानीकर्ताहरुको मनोबल कम्जोर बन्दै गएको छ । नेपालको सेयर बजार २७ महिनादेखि घटेको घट्यै छ । अर्थतन्त्रका आन्तरिक समस्या बढ्दै गएपछि मन्दीको छायाँले मुलुकलाई आक्रान्त बनाएको छ । बैंकको ब्याजदर अपेक्षित ढंगले घट्न सकेको छैन भने बजारका लगानीकर्ताको मनोबल पनि बढ्न सकेको छैन ।

एकपछि अर्को गर्दै लगानीकर्ताको मनोबल कमजोर पार्ने गतिविधि सरकारी तहबाटै भइरहेको आरोप लगाउदै आएका लगानीकर्ता हाल मौद्रिक नितीको समिक्षाको पर्खाइमा बस्नु बाहेक अरु विकल्प नरहेको बताउछन्। यतिबेला सबै मौद्रिक नितीको समिक्षाको मुख ताकेर बसेका छन । जबकी प्रधानमन्त्रीले बोलाएको बैठकमा होस् अथवा अर्थमन्त्रीले पनि अहिलेको समस्या समाधानको लागि राष्ट्र बैंकको नै मुख ताकेको देखिन्छ।

सेयर लगानीकर्ता भने सेयरको जोखिमभार १०० मा झारिनु पर्ने लगाएतका माग राख्दै आइरहेका छन् । अगुवा सेयर लगानीकर्ता छोटेलाल रौनियार बजार करेक्शन भएर १८०० मा आइपुग्दा समेत जोखिमभार १५० नै राखिनु सही नभएको बताउँछन् । ३२०० हुँदा र अहिले १८०० नेप्से सुचक आउँदा एउटै जोखिमभार सही नहुने उनको तर्क छ । त्यस्तैगरी, सेयर कर्जामा लगाइएको १५ करोड र २० करोडको सीमा पनि हटाइनु पर्ने उनको माग छ । कुल कर्जाको २ प्रतिशत अर्थात जम्माजम्मी ८१ अर्ब रकममात्रै सेयर कर्जामा गएको भन्दै उनले नगन्यमात्रामा कर्जा भएको क्षेत्रमा कडाई गर्न नहुने बताउँछन् । उनले अर्थमन्त्री र गर्भनरको राजनीतिक शिकार पूँजीबार भएको आरोप समेत लगाएका छन् ।

विगत ३/४ महिना यता निक्षेपको ब्याजदर घटेको भएपनि कर्जाको ब्याजदर सो अनुसार घट्न सकेको छैन् । लगानीकर्ताले निक्षेपसँगै कर्जाको ब्याजदर पनि घट्नु पर्ने बताउँदै आएका छन् । यता केन्द्रिय बैंक भने यतिबेला चालू आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो समिक्षाको अन्तिम तयारीमा छ। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बुधबार देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको बारेमा अर्थसमितिमा विवरण पेश गर्दै बैंकको आधार दर एकल अंकमा झरेको बताएका छन् ।

अघिल्लो आर्थिक वर्षको असोजमा वाणिज्य बैंकहरुको औसत आधारदर १०.३४ प्रतिशत रहेकोमा २०८० असोजमा एक अंक अर्थात ९.९४ प्रतिशत झरेको उनले बताएका छन् । त्यस्तै, उनले बैंक तथा वित्तीय संस्थाहरुले निक्षेपको ब्याजदर थप घटाउँदै लगेको हुँदा कर्जाको ब्याजदर पनि घट्ने बताएका छन्।

सेयर लगानी विश्लेषकहरुले भने सेयर बजार नेगेटिभ बाटोमा जानु सरकारी निकायको हेलचक्राइका साथै अन्य धेरै कुराले प्रभाव पार्ने बताउछन् । नेपाल पूँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलका अनुसार गभर्नर बजार प्रति नकारात्मक देखिएकाले पोलिसीहरु पनि नकारात्मक आइरहेको छ । त्यसैले लगानीकर्ता अबको मौद्रिक नितीको समिक्षा कस्तो आउने हो भन्ने बारे ‘पर्ख र हेर’ को अवस्थामा रहेको उनले बताइन् । उनले भनिन्, ‘मौद्रिक नितीको समिक्षामा हामीले जोखिमभार घटाउने लगाएतका सुझाव दिएका छौं, ‘। जसले समिक्षा नआउन्जेल बजार घट बढ हुन नसकेको पोख्रेलको भनाई छ।

बजार केहिमात्रा भएपनि सकारात्मक माहोल बन्दैछ । बजारमा तरलताको सहज स्थिती रहेको छ । व्याजदर केहिमात्रामा भएपनि घट्दो क्रममा छ । बजार तल्लो विन्दुमा आएर अड्किएको छ । यो सिक्ने मौका पनि हो । तर राष्ट्र बैंकका गभर्नर देखि लगानीकर्ता तर्सिनुपर्ने अवस्था आएकाे अर्का लगानीकर्ता ताराप्रसाद फुल्लेल बताउछन् । उनी भन्छन्, ‘गभर्नरको नाम , निती नियम र क्रियाकलापदेखी सबै कुरा सम्झिने वित्तिकै लगानीकर्ता टाढा भाग्नुपर्ने स्थिती आयो । राष्ट्र बैंकका गर्भनरले देखिने गरी नितिमा परिर्माजन गर्ने, पोलिसीहरुमा पुनरावृत्ति गरे भने बजारप्रति लगानीकर्ताको विश्वास बढ्ला नत्र भने लगानीकर्ताको आत्मविश्वास गुम्नुमा सत प्रतिशत गभर्नर जिम्मेवार छन्।’

मौद्रिक नितीको समिक्षा तीन महिनाभित्र आउनुपर्ने चार महिना वितिसक्दा पनि आएको छैन् उनको बुझाइमा यो पनि राष्ट्र बैंकले लगानीकर्ता तर्साउन प्रयोग गरेको पोलिसी हो । उनको विचारमा पनि सरकारले गर्नुपर्ने अन्य लगानीकर्ताको जस्तै माग छ ।

अर्का लगानीकर्ता मुक्ति अर्यालका अनुुसार पनि राष्ट्र बैंकको निती संकुचित रहेकाले सबै दोष राष्ट्र बैंकमा थुप्रिएको बताउछन्। जसले गर्दा व्याजदर घटेर पनि सेयर बजार लगाएत अर्थतन्त्र बढाउने तिर जान सकेको छैन। मानिसहरु पैंसा लिन डराइरहेको अवस्था छ । कतै पैसा लिएमा राष्ट्र बैंकको पोलिसी त परिर्वतन हुदैन । यसमा लगानीकर्ता मात्र नभएर अन्य क्षेत्रका मानिसहरुपनि पैसा लिन डराएका छन् । बजार अहिले अलमलमा छ । १८ सय भन्दा तल जान पनि सकेको छैन र माथी पनि जान सकेको छैन् । यसको कारण पोलिसी छर्लङ्ग नभएर हो । उनले भने, ‘नियमनकारी निकायले पुजीबजारबाटै अर्थतन्त्र सुधार गर्न जरुरी छ । बजार २२०० बाट माथि जानेवित्तिकै दुई चार खर्ब पैंसा निस्किन्छ । त्यो पैसा अरु क्षेत्रमा गएर अर्थतन्त्र चलाएमान बनाउछ।’ त्यसैले यस्ता सुधारका लागि राष्ट्र बैंकका बजारप्रतिका जति पनि नकारात्मक निती छन्, ति नितीलाई खुकुलो बनाउनु पर्ने उनकाे तर्क छ ।

कति गुमायो ?

२०७८ भदौ महिनामा नेप्सेको सूचकाङ्क नेप्से परिसूचक ३२२७ हाराहारीको उच्चतम विन्दुमा पुगेको थियो। करिब अढाई वर्षपछि त्यो लगातार खस्किएर यो साता १८४१.०४ सम्म झर्‍यो।

अहिले कुल बजार पूँजीकरण वा सेयर बजारको कुल मूल्य साढे २८ खर्ब रुपैयाँ छ। जबकि त्यतिखेर सो परिमाण झण्डै ४४ खर्ब रुपैयाँसम्म पुगेको थियो। अर्थात यो अवधिमा १६ खर्बको हाराहारीमा नोक्सानी भएको छ।

प्रकाशित : २१ मंसिर २०८०, बिहीबार १२:५३