१६औँ योजनाका लागि देश दौडाहामा योजना आयोग, सदस्यहरुको नेतृत्वमा छुट्टाछुट्टै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

१६औँ योजनाका लागि देश दौडाहामा योजना आयोग, सदस्यहरुको नेतृत्वमा छुट्टाछुट्टै



काठमाडौं । राष्ट्रिय योजना आयोगले १६औँ योजनाका लागि प्रदेशगत रुपमा छलफल गर्न सुरु गरेका छ। सातै प्रदेशमा जाने योजना अनुरुप योजना आयोगले छुट्टाछुट्टै टोली बनाएर छलफलका लागि पठाएको हो।

आयोगले आज सोमबार मधेश प्रदेशसहितका ठाउँहरुमा छलफल गर्दैछ। मधेश प्रदेशको जनकपुरमा भइरहेको छलफलमा मधेश प्रदेश सरकारका मूख्यमन्त्रीसहित स्थानीय तह र निजी क्षेत्रका प्रतिनिधिहरु समेत सहभागी छन्।

आयोगका प्रवक्ता यमलाल भुसालका अनुसार १६औँ योजनाको मस्यौदाका बारेमा सबै प्रदेशमा आयोगका सदस्यको नेतृत्वमा टोली परिचालन गरिएको छ। कर्णाली प्रदेशमा भने प्राकृतिक विपित्तिका कारण तत्काललाई स्थगित गरिएको छ। बाँकी सबै प्रदेशमा आयोगको टोली खटाइएको छ।

कसको नेतृत्वमा कुन प्रदेश ?

आयोगका प्रवक्ता सहसचिव भुसालका अनुसार कात्तिक २० गते आज र भोलि २१ गते बागमती प्रदेशको हेटौडा, मधेश प्रदेशको जनकपुर र सुदुरपश्चिम प्रदेशको धनगढीमा छलफल कार्यक्रम राखिएको छ। यसका लागि आयोगका सदस्यहरु डा.प्रभु बुढाथोकी, डा. जयकान्त राउत, डा. रामकुमार फुयाँल र डा. अनिता शाह ढुंगानाको नेतृत्वमा छुट्टछुट्टै टोली परिचालन गरिएको छ।

यस्तै कात्तिक २३ र २४ गते कोशी प्रदेशको विराटनगर र लुम्बिनी प्रदेशको बुटवलमा छलफल कार्यक्रम राखिएको प्रवक्ता भुसालले जानकारी दिए। उनका अनुसार यि दुई प्रदेशका लागि आयोग सदस्य डा. आरपी विच्छा र डा. रमेशचन्द्र पौडेलको नेतृत्वमा टोली परिचालन गरिएको छ। कर्णाली प्रदेशमा भने भूकम्पका कारण टोली रोकिएको उनले जानकारी दिए।

प्रदेश सरकार, स्थानीय सरकार र निजी क्षेत्रहरुको समेत सुझाव संकलन गरेर १६औँ पञ्चवर्षीय योजना तयार पार्ने आयोगले जनाएको छ।

प्रकाशित : २० कार्तिक २०८०, सोमबार १२:२१