सहारा नेपाल साकोसको २७ औं साधारण सभा सम्पन्न « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सहारा नेपाल साकोसको २७ औं साधारण सभा सम्पन्न



झापा । झापाको बिर्तामोड–२मा मुख्य कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको २७ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष हरिबहादुर राजवंशीको अध्यक्षतामा बिर्तामोडमा सम्पन्न बार्षिक साधारणसभाको अन्तिम माइन्युट प्रमाणित सभामा संस्थाका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले बार्षिक प्रतिवेदन तथा भावी कार्यक्रम प्रस्तुत गरेका थिए ।

संस्थाले गरीब तथा विपन्न सदस्यका छोराछोरीलाई उच्च शिक्षा अध्ययनमा सहयोग पुर्याउन ५ करोडको सहारा शैक्षिक छात्रबृत्ति कोष स्थापनाको घोषणा गरेको हो । कोष यसै बर्षदेखि एक करोड रुपैयाँबाट शुरु गरिने जनाइएको छ । संस्थाले सदस्य तथा सदस्यको परिवारमा बिरामी परी लामो समयसम्म अस्पताल मै राखी उपचार गराउनुपर्ने दीर्घरोगी तथा ज्येष्ठ सदस्यहरुको लागि सम्पूर्ण उपकरणहरुसहितको ‘मिनी अस्पताल’ घरमै बनाइ नियमित स्वास्थ्य प्राविधिकले हेरचाह गर्ने योजनालाई पूर्णताका साथ अघि बढाउने जनाए ।

संस्थाले नेपाल भरिबाट एकसय वटा राम्रा सहकारीको सञ्जाल निर्माण गरी एकरुपता, अनुभव आदानप्रदान, प्राविधिक सहयोग, एडभोकेसी र लविङ समेत गर्ने योजना बनाएको जनाए । संस्थाले साना व्यवसायी सदस्यहरुको व्यवसाय प्रभावित भएको अवस्थामा ‘व्यवसाय पुनरोत्थान कोष’ स्थापना गरी कोषमार्फत सहयोग पुर्याउने सभामा जानकारी दिए । संस्थाको समन्वयमा प्राकृतिक विपद्को अवस्थामा उद्धार सामग्री, राहत प्याकेज, व्यवस्थापन गर्न कनकाई नगरपालिकामा ‘इमरजेन्सी रेस्पोन्स सेन्टर’ को स्थापना गर्ने घोषणा गरेको छ । शेयर सदस्यलाई उद्यमशीलता, सिप, ऋण र प्राविधिक सहयोग उपलब्ध गराउँदै स्वरोजगार बनाए वापत स्वावलम्बन विकास केन्द्र काठमाडौंले संस्थालाई ‘राष्ट्रिय उद्यमशीलता पुरस्कार’ बाट पुरस्कृत गरेको जनाए ।

सभामा कार्यकारी प्रमुख गिरीले ०८० असार मसान्तसम्म संस्थामा १ लाख ५७ हजार ६०६ जना शेयर सदस्य रहेको जानकारी गराए । त्यसैगरी संस्थाको शेयर पुँजी १ अर्ब ६३ करोड १४ लाख, जगेडा कोष १ अर्ब २३ करोड पुगेको छ जनाइएको छ । यस्तै संस्थाको अन्य कोष ३७ करोड ९६ लाख र बचत १० अर्ब ९५ करोड ४९ लाख तथा लगानीमा रहेको ऋण ११ अर्ब २० करोड ५५ लाख पुगेको जनाइएको छ ।

संस्थामा ५० करोड ७५ लाख सम्पति रहेको छ भने १५ अर्ब ४८ करोड २९ लाखको वासलात पुगेको सभामा जानकारी दिइयो । बाह्य ऋणलाई शून्य बनाएको संस्थाले ०८० असार मसान्तसम्म ३९ करोड ८६ लाख खुद मुनाफा आर्जन गरेको जनाइएको छ । संस्थाले ट्याब्लेट बैंकिङ, मोवाइल बैंकिङ एप, क्यूआर कोड र एटीएम सेवालाई प्रभावकारी रुपमा अगाडि बढाउने जनाइएको छ । यस बर्ष क्यास डिपोजिट मेसिन थप गर्ने र पीओएस मेसिनको सेवा शुरु गर्ने पनि सभामा जानकारी दिइयो ।

संस्थाले १०६ स्थानमा इकाइ भेला गरेको थियो भने शनिबार अन्तिम सभा गरेको थियो । सभाको प्रमुख अतिथि प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले उद्घाटन गरेका थिए । कार्यक्रममा यस बर्षको राष्ट्रिय व्यक्तित्व सम्मान पुरस्कार सहकारी विज्ञ कैलाशभक्त प्रधानाङ्गलाई प्रदान गरिएको छ । पुरस्कारको राशि एक लाख एक हजार रुपैयाँ रहेको छ । त्यस्तै यस बर्षको सहारा सहकारी पत्रकारिता पुरस्कार एभिन्यूज टीभीका झापा संवाददाता सन्तोष न्यौपानेलाई नगद २५ हजारसहित सम्मान गरेको छ ।

प्रकाशित : २१ कार्तिक २०८०, मंगलवार १५:१४