करिब साढे चार अर्ब मुद्दति निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

करिब साढे चार अर्ब मुद्दति निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक



काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न कोषमा रहेको ४ अर्ब ३९ करोड रुपैयाँ रकम निक्षेपमा राख्ने भएको छ । राष्ट्र बैंकले उपदान तथा पेन्सन कोष र अवकाश कोष अन्तर्गतको कर्मचारी सुरक्षण कोषमा रहेको रकम बैंक तथा वित्तीय संस्थामा एकवर्षे मुद्दतीमा लगानी गर्ने भएको हो ।

उपदान तथा पेन्सन कोषको ३ अर्ब ३ करोड र अवकाश कोष अन्तर्गतको कर्मचारी सुरक्षण कोषमा रहेको १ अर्ब ३६ करोड ८० लाख रुपैयाँ गरी केन्द्रीय बैंकले ४ अर्ब ३९ करोड ८० लाख रुपैयाँ निक्षेपमा राख्ने भएको हो ।

राष्ट्र बैंकको उक्त कोषमा रहेको रकम २०८० पुस १ गतेदेखि २०८१ पुस १ गतेसम्म ३६६ दिनको मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो ।

राष्ट्र बैंकले अनुमति प्राप्त क, ख र ग वर्गका बैंकलाई निक्षेपको लागि आव्हान गरेको छ । जसमध्ये ३ अर्ब ५१ करोड ८४ लाख वाणिज्य बैंकको मुद्दतीमा राख्ने भएको छ । यसैगरी विकास बैंकमा ६५ करोड ९७ लाख रुपैयाँ र वित्त कम्पनीहरूमा २१ करोड ९९ लाख रुपैयाँ मुद्दतीमा लगानी गर्न लागेको हो ।

राष्ट्र बैंकले तोकेको सीमाभित्र रही बैंकहरूले चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको ब्याजदर समेत खुलाई यही मंसिर १९ गते बेलुका ७ बजे भित्र पेश गर्न अनुरोध गरेको छ । साथै प्रस्ताव फाइलको पासवर्ड मंसिर २० गते ७ बजेभित्र पेश गर्न समेत अनुरोध गरिएको छ ।

प्रकाशित : १७ मंसिर २०८०, आईतवार १७:०९