नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रक्रिया अघि बढाउन निर्देशन, स्वर्णिम वाग्लेकाे भने फरक मत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रक्रिया अघि बढाउन निर्देशन, स्वर्णिम वाग्लेकाे भने फरक मत



काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ । समितिको शुक्रबार बसेको बैठकले नयाँ स्टकलाई लाइसेन्स दिने प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो ।

अर्थ समितिको बैठकले २०८० जेठ २९ गते समितिबाट विस्तृत अध्ययन गरी अर्को निर्णय नभएसम्मका लागि नयाँ स्टक एक्सचेन्जको स्थापना सम्बन्धी कामकारवाहीलाई अगाडि नबढाउन नेपाल सरकार अर्थ मन्त्रालय, नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जलाई निर्देशन दिएको थियो ।

तर समितिको आज बसेको बैठकले सम्बन्धित निकायहरुबाट कागजात माग गरी अध्ययन गर्दा नयाँ स्टक एक्सचेञ्जको अनुमति प्रदान गर्ने वा नगर्ने भन्ने विषय सर्वोच्च अदालतमा प्रवेश भई अन्तिम फैसला भइसकेको देखिन आएकोले उक्त निर्देशनको प्रयोजन समाप्त भएको निर्णय गरेको हो । समितिले यसको जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय र धितोपत्र बोर्डलाई दिने निर्णय गरेको छ ।

पुरानो निर्देशन खारेज गर्ने निर्णयमा अर्थ समिति सदस्य डा. स्वर्णिम वाग्लेले भने फरक मत राखेका छन् । उनले भनेका छन्, ‘विधि पुर्याएर आर्थिक सुशासनका आधारभूत सिद्धान्त प्रति कटिवद्ध भई विशुद्ध प्रतिस्पर्धाको कोणबाट दोस्रो स्टक एक्सचेञ्ज स्थापनाको प्रक्रिया छिट्टै अगाडि बढाउन सिद्धान्त: मेरो असहमति नभएपनि अर्थ समितिको २०८०/०२/२९ को निर्णयप्रति न्याय नहुने , आवश्यक सहजीकरण गरिदिन नेपाल धितोपत्र बोर्डले २०८०/०७/१६ मा पठाएको पत्र समितिमा अग्रीम पेश नगरी, छलफल नगराई, हतार हतार २०८० को दिपावली सुरु हुनु अघि साँझको सात बजे खोटपूर्ण नियतका साथ संगठित तवरले हठात् निर्णय गरेको देखिने भएको र चाडपर्व पछि सार्थक छलफल गरी निर्णय लिँदा अर्थ समिति सन्देहको घेराबाट बाहिर हुने महशुस गरेकोले निर्णय २ प्रति मेरो फरक मत (Note of Dissent) दर्ज गरेको छु ।’

प्रकाशित : २४ कार्तिक २०८०, शुक्रबार २१:३५