वैदेशिक रोजगार बीमामार्फत तीन महिनामा उठ्यो साढे ६८ करोड बीमाशुल्क, सन नेपाल लाइफ बन्यो पहिलो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

वैदेशिक रोजगार बीमामार्फत तीन महिनामा उठ्यो साढे ६८ करोड बीमाशुल्क, सन नेपाल लाइफ बन्यो पहिलो



काठमाडौं । जीवन बीमा कम्पनीहरुले वैदेशिक रोजगार बीमामार्फत ६८ करोड ५७ लाख ८३ हजार रुपैयाँ बीमा शुल्क उठाएका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार १० वटा जीवन बीमा कम्पनीले १५ लाख ९८३ वटा बीमालेख बिक्री गरी सो बराबरको बीमाशुल्क उठाएका हुन् ।

तथ्याङ्क अनुसार असोज महिनामा मात्रै कम्पनीहरूले २३ करोड ७५ लाख ७१ हजार रुपैयाँ बीमा शुल्क वैदेशिक रोजगार बीमा मार्फत नै उठाएका छन् । असोजमा कम्पनीहरूले कुल ५७ हजार ३७८ वटा बीमालेख बिक्री गरी सो बराबरको बीमा शुल्क उठाएका हुन् ।

समीक्षा अवधिमा वैदेशिक रोजगार बीमाको दायित्व (बीमाङ्क रकम) ५७ अर्ब ३७ करोड ६० रुपैयाँ पुगेको छ । साथै, यस अवधिमा सबैभन्दा धेरै सन नेपाल लाइफले वैदेशिक रोजगार बीमालेख बिक्री गरेको छ । कम्पनीले यस्तो बीमा मार्फत तीन महिनामा १६ करोड ७ लाख रुपैयाँ प्रिमियम सङ्कलन गरेको हो । हाल कम्पनीसँग वैदेशिक रोजगारीमा गएका नेपाली कामदारको ७ लाख ३३ हजार ८३४ वटा बीमालेख सक्रिय देखिएको छ ।

दोस्रो नेपाल लाइफले पनि वैदेशिक रोजगार बीमा मार्फत तीन महिनामा कुल १४ करोड ९२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले कुल २ लाख ८२ हजार ९०३ वटा बीमालेख बिक्री गरेको हो ।

त्यस्तै, आइएमई लाइफले पनि वैदेशिक बीमा मार्फत ९ करोड ८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । कम्पनीको यस्तो बीमा अन्तर्गत ७ हजार ३६० वटा बीमालेख सक्रिय देखिएको छ ।

यस्तै, नेशनल लाइफले वैदेशिक रोजगार बीमा मार्फत तीन महिनामा ५ करोड ४७ लाख, सूर्यज्योति लाइफले ५ करोड ४४ लाख, रिलायवल नेपालले ५ करोड ७ लाख, सानिमा रिलायन्सले ४ करोड ५० लाख, एशियन लाइफले ४ करोड ४६ लाख, सिटिजनले ३ करोड ४३ लाख र प्रभु महालक्ष्मीले ९ लाख रुपैयाँ बीमा शुल्क सङ्कलन गरेका छन् ।

प्रकाशित : २१ कार्तिक २०८०, मंगलवार १६:२२