गभर्नरको एक वर्षको तलबभत्ता २४.१८ प्रतिशतले बढ्याे, गत वर्ष बुझे करिब ६१ लाख रुपैयाँ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

गभर्नरको एक वर्षको तलबभत्ता २४.१८ प्रतिशतले बढ्याे, गत वर्ष बुझे करिब ६१ लाख रुपैयाँ



काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नरको सेवा सुविधा एक वर्षमा २४.१८ प्रतिशतले बढेको छ । राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष (आव) मा गभर्नर महाप्रसाद अधिकारीले १६ लाख ३२ हजार तलब, ४ लाख १४ हजार बैठक भत्ता र अन्य सेवा सुविधा वापत ४० लाख ४५ हजार ३३५ रुपैयाँ सहित ६० लाख ९१ हजार ३३५ रुपैयाँ सेवा सुविधा लिएका छन् ।

गभर्नर अधिकारीको तलबको तुलनामा भत्ता अत्यधिक बढेको छ। अघिल्लो बर्ष उनले एक वर्षमा तलबबापत १४ लाख १८ हजार ४ सय रुपैयाँ दिएका थिए ।

यस्तै डेपुटी गभर्नर डा. निलम ढुंगाना तिम्सिनाको सेवा सुविधा एक वर्षमा ३३.८५ प्रतिशतले बढेको छ । आव २०७७/७८ मा १२ लाख ६९ हजार ६०० तबल, २ लाख ७३ हजार बैठक भत्ता र अन्य सुविधा २७ लाख १७ हजार ५१३ गरी कुल ४२ लाख ६० हजार ११३ रुपैयाँ सेवा सुविधा लिएकोमा गत आवमा बढेर ५७ लाख २ हजार ३६१ पुगेको छ । गत आवमा उनले तलब १४ लाख ६० हजार ४०० रुपैयाँ बैठक भत्ता ३ लाख ४२ हजार र अन्य सुविधा बापत ३८ लाख ९९ हजार ९६१ रुपैयाँ लिएकी छन् ।

अर्का डेपुटी गभर्नर बमबहादुर मिश्रले गत आवमा तलब १४ लाख ६० हजार ४००, बैठक भत्ता ३ लाख ७८ हजार र अन्य सुविधा ३४ लाख ६१ हजार ८२९ रुपैयाँ सहित ५३ लाख २२९ रुपैयाँ तलब तथा सुविधा लिएका छन् । अघिल्लो आर्थिक वर्षमा उनले तलब १२ लाख ६९ हजार ६००, बैठक भक्ता २ लाख ९६ हजार र अन्य सुविधा २६ लाख ३६ हजार ४१७ गरी ४२ लाख २ हजार १७ रुपैयाँ तलब तथा सेवासुविधा लिएका थिए । अघिल्लो आर्थिक वर्ष को तुलनमा गत आर्थिक वर्षमा डेपुटी गभर्नर मिश्रको तलब भत्ता तथा सेवासुविधा २६.१४ प्रतिशतले बढेको छ ।

सञ्चालकहरुको पनि आम्दानी बढेको छ। सञ्चालक समिति सदस्य चिन्तामणि शिवाकोटीले पोहोर १ लाख २५ हजार ५६४ र शंकर आचार्यले १ लाख १३ हजार ४१२ रुपैयाँ बुझेका थिए। यसपालि शिवाकोटीले बैठक भत्ताबापत ४ लाख ५ हजार र विशेष भत्ता बापत ११ लाख ५९ हजार ३८२ रुपैयाँ बुझेका छन्।

अर्का सञ्चालक शंकरप्रसाद आचार्यले भत्ता ३ लाख ६० हजार र विशेष भत्ता ६ लाख ४८ हजार ४०८ रुपैयाँ लिएका छन्। त्यसैगरी सञ्चालक रविन्द्र पाण्डेले बैठक भत्ता ९९ हजार र विशेष भत्ता २ लाख ४५ हजार १२ रुपैयाँ बुझेका छन्।

प्रकाशित : १९ मंसिर २०८०, मंगलवार १७:३०