विदेशी मुद्राको सञ्चिति १६ खर्ब ४३ अर्ब पुग्यो, एक वर्षको आयात धान्न सक्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

विदेशी मुद्राको सञ्चिति १६ खर्ब ४३ अर्ब पुग्यो, एक वर्षको आयात धान्न सक्ने



काठमाडौं । चालु आर्थिक वर्षको असोज मसान्तसम्म विदेशी मुद्राको सञ्चिति बढेर १६ खर्ब ४३ अर्ब ९ करोड पुगेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार चालु आवको असोज मसान्तम्म ६.७ प्रतिशतले विदेशी मुद्रा सञ्चितिमा वृद्धि भएको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार गत आवको असार मसान्तसम्म नेपालमा विदेशी मुद्राको सञ्चिति १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर मात्रै रहेको थियो । अमेरिकी डलरमा विदेशी मुद्राको सो सञ्चिति ११ अर्ब ७१ करोड रहेकोमा २०८० असोज मसान्तमा ५.३ प्रतिशतले वृद्धि भई १२ अर्ब ३३ करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८० असार मसान्तमा १३४५ अर्ब ७८ करोड रहेकोमा २०८० असोज मसान्तमा ६.५ प्रतिशतले वृद्धि भई १४३३ अर्ब ३६ करोड पुगेका छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा १९३ अर्ब ५९ करोड रहेकोमा २०८० असोज मसान्तमा ८.३ प्रतिशतले वृद्धि भई २०९ अर्ब ७३ करोड कायम भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

आर्थिक वर्ष २०८०/८१ को तीन महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १२.४ महिनाको वस्तु आयात र १०.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । २०८० असोज मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३०.५ प्रतिशत, ८५.७ प्रतिशत र २६.० प्रतिशत रहेका छन् । २०८० असार मसान्तमा यी अनुपातहरु क्रमशः २८.६ प्रतिशत, ८३.० प्रतिशत र २५.१ प्रतिशत रहेका थिए ।

प्रकाशित : २४ कार्तिक २०८०, शुक्रबार १४:३०