राष्ट्र बैंकले ताेक्याे तिहारका लागि सुनका असर्फी र चाँदीका सिक्काकाे मुल्य, कहाँ पाइन्छ किन्न ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

राष्ट्र बैंकले ताेक्याे तिहारका लागि सुनका असर्फी र चाँदीका सिक्काकाे मुल्य, कहाँ पाइन्छ किन्न ?



काठमाडौं । नेपाल राष्ट्र बैंकले तिहारका लागि लक्षित गर्दै बिक्री गर्न लागेको सुनका असर्फी र चाँदीका सिक्काको बिक्री मूल्य निर्धारण गरेको छ। केन्द्रीय बैंकको मुद्रा व्यवस्थापन विभागअन्तर्गत टक्सार महाशाखाले शुक्रबार एक सूचना जारी गर्दै यसबारे जानकारी गराएको हो।

महाशाखाले आउँदो कात्तिक १९ गतेदेखि २४ गतेसम्म सुनका असर्फी र चाँदीको सिक्का बिक्री खुला गर्दैछ। महाशाखाका अनुसार प्रतिव्यक्ति बढीमा सुनका असर्फी १ सेट (१० ग्राम, ५ ग्राम, २.५ ग्राम) र चाँदीका सिक्का (मेडालियन) १ सेट (गाईअंकित २५ ग्राम, गाईअंकित १० ग्राम, लक्ष्मीअंकित १० ग्राम, गणेशअंकित १० ग्राम, गजलक्ष्मी अंकित १० ग्राम) बिक्रीको प्रबन्ध मिलाइएको छ। ती असर्फी र सिक्का खरिद गर्दा नगद वा क्यूआरमार्फत भुक्तानी गर्न सकिनेछ।

तिहारमा सुनको असर्फी र चाँदीका मेडालियन सिक्का अभाव नहुने गरी मौज्दात रहेको महाशाखाले जनाएको छ। त्यस अवधिसम्म हरेक दिन बिहान ११ बजेदेखि ३ बजेसम्म बिक्री गर्ने तयारी भइरहेको राष्ट्र बैंकले जनाएको छ।

सुनका असर्फी र चाँदीका सिक्का टक्सार महाशाखा तथा राष्ट्र बैंकको प्रदेशस्थित कार्यालयहरुबाट खरिद गर्न सकिन्छ। सुन तथा चाँदीको यस्ता सिक्का सर्वसाधारणले लक्ष्मी पूजाको दिनमा घरमा पूजा गर्ने चलन छ।

प्रकाशित : १७ कार्तिक २०८०, शुक्रबार १५:२३