डिप्रोक्स लघुवित्तकाे भूकम्प पीडितका लागि राहत प्याकेज घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

डिप्रोक्स लघुवित्तकाे भूकम्प पीडितका लागि राहत प्याकेज घोषणा



काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले भूकम्प पीडितका लागि राहत प्याकेज घोषणा गरेको छ ।

कम्पनीले जाजरकोट तथा रुकुम पश्चिममा आफ्ना शाखा कार्यालयमा आवद्ध सदस्यहरुको मानवीय तथा भौतिक क्षति भएको भन्दै मानवीय सहायता स्वरुप सम्बन्धित् शाखा कार्यालयहरुबाट आफ्ना सदस्यहरु र तिनका परिवारलाई विभिन्न खाले राहत उपलब्ध गराउने निर्णय गरेको उल्लेख गरेको छ ।

कम्पनीले भूकम्पबाट ज्यान गुमाएका सदस्यको हकमा मृतकको परिवारलाई २५ हजार तथा परिवारको अन्य सदस्यहरुको ज्यान गुमाएका सदस्यको परिवारलाई २० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।

यसैगरी,कम्पनीले सदस्य तथा निजका परिवार घाइते भएमा प्रतिघाईते १० हजार रुपैयाँ,सदस्यको बस्ने घर पूर्ण रुपमा क्षति भएमा ५ हजार रुपैयाँ र व्यवसाय र आंशिक रुपमा घर क्षति भएमा २ हजार ५०० रुपैयाँ उपलब्ध गराउने पनि कम्पनीले निर्णय गरेको छ ।

कम्पनीले गत शुक्रबार राती कर्णाली प्रदेशको जाजरकोट जिल्लामा केन्द्रविन्दु बनाई जाजरकोट र पश्चिम रुकुम जिल्ला प्रभावित हुनेगरी गएको ६।४ म्याग्निच्युटको भूकम्पले कर्णाली प्रदेशमा गम्भिर असर परेको भन्दै भूकम्पले जाजरकोट जिल्लाको खलङ्गा र मिल बजार शाखा कार्यालय अन्तर्गतका सदस्यहरु र पश्चिम रुकुम जिल्लाका सिमबजार शाखाका सदस्यहरु सहित आसपासका अन्य क्षेत्रमा समेत प्रभावित भएको बताएको छ।

शाखा कार्यालयहरुको प्रारम्भिक प्रतिवेदन अनुसार खलंङ्गा जाजरकोटमा यस संस्थामा आवद्ध ५ जना सदस्य र ८ जना सदस्यको छोराछोरी समेत १३ जनाको मृत्यु भएको साथै २४ जना घाइते भएको र १५४ वटा घर पूर्ण रुपमा क्षति भएको छ भने ५०० वटा घर सामान्य क्षति भएको कम्पनीले उल्लेख गरेको छ ।

शाखा कार्यालय मिलबजार जाजरकोटमा एक जना सदस्यको मृत्यु र १ जना सदस्यको परिवारको मृत्यु भएको साथै ६० घर पूर्ण रुपमा क्षति भएको र २०० घर आंशिक क्षति भएको कम्पनीले बताएको छ ।

प्रकाशित : २० कार्तिक २०८०, सोमबार १३:३०